Ad Area

‘भोट हाल्ने मतदाताको अधिकार’


दाङ, ३० कार्तिक । निर्वाचनको अवधिमा आचारसंहिता पालनाको अवस्था निर्वाचन सुरक्षाको अवस्थाका बारेमा छलफल गरिएको छ । छलफलमा राष्ट्रिय मानवअधिकार आयोग सदस्य मनोज दुवाडले निर्वाचन गराउनु मात्रै नभइ सबै मतदाताले मतदान गर्न पाउनुपर्ने बताए । आफूले भोट हाल्दैन भनेर भन्न पाउने तर अरुलाई भोट हाल्नबाट रोक्न नपाउने उनले बताए । मतदान स्थल मतदाता सहज रूपमा पुग्नसक्ने हुनुपर्ने उनले बताए ।

निर्वाचनसम्बन्धी कानुन परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । लक्ष्य समृद्ध नेपाल बनाउने भने पनि कार्यशैली पुरानै रहेको बताए । अहिलेको अवस्था सम्बोधन गर्न मुख्य गरी राजनीतिक दलले जिम्मेवारी लिनुपर्ने उनले बताए । नीति निर्माण तहमा राजनीतिक दलको भूमिका हुने हुँदा यस विषयमा गम्भीर बन्नुपर्ने बताए । थारु आयोग सदस्य सुवोधसिंह थारूले कोइलाबासमा मतदान स्थल टाढा भएका नागरिकबाट गुनासो आएको बताए । मतदातालाई सहज हुने गरी मतदान स्थल बनाउनु पर्ने उनले बताए । निर्वाचन बिथोल्ने कुरामा हरेक पक्षबाट हुनसक्ने अवस्था रहने भएकाले यसबारे सजग बन्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले निर्वाचन गराउने मात्र नभइ निर्वाचनको समग्र प्रक्रिया र यसका आयामबारे आयोगले सोच्नुपर्ने बताए । राजनीतिक दल, नागरिक समाज, सुरक्षा अङ्गबाट निर्वाचनको प्रक्रियामा अहिले पनि धेरै कुराका अभाव देखिएको उनको भनाइ थियो । मतदान केन्द्रसम्म मतदाताको अधिक्तम उपस्थिति बढाउन ध्यान दिनुपर्ने उनले बताए । ‘निर्वाचन कुनै दलको जित–हार मात्रै होइन यो दलीय व्यवस्थाका दिगो व्यवस्थापनका आधार पनि हो’, उनले भने । खुला ठाउँबाट गरिने विचार प्रवाहलाई रोक्ने तर बन्द कोठामा गरिने गतिविधिलाई प्रोत्साहित गर्ने काम मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा रहेको उनले बताए ।

मतदानमा भाग लिने नागरिकको घरदेखि मतदान स्थल र मतदान स्थलदेखि घरसम्मको सबै सुरक्षाको ग्यारेन्टी कसले लिने भन्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए । प्रेस काउन्सिल सदस्य शरद अधिकारी निर्वाचनको प्रक्रियामा पुनःर्विचार गर्नुपर्ने बेला आएको बताए । कागजी प्रक्रियाबाट डिजिटल बनाउन जरुरी रहेको उनले बताए । मतदान केन्द्रमा हुनुपर्ने आधारभूत सुविधाका बारेमा संवेदनशील हुनुपर्ने बताए ।

मानवअधिकार सञ्जाल संयोजक केशवकुमार शर्माले चारवटा मतपत्र भएको हुँदा मतदान गर्न समय लाग्ने अवस्था देखिन्छ छोटो दिनमा मतदातालाई लामो समयसम्म कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको बताए । अशक्त, असहाय, अपाङ्गता, ज्येष्ठ नागरिकलाई मतदान गर्ने सहज वातावरण बनाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो ।

नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्तले विगतभन्दा सुधारको अवस्था बन्दै गएको बताए । निर्वाचनकै कारण हुने विभिन्न प्रकारका घटना तथा सुरक्षामा सुधारका संकेत देखापर्दै गएको उनको भनाइ रहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, पत्रकार छवि पुरी, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरी, एचबी थापालगायतले विचार राखेका थिए । कार्यक्रमको सहजीकरण आयोगका सदस्य रमेश थापाले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad