Ad Area

भयरहित वातावरणमा निर्वाचन गराउन अपील


दाङ,३० कार्तिक । नागरिक समाज दाङले मंसिर ४ गतेको हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गराउन सम्बन्धित सबै पक्षलाई अपील गरेको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको मतदान अवधिमा आम मतदाताले सहज रूपमा मतदान गर्न पाउने अधिकारलाई व्यवस्थापन गर्दै मतदानको सुरक्षाको प्रत्याभूति दिलाउन अपील गरेको छ । समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र रूपमा मतदाताले मतदान गर्न पाउनुपर्ने व्यवस्थालाई कोही कसैले प्रभावित पार्ने काम नगर्न, निर्वाचनमा खटिइजाने कर्मचारी, सुरक्षाकर्मी, अनुगमन कार्यमा खटिएका जिम्मेवार निकाय, उम्मेदवार, मतदाता सबैले आ–आफ्नो मर्यादा र जिम्मेवारीलाई ख्याल गर्दै निर्वाचन सम्पन्न गराउन पनि अपील गरेका हुन् ।

मतदानको समयमा नामावली रुजुदेखि मतदाताले मतदान गर्ने अवस्थासम्मको र अशक्त, असहाय तथा ज्येष्ठ नागरिकको सहज पहुँच हुने गरी मतदानको व्यवस्था मिलाउन ध्यानाकर्षण समेत गराएका छन् । ‘डर, धाकधम्की, आग्रह, पूर्वाग्रहलगायत मतदातालाई प्रभावित पार्ने कुनै पनि खालको गतिविधि नगर्न नगराउन सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौँ’, नागरिक समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Blog Post Ad Blog Post Ad