Ad Area

आम निर्वाचन–२०७९, धमाधम मतदान बुथ निर्माण


दाङ, ३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका १ सय ५३ मतदान स्थलमा रहेका ४ सय ६५ वटै मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले मतदानस्थल व्यवस्थापनमा जुटेका छन् । मंसिर ४ गते हुने मतदानका लागि कर्मचारी तथा सुरक्षाकर्मी तयारीमा जुटेका हुन् ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष रूपमा बनाउनका लागि स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेर मतदान केन्द्र व्यवस्थापनको काम भइरहेको छ । मतदान स्थलमा सरसफाईदेखि डोरी तानेर मतदानका लागि बुथ केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

मुख्य निर्वाचन अधिकृत कार्कीकाअनुसार मतदान केन्द्र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र शनिवारसम्म सबै ठाउँमा व्यवस्थापनको काम सम्पन्न हुने बताए छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ’, मुख्य निर्वाचन अधिकृत कार्कीले भने ‘शनिवारसम्म सबै मतदान केन्द्रहरूमा तयारी पूरा हुनेछ । त्यही अनुसार तयारीको काम भइरहेको छ ।’

दाङमा मंसिर ४ गते हुने निर्वाचनका राजनीति दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उनीहरूमध्ये ३ जना प्रतिनिधिसभा र ६ जना प्रदेशसभा सदस्यका लागि निर्वाचित हुने भएका छन् । निर्वाचनमा ३ हजार ७ सय बढी कर्मचारी तथा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जसमा नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् । जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका रेग्मीले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन भएको बताएका छन् । यस पटक जिल्लामा ४ सय ६५ वटा मतदान केन्द्रमध्ये ४ वटा केन्द्रहरूमा कर्मचारीदेखि सुरक्षा कर्मचारी सबै महिला परिचालन गरिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad