Ad Area

महिलाले धानेका मतदान केन्द्र


दाङ, ३ मंसिर । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको निर्वाचनका लागि दाङको चार मतदानस्थलमा महिलाहरूले नेतृत्व लिएका छन् । ती केन्द्रमा मतदान अधिकृत, साहयक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र अधिकांश सुरक्षाकर्मी सबै महिला नै छन् । मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्रैलाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घोराही–१८ को आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क)मा महिला कर्मचारी मात्रै छन् । त्यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै रहेको निर्वाचन अधिकृत इन्दु बसेलले बताइन् । उनलाई सहयोग गर्न सिर्जना शर्मा, हेमन्ता थापा, बिना शर्मा, सावित्रादेवी शर्मा, दीपसना बिसी, बालिका घिमिरे र गोमा मगर छन् । सो मतदान केन्द्रमा नौ सय ५२ मतदाता छन् ।
त्यही विद्यालयको (ख)केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत छिन् । उनलाई सहयोग गर्न कमला खड्का, अर्चना चौधरी, इन्दिरा विक, हिरा केसी, गोमा योगी, तिला विक र गीता चौधरी गरी आठ जना महिला कर्मचारी छन् । सो मतदान केन्द्रमा नौ सय ७३ मतदाता छन् ।

घोराही–१७ मा रहेको प्रवि हरिद्वारको (ग) मतदान केन्द्रमा खिमा भुसाल मतदान अधिकृत छिन् । उनलाई सघाउन बसन्ती पौडेल, विपना बर्तौला, सम्झना कार्की परियार, कृतिसा रावत, श्रिर्जना भण्डारी, दिला केसी र सुमन चौधरी गरी आठ जना महिला कर्मचारी छन् । सो मतदान केन्द्रमा सात सय ४८ मतदाता छन् । गोरक्ष रत्ननाथ मावि चौघेराको (क) मतादान केन्द्रमा मोतीकुमारी विश्वकर्मा मतदान अधिकृत छिन् । उनलाई सघाउन गुप्ताकुमारी अधिकारी, विष्णा नेपाली, अनिता बुढा, सरिता भण्डारी, मनिषा चौधरी, गोमा बस्नेत र पानमती कामी छन् । सो केन्द्रमा ८ सय १२ जना मतदाता छन् ।

दाङ जिल्लाको मुख्य मतदान अधिकृत कृपासुर कार्कीले महिलाहरू हरेक काममा सक्षम छन् भन्ने सन्देश दिने र यसप्रकारको प्रयासले समाजमा सकारात्मक सन्देश जाने बताए । ‘महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान स्थलले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ ’ उनले भने ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन महिला मात्रैले धाकेको मतदान केन्द्र घोराही–१६ सानी अम्बापुर केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्म महिलाले चलाएकाले सोही अभ्यासलाई निरन्तरता दिएको गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रका मतदान अधिकृत मोती विश्वकर्माले बताइन । स्थानीय तहको अनुभव यो निर्वाचनमा सदुपयोग गर्ने छौँ, उनले भनिन । दाङमा एक सय ५३ मतदान स्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad