बहकिने मनका प्रस्तोता महाबीर विश्वकर्माको निधन
दाङ, ६ मंसिर ।
रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । प्रहरीका अनुसार आज मंगलवार बिहान चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकसँग बा४ख ४१२ नम्बरको माइक्रो ठोक्किँदा उनको निधन भएको हो ।
भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वकर्माको रेडियो कार्यक्रम ‘बहकिने मन’ स्रोतामाझ निकै चर्चित छ ।
माइक्रोकोमा सवार चालकसहित ५ जना घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनामा चितवन राप्ती–५ का २१ वर्षीय आयुष तामाङ, सोही स्थानका हाइस चालक २६ वर्षीय शंकर चौधरी, २६ वर्षीय उज्ज्वल मैनाली, ४६ वर्षीय जवारीलाल बिक र धादिङको रोराङ गाउँपालिका–५ का २१ वर्षीय कुशल बिसुराल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।