Ad Area

सुनिता ट्रष्टद्वारा ४५ बालबालिकालाई छात्रवृत्ति वितरण


घोराही, १४ मंसीर । सुनिता ट्रष्ट फाउण्डेशनको तेश्रो वार्षिक स्थापना दिवस तथा छात्रवृत्ति वितरण गरिएको छ । फाउण्डेशनकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहकार सोगतबीर चौधरीको प्रमुख आतिथ्यमा मंगलबार एक कार्यक्रम गरी स्थापना दिवस तथा छात्रवृत्ति वितरण गरिएको हो । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवद्धित सुनिता ट्रष्ट फाउण्डेशनले गरिव, विपन्न तथा अभिभावक गुमाएका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा योगदान गर्दै आएको छ ।

सो अवसरमा घोराहीमा रहेका चार विद्यालयका ४५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । प्रावि स्यानी अम्बापुर, सरस्वती मावि काठेकोल, मावि रझेना र रात्री प्रावि पलासेमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको संस्थाले जनाएको छ ।

यसअघि पनि ट्रष्टले विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो । बालबालिकाको मनोविज्ञान सकारात्मक बनाउने काममा यस प्रकारको अभियानले सहयोग पुग्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनुभएको छ ।

बालबालिकाको मनोविज्ञानमा सकारात्मक विचारको कमीले गलत बाटोमा फस्ने हुँदा सत्मार्गमा हिड्न असल आचरण, अनुशासित भएर अघि बढ्न सुझाव दिँदै संस्थाले गरेको सहयोगले बालबालिकाहरुको भविष्य अघि बढाउन ठूलो टेवा मिल्ने बताउनुुभयो ।

Blog Post Ad

सो अवसरमा, ग्रामीण महिला उत्थान केन्द्रका नेवबहादुर चौधरी, एचबी थापा, फाउण्डेशनकी आजीवन सदस्य रजनी श्रेष्ठ, प्रावि स्यानी अम्बापुरका शिक्षक तुलसा रावत, रात्री प्रावि पलासेका शिक्षक कमला पौडेल, मावि रझेनाका शिक्षक मदन खनाल, सरस्वती मावि काठेकोलकी प्रधानाध्यापक बसन्ता पौडेल, सरस्वती मावि काठेकोलमा कक्षा १० मा अध्ययनरत बिपना नेपाली, सोही विद्यालय कक्षा ९ मा अध्ययनरत सुशील खड्का, ३ जिरो क्लव घोराही ४ सुनपुरका अध्यक्ष बाबुराम चौधरी, मुक्त कमैया टोलका बेचन चौधरीलगायतले बोल्नुुभएको थियो ।

उनीहरुले शिक्षा, जागरण र हौसला प्रदान गर्दै आएको संस्थाले छोटो समयमा धेरैको विश्वास आर्जन गर्न सफल भएको बताउनुुभयो । सुनिता ट्रष्ट फाउण्डेशनले विपन्न तथा आमाबुवा गुमाइएका बालबालिकाहरुको शैक्षिक कृयाकलापमा सहयोग गर्नुका साथै किशोरीहरुलाई प्रजनन स्वास्थ्यका बारेमा सेचतना फैलाउनेदेखि सेनिटरी प्याड वितरण गर्दै आएको छ ।

पछिल्लो समय युवाहरुका क्षेत्रमा पनि काम गर्न थालेको हुँदा उनीहरुलाई उद्यमशीलताका बारेमा सचेतना दान गर्ने काम गरिरहेको संस्थाकी सहजकर्ता कमला शर्माले बताउनुुभयो । उहाँका अनुसार, संस्थाले शून्य गरिबी, शून्य बेरोजगारी र शुन्य कार्बनका मुद्दा उठान गर्दै आएको छ । कार्यक्रमको सहजीकरण संस्थाकी पार्वती बस्नेतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad