Ad Area

विद्यालय सुधारमा समुदायको चासो


 दाङ, १७ मंसिर । सामुदायिक विद्यालयको सुधारको लागि समुदायका अगुवाहरूले चासो दिनथालेका छन् ।
सहरमै रहेर पनि भौतिक तथा शैक्षिक रूपमा पछि परेको विद्यालयको सुधारका लागि समुदाय नै अग्रसर भएका हुन् । घोराही उपमहानगरपालिका वडा नं १८ को आधारभूत विद्यालय गिठेपानीमा भौतिक तथा शैक्षिक सुधारका लागि सरोकारवाल अगाडि बढेका छन् । विद्यालयको सुधारका लागि सरोकारवालासँग छलफल समेत गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख, घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक, अभिभावकहरूको सहभागितामा छलफल समेत गरिएको हो । विद्यालयको सुधार गर्न सबैको सहयोग आवश्यक रहेकाले यस प्रकारको छलफल आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले बताए । ‘सबैको सहयोगबिना विद्यालयको सुधार हुन सक्दैन’, उनले भने ।
माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन तथा सञ्चालन स्थानीय सरकारलाई भए पनि त्यसअनुसार काम गर्न नसकेको शिक्षाका सरोकारवाला बताउँछन् । धेरैपटक विद्यालय सुधारका लागि विभिन्न निकायमा माग गरिए पनि सहयोग नभएपछि अहिले विद्यालयले चन्दा उठाइरहेको उनले बताए । कतैबाट पनि सहयोग नपाएपछि सबै सरोकारवालासँग छलफल गरेर चन्दा संकलन अभियान सुरु गरिएको उनले बताए । ‘विद्यालयमा अभावै–अभाव रहेकाले हामी बाध्य भएर यस प्रकारको अभियान सुरु गरेका हौँ’, उनले भने ‘चन्दाको लागि घर–घरमा पुग्ने गरेका छौँ ।’ विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय समाजसेवी तथा शिक्षाप्रेमीसमेत घरदैलोमा पुग्ने सहयोग गर्दै आएको उनले बताए ।
स्थानीयबासीले आप्mनो इच्छाअनुसार सहयोग गर्ने गरेको अध्यक्ष वली बताउँछन् । ‘घर–घरमा पुग्दा सबैको सकारात्मक सहयोग पाएका छौँ’, अध्यक्ष वलीले भने । विद्यालयमा कक्षा कोठा, कक्षा कोठामा बेन्च, डेस्क, बोर्ड, पुस्तकालय, शौचालयलगायतका सामग्री समेत अभाव रहेको उनले बताए । यसरी अभाव हुँदा विद्यालयको पठनपाठन गर्न समेत समस्या हुने गरेको उनी बताउँछन् । हालसम्म विद्यालयले थालेको चन्दा अभियानमा करिब साढे ४ लाख रूपैयाँ संकलन गरिएको छ ।
घरदैलो अभियानलाई निरन्तरता दिइने अध्यक्ष वलीले बताए । तिहारका कारण केही समय रोकिएको अभियान फेरि सुरु गरिने अध्यक्ष वलीले बताए । ‘गाउँको सबै घरमा पुगिसकेका छैनौँ, सबै घरसम्म पुगिनेछ’, उनले भने । सबैको सहयोगमा नै विद्यालयको भौतिक तथा शैक्षिक सुधार गरिने उनको भनाइ छ । ‘हामीले भौतिक सुधार मात्र नभइ शिक्षाको गुणस्तरमा पनि सुधार ल्याउने छौँ’, अध्यक्ष वलीले भने । शिक्षा निजी क्षेत्रको भन्दा कुनै कमी हुन नदिने गरी आफूहरू सुधारको अभियानमा लागेको उनको भनाइ रहेको छ । ‘विद्यालयलाई नमुना विद्यालयको रूपमा अगाडि बढाउने योजना छ’, उनले भने । विद्यालय सुधार भएमा यस क्षेत्रका बालबालिकालाई अध्ययन गर्न समेत सहज हुनेछ ।
विद्यालयमा अहिले दुई सय जना बालबालिकाले अध्ययन गर्दै आएको उनले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक यशोदा पोख्रेलले विद्यालयको सुधारको लागि समाजले अपनत्व लिनुपर्ने बताइन् । समाजले अपनत्व लिन नसक्दासम्म विद्यालयको विकास हुन नसक्ने उनको भनाइ रहेको छ । विषयगत शिक्षक नहुँदा समस्या रहेको उनले बताइन् ।
घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता राममणि पाण्डेले विद्यालयमा बालबालिका आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । यसका लागि विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर अगाडि बढ्नुपर्ने उनले बताए । ‘विश्वास गर्ने वातावरण सिर्जना गर्न सकिएमा बालबालिका सामुदायिक विद्यालयमा आउँछन्’, उनले भने । समयानुसार विद्यालयमा शैक्षिक क्रियाकलाप अगाडि बढाउन सक्नु पर्ने उनले बताए । घोराही उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यमा सुधार गर्नका लागि योजना बनाएर अगाडि बढेको समेत उनको भनाइ छ । ‘दुइ वर्षमा स्वास्थ्य र शिक्षामा परिवर्तन भएको पाउनुहुनेछ’, उनले भने ।
यसका लागि आवश्यक पर्ने बजेट समेत विनियोजन भएको पाण्डेले बताए । घोराही उपमहानगर सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले उपमहानगरपालिकाको तर्फबाट विद्यालयको सुधारका लागि कामहरू भइरहेको बताए । विद्यालयहरूमा आधारभूत तहसम्म दरबन्दी फुलफिल गर्न लागिएको बताए । ‘विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयमा भौतिक संरचना तथा शिक्षक दरबन्दी थप हुँदै जानेछन्’, उनले भने । विद्यार्थी नहुने तर भौतिक संरचना मात्र निर्माण गरेर त्यसको अस्तित्व नहुने उनको भनाइ रहेको छ ।
विद्यालयको सुधारका लागि कर्तव्यनिष्ठ भएर लाग्नुपर्ने समेत उनले बताए । कार्यक्रममा बोल्ने वक्ताहरूले शैक्षिक सुधारका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, सबै सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । उनीहरूले विद्यालयमा अभिभावले विश्वास गर्ने वातावरण सिर्जना गर्न शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक रहेको समेत बताएका थिए । विद्यालयमा अनुगमनका लागि संयन्त्र निर्माण गरेर परिचालन गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा सदस्य टीका थापा, त्यस क्षेत्रमा रहेका १२ टोलका समितिका अध्यक्ष मात्रिकाप्रसाद पाण्डे, सतबहादुर रोका, गिरिराज आचार्य, अशोक भुसाल, शक्तिराम रोका, गुरूप्रसाद भण्डारी, बलजित दमाई, मनप्रसाद श्रेष्ठ, बिमला पाण्डे, मनवीर विक, कृष्ण घर्तीलगायतले विचार राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक हिमलाल पाण्डेले गरेका थिए ।
Blog Post Ad Blog Post Ad