Ad Area

निर्वाचन प्रतिवेदन पेस


घोराही, २९ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको छ ।

राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेका हुन् । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो ।

प्रमुख आयुक्त थपलियाका अनुसार देशका सातवटै प्रदेशबाट निर्वाचित सदस्यको विवरण पर्सि पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गरिने छ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ ।

राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशित हुनेछ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको हो ।

नतिजाको पूर्णविवरणसहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रो हप्ता मात्रै सकिएकाले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad