Ad Area

दाङमा १० प्रतिशतमा क्यान्सर, अधिकांशमा प्रजनन् समस्या


घोराही, ३ पुस । दाङमा पाठेघरको मुखको क्यान्सर भयावह बन्दै गएको छ । जिल्लामा गरिएको परिक्षणमा अधिकांश महिलाहरुमा पाठेघरको मुखको क्यान्सर फेला परेको हो । कतिपयमा प्रजनन् स्वास्थ्य समस्या देखा परेको छ । आफ्नो स्वास्थ्यको ख्याल नगर्दा तथा रोग लुकाएर बस्दा यो समस्या बढ्दै गएको छ ।

जिल्लाको घोराहीमा पछिल्लो समय गरिएको परिक्षणमा दश प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर फेला परेको छ भने त्यो भन्दा बढीमा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या देखिा परेको छ । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा हुने समस्याका बारेमा खुलेर भन्न नसक्ने तथा रोग लुकाएर बस्ने गरेकाले पनि यो समस्या विकराल बन्दै गएको घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताउनुुभयो ।

‘समुदाय स्तरमा सचेतना फैलाउने काम हुँदै आएपनि महिलाहरुले आफ्नो स्वास्थ्यका लागि भएपनि जचाउनुपर्छ भन्ने हेक्का नहुँदा अन्तिम अवस्थामा समस्या लिएर आउँछन्,’ उहाँले भन्नुभयो, ‘त्यो बेलामा धेरै ढिलो भईसकेको हुन्छ ।’ बजार क्षेत्रमा बसोबास गर्ने महिलाहरुले प्रजनन स्वास्थ्यको असावधानीका कारण तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा रोग लुकाउने समस्याले यो समस्या थपिएको उहाँले बताउनुभयो । यसका लागि स्थानीय सरकारका तर्फबाट निरन्तर प्रयास भईरहे पनि आफ्नो स्वास्थ्यका बारेमा सबै सचेत नहुँदासम्म समस्या निवारणमा चुनौति रहेको उहाँले बताउनुभयो ।

अबका दिनमा प्रजनन स्वास्थ्यका बारेमा थप अभियान चलाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नम्बर ५ को रज्जे मन्नामेमा शनिबार गरिएको पाठेघरको मुखको क्यान्सर जाँच शिविरमा सबै सहभागीहरुले पहिलो पटक परिक्षण गराएको बताए । यौन तथा प्रजनन स्वास्थ्यका लागि ६–६ महिनामा जाँच गराउनुपर्नेमा लामो समयसम्म पनि पाठेघरको जाँच नगराउँदा यो समस्या बढी मात्रामा पाइएको छ । त्यहाँ १० प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर भेटिएको छ ।

२० जना महिलाको परिक्षण गर्दा २ जनामा पाठेघरको मुखको क्यान्सर देखिएको छ । १ जनामा तेश्रो डिग्री खसेको, ३ जना महिलाको पहिलो डिग्री पाठेघर खसेको (आङ खसेको) तथा अरुमा पनि प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या देखिएको छ । मंसीर गते पनि घोराही १४ स्थित संस्थागत परिवार नियोजन क्लिनिकमा पालिकाले औपचारिक रुपमा पाठेघरको मुखको क्यान्सर जाँच शुरुवात गर्दा १० प्रतिशतमा पाठेघरको मुखको क्यान्सर फेला परेको थियो ।

संस्थागत परिवार नियोजन क्लिनिककी प्रमुख वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राधा पौडेलले पनि अहिलेको अभ्यासले पाठेघरको मुखको क्यान्सर समस्या समाधान सम्भव नभएको बताउनुभयो । समुदायमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा प्रजजन् स्वास्थ्यमा देखा परेको समस्यालाई निकै जोखिमको अवस्थामा पुगेको पाईएकाले अबका दिनमा सबै निकायले गम्भीरताका साथ अभियान चुलाउनुपर्ने र पहिचान भएकाहरुको समयमै उपचार गर्नमा ध्यान दिनुपर्ने बताउनुभयो ।

Blog Post Ad

‘राज्यस्तरबाट स्वास्थ्यका क्षेत्रमा गरिएको लगानी पूर्ण छैन, त्यसैमा नागरिकहरु पनि स्वास्थ्यको सहज पहुँचमा छैनन्, यसले गर्दा पनि धेरै असर गरेको छ,’ उहाँले भन्नुभयो, ‘अब फरक तरिकाले अभियान चलाउनुपर्ने हुन्छ ।’ पाठेघरको मुखको क्यान्सर जाँच सेवा नागरिक स्वस्थ बनाउने अभियान हरेक नागरिक वर्गमा स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न स्थानीय सरकारले अभियान अघि बढाएको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले बताउनुभयो ।

महिलाहरुमा बढ्दो पाठेघर क्यान्सर रोकथाम गर्न र यौन तथा प्रजनन् स्वास्थ्य सेवा हरेक परिवारसम्म पुर्याउन निशुल्क रुपमा सेवा शुरु भएको जानकारी गराउँदै शहर बजार गाउँठाउँ जताततै यो अभियान तीव्र पारेर महिलाको पाठेघर जोगाउँदै स्वस्थ नागरिक बनाउने काम भईरहेको उहाँको भनाई छ । पछिल्लो समय समुदायमा पाठेघर क्यान्सरको जोखिम उच्च हुँदै गएको हुँदा कोहीपनि महिला उपचार अभावमा समस्या झेल्न नपरोस्, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा र सचेतना सहज रुपमा पाउँदै स्वस्थ रुपमा जीवन बाँच्न सकून भन्ने उद्देश्यसहित अभियानको थालनी भएको उपप्रमुख डिसीको भनाई छ ।

‘महिलाहरुको साझा समस्याका रुपमा अस्वाभाविक रुपमा बढ्दै गएको पाठेघर क्यान्सरको समस्या समाधान गर्न यो अभियान चलाएको हो,’ उहाँले भन्नुभयो, ‘अब कोही पनि महिला उपचार अभावमा अकाल क्यान्सर जस्तो घातक रोगको सिकार हुनुपर्ने छैन, डोजर चलाएर मात्रै विकास हुँदैन यसका लागि नागरिकको स्वास्थ्य पनि स्वस्थ हुनपर्छ ।’ पाठेघरको मुखको क्यान्सर यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा जाँचसँगै सचेतना फैलाउने अभियानले प्रजनन स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको हुँदा हरेक महिलाले पाठेघरको सुरक्षाका लागि जचाउनुपर्छ भन्ने मान्यताको विकास हुने उपप्रमुख डिसीले बताउनुभयो ।

रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिने गरी महिलाहरुका देखा परेको ठूलो समस्यालाई पालिकाले निकै गम्भीरताका साथ लिएको हुँदा अभियान चलाएको बताउनुभयो । अहिले पनि समुदायमा असुरक्षित गर्भपतनका कारण पनि पाठेघरको समस्या बढि मात्रामा देखा पर्ने गरेको छ । गाउँमा भने अज्ञानता, रोग लुकाउने परिपाटीले यौन तथा प्रजनन स्वास्थ्यका समस्या बढी देखा पर्ने गरेको छ ।

नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ । क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ । तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको छ । बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले भयावह रूप लिदै गएको चिकित्सकको भनाइ छ ।

क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ । क्यान्सरबाट प्रभावित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । महिलाको पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको देखिएको छ । मुख्यतः महिलामा पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्रा, पेटको क्यान्सर र पुरुषमा फोक्सो, घाँटी, आन्द्राको क्यान्सर हुने गर्छ । क्यान्सर रोकथामका लागि जनचेतनाका कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने चिकित्सक बताउँछन् ।

Blog Post Ad Blog Post Ad