Ad Area

अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा बालबालिकालाई शैक्षिक सामग्री


घोराही, ३ पुस । ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ, वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञान, उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभीमान’ भन्ने नाराका साथ २२ औँ अन्तर्राष्ट्रिय आप्रवासी दिवस दाङमा मनाईएको छ ।

घोराही उपमहानगरपालिका अन्तरगत रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रमले आइतवार एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा समस्यामा परेका व्यक्तिका छोराछोरीहरुलाई शैक्षिक सामग्री तथा न्यायो कपडा वितरण गरेर मनाएको हो ।

कार्यवाहक नगरप्रमुख राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा १४ जना बालबालिकालाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको हो । त्यस अवसरमा कार्यवाहक नगरप्रमुख पाण्डेले बेरोजगारीका कारण श्रम बेच्न बाध्य भएका युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

देशमा बसेर रोजगारी गर्ने वातावरण बनाउन स्थानीय सरकार लागि परेको हुँदा सबै निकायले यसमा सहकार्य गर्नुपर्ने बताए । घोराहीका सामी फोकल पर्सन बासुदेव आचार्यले आप्रवासी श्रमिक र उनीहरुको परिवारलाई सुसूचित बनाउने काममा सामी कार्यक्रमको महत्त्वपूर्ण रहेको बताए । यसमा सामीले पछिल्लो समय वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सीप, सचेतनासँगै विदेशबाट कमाएर पठाएको पैसाको सही उपयोगमा अभिमुखीकरण गर्दै आएको हुँदा कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका हुन ।

आप्रवासी हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष हेमराज बुढाथोकीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सही सुचना प्रदान गर्ने र सचेत बनाउन जरुरी रहेको बताए । यसका लागि हरेक वडामा कम्तिमा एक जना स्वयंसेवक परिचालन गर्न आवश्यक रहेको आवश्यकता औँल्याएका हुन । कार्यक्रमको सहजीकरण सामी कार्यक्रम संयोजक बसन्ता पुनले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad