दाङमा ३ सय २८ जना सिकलसेलका बिरामी
घोराही, १० पुस । दाङको राप्ती गाउँपालिका–६ निवासी राजकुमारी चौधरीलाई सानै उमेरदेखि खुट्टा दुख्ने समस्या थियो । तर सुरुमा सिकलसेल एनिमिया रोग भन्ने थाहा थिएन । उपचारका लागि विभिन्न अस्पताल पुग्नु भएकी उहाँले धेरै बर्ष पछि सिकलसेल एनिमियाको समस्या थाहा पाउनुभयो । त्यस बेलासम्म उहाँको उपचार गराउँदा गराउँदै १५ लाख बढी खर्च गरिसक्नु भएको थियो । ३७ वर्षीया राजुकमारी विगत १० वर्षदेखि सिकलसेल पीडित हुनुहुन्छ ।
खुट्टा दुख्ने समस्याले देशका विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता नलागेपछि भारतसम्म पुगेर उपचार गराउनुभयो । परिक्षणका क्रममा उहाँलाई समस्या भएको ३ वर्षपछि बल्ल सिकलसेल एनिमिया भएको पुष्टि भयो । अहिले पनि उहाँलाई बेलाबेलामा समस्या बल्झिन्छ । उहाँलाई बेलाबेलामा खुट्टा दुख्ने, हात, छाती, पेट दुख्ने समस्या हुन्छ भने कहिले श्वास फेर्न पनि गाह्रो बताउनुहुन्छ ।
नियमित औषधी सेवन गर्दा गर्दै उहाँले लाखौँ रकम खर्चि सक्नुभएको छ तर रोग निको भएको छैन । यति मात्रै होईन, लाखौँ खर्च गरेर उपचार गर्दा गर्दै पनि औषधी सहज रुपमा पाउन उस्तै समस्या छ । ‘उपचारका लागि धेरै ठाउँ गए तर कतैपनि राम्रो हुन सकेको छैन’,उहाँले भन्नुभयो,‘पैसा मात्रै खर्च भयो । रोग निको भएन ।’
त्यस्तै गढवा गाउँपालिका–२ निवासी माया चौधरीलाई पनि सिकलसेल छ । उहाँलाई सिकलसेल भएको दुई वर्ष भयो । उहाँमा सिकलसेल देखियो, त्यसपछि नियमित औषधि खाइरहनु भएको छ । ‘पटक–पटक बिरामी भइरहन्छु, नियमित औषधि खाइरहनुपर्छ’, उहाँले भन्नुभयो,‘राज्यले औषधिमा सहुलियत गरिदिएको त छ तर पटक पटकको बिरामीले समस्या थपिएको छ ।’ घोराही उपमहानगरपालिका–१६ निवासी २३ वर्षीया बिनिता चौधरीलाई सिकलसेल एनिमिया भएको छ । स्वास्थ्यमा समस्या भएपछि उहाँले सामान्य औषधी उपचार गराउँदै आउनुभएको थियो । धेरै समस्या आई लागेपछि उहाँले गत असारमा सिकलसेलको परिक्षण गराउनुभयो । त्यो बेला उहाँलाई सिकलसेल एनिमिया पुष्टि भयो ।
अहिले उहाँले सिकलसेल एमिनियाको नियमित औषधी सेवन गर्दै आउनुभएको छ । उहाँहरु उदाहरणमात्रै हुनुहुन्छ । स्वास्थ्य कार्यालय दाङको समन्वयमा ७ वटा पालिकाहरु घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दंगीशरण गाउँपालिकामा रगत परीक्षण गरिएको थियो । जसमा दुई हजार ८ सय २ जनाको परिक्षण गर्दा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार राप्तीमा ४ सय १८ जनाको परिक्षण गर्दा ५४ जना, गढवामा ४ सय २१ जनाको परिक्षण गर्दा ४१ जना, लमही नगरपालिकामा ४ सय १६ जनाको परिक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ । यसैगरी, राजपुर गाउँपालिकामा १ सय ३ जनाको परिक्षण गर्दा १० जना, दंगीशरणमा ४ सय ५ जनाको परिक्षण गर्दा ६६ जना, तुलसीपुर उपमहानगरमा ४ सय ५४ जनाको परिक्षण गर्दा ७२ जना र घोराही उपमहानगरपालिकामा ४ सय ५२ जनाको परिक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ ।
अहिले धेरै जनाको ‘स्क्रिनिङ’ नै हुनसकेको छैन । यसले गर्दा पनि खास यस्ता रोगीहरूको पहिचान हुनसकेको छैन ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरम स्क्रिनिङका लागि मेसिन रहे पनि उल्लेख्य मात्रामा मानिस आउने गरेका छैनन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक सय ६६ जनाले औषधि खाइरहेका छन् । प्रतिष्ठानकी सामाजिक सेवा इकाइले सेवा व्यवस्थापन हेर्दै आउनुभएकी शोभा पोख्रेलका अनुसार सरकारले बिरामीका लागि उपलब्ध गराउँदै आएको फोलिक एसिड, हाईड्रोक्सिेरिया दिने गरिएको बताउनुभयो । उपचारका लागि आउने बिरामीमध्ये घोराही १७ का एकै परिवारका ४ जनामा सिकलसेल एनिमियाको जटिल समस्या छ । उहाँहरुलाई चौबिसै घण्टा सेवा दिनुपर्ने अवस्था भएकाले जतिबेला पनि सेवाका लागि तत्परता लिने गरिएको बताउनुभयो । सरकारले १ साउन २०७२ देखि सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँसम्म उपचार खर्च दिने व्यवस्था गरेको छ ।
अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कार्डसहित स्वास्थ्य कार्यालयमा आएमा कार्यालयले एक लाख बराबरको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरिएको छ । थारू समुदायमा लाग्ने यो रोगबाट धेरै जना पीडित भएको हुनसक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था भएको छ । थारू समुदायमा यो रोग भयावह जस्तै छ । ‘विगतमा पनि सिकलसेलका लागि बजेट छुट्याएका थियौँ, यसपटक पनि छुट्याएका छौँ’, घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले भन्नुभयो,‘गाउँगाउँमा पुगेर सेचतना फैलाउने र रोगको दर बढ्न नदिने अभियान चलाउँदैछौँ ।’ यसका लागि विवाह कुण्डलीदेखि स्वास्थ्य सचेतनाका कार्यक्रम हुने गरेका छन् ।
रोकथामका लागि अहिले नियमित रुपमा घोराही र तुलसीपुरमा सिकलसेलको रक्त परिक्षण हुने गरेको छ । अत्यावश्यक विरामीको हकमा सातै दिन तथा अरुको हकमा हप्ताको सोमबार र बिहीबार रक्त परिक्षणको व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्मुख घर्तीले बताउनुभएको छ । यद्यपी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेसिन नभएकाले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा नमूना पठाउने काम हुँदै आएको छ । परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि तयारीलाई अघि बढाइएको छ ।
सरकारले ‘सिकलसेल एनिमिया’ भएका बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत परीक्षण गर्ने मेसिन खरीद, स्वास्थ्यकर्मीका लागि तालिम, जनचेतना अभिवृद्धिका लागि गाउँ तहमा सचेतना कार्यक्रम गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही बताउनुहुन्छ । ‘के कुरामा ध्यान दियो भने उनका सन्तानमा सिकलसेल सर्दैन भनेर परिवारमा जानकारी दिनुपर्छ’, कार्यालय प्रमुख शाहीले भन्नुभयो,‘यी कामका लागि थारू गाउँका बढघर, गुरुवा, गाउँको वडा तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, स्वास्थ्य चौकी जस्ता संयन्त्रलाई परिचालन गर्न सकिन्छ ।’
लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका तराईका ६ वटा जिल्लामा बसोबास गर्ने थारू समुदायमा सिकलसेल एनिमियाका बिरामीको संख्या बढ्ने क्रममा छ । मन्त्रालयका अनुसार सिकलसेल एनिमिया रोग परिचान भएको एक दशक भइसके पनि परीक्षण व्यापक नभएकाले यसका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन ।
थारू समुदायका युवायुवतीमा सिकलसेल जाँच गरेर मात्रै विवाह गर्नुपर्ने भन्दै प्रदेश सरकारले स्वास्थ्य शिक्षाका रूपमा अघि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष सिकलसेलविरूद्ध विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ । यस वर्षका लागि पनि सिकलसेल रोगविरूद्धको अभियानका लागि दुई करोड रूपैयाँ छुट्याएको छ ।
चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जीन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुने स्वास्थ्य कार्यालय प्रमुख शाही बताउनुहुन्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोविनलाई असर पार्ने वंशाणुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ ।