Ad Area

परिवार नियाेजनकाे अस्थायी साधन सायना प्रेसकाे सेवा बिस्तार हुँदै


घाेराही, ११ पुस । महिलाले प्रयाेग गर्न मिल्ने परिवार नियाेजनकाे अस्थायी साधन सायना प्रेस नामक तीन महिने सुईकाे सेवा बिस्तार हुन लागेकाे छ ।

फाईजरले निर्माण गरी पहिलो पटक सन २०१२ मा प्रयोगमा ल्याएकाे यो सूई विश्वका ५२ देशले प्रयोगमा गरिरहेको छ भने २५ देशहरु सेवाग्राही आफै लगाउने विधि अपनाई रहेकाे बारे अाज घाेराहीमा सराेकारवालाहरुसँगकाे अन्तरक्रियामा नेपाल परिवार नियाेजन संघ दाङ शाखाले जानकारी गराएको हाे । शाखा प्रबन्धक बसन्त खनालका अनुसार, संयुक्त राष्ट्र संघ जनसंख्या काेष युएनएफपिएकाे सहयाेगमा नेपालमा पनि सायना प्रेस सुई आर्थिक वर्ष २०७७-०७८ मा सिन्धुली र नवलपरासी पूर्व जिल्लामा नमुना कार्यक्रमको रुपमा सुरु गरिएको थियो ।

यस्तै याे वर्ष पनि सिन्धुली, नवलपरासी पूर्व, मोरङ, पर्सा, ललितपुर, रोल्पा र कैलाली जिल्लामा सेवा विस्तार गरिएको छ । अब केही दिनमा दाङसहित देशभर सायना प्रेसकाे सेवा विस्तार गरिने उहाँले बताउनुभयो । सायना प्रेस नेपालमा सबैभन्दा बढी प्रयाेग गरिने साधन डिपाेप्राेभेरा जस्तै भए पनि अझ परिस्कृत रुपमा तयार पारिएको तथा प्रयाेग गर्न पनि सजिलाे साधनको रुपमा रहेको स्टाफ नर्स प्रभा केसीले अभिमुखीकरणका क्रममा बताउनुभयो ।

उहाँका अनुसार डिपाेप्राेभेरामा भएको प्राेजेस्टेराेन हर्माेन १५० एमएल भन्दा सायना प्रेसमा १०४ मिलिग्राम रहेकाे र लगाउन पनि सहज छ । यसले तीन महिनासम्म काम गर्ने र गर्भ रहनबाट राेक्न महिलाले प्रयाेग गर्ने सुरक्षित र प्रभावकारी गर्भनिराेधक साधनकाे रुपमा लिईएकाे उहाँले बताउनुभयो । महिनावारी भएको सात दिनमा याे सुई लगाउन सकिने तथा सही तरिकाले प्रयाेग गरेमा ९९ प्रतिशत प्रभावकारी रहेकाे उहाँको भनाई छ ।

यसैगरी, स्तनपान गराई रहेकी सुत्केरी महिलाको हकमा ६ हप्तापछि लगाउन सकिने, स्तनपान नगराउने सुत्केरी महिलाको हकमा २१ दिन भित्र लगाउने तथा अन्य हर्मोनल साधन प्रयोग गरिरहेका महिलाले यो साधन प्रयोग गर्न चाहेमा तुरुन्तै प्रयोग गर्न सक्ने मात्रै नभई गर्भपतन पश्चात् तुरुन्तै लगाउन सकिने प्रभावकारी साधन मानिएको छ । सुरक्षित तथा प्रभावकारी, प्रयोग गर्न सजिलो, अनिच्छित गर्भ रहनबाट रोक्ने, एक पटक लगाए पछि ३ महिना गर्भ रहनबाट रोक्ने, महिलाले स्वःनिर्णय गरी लगाउन सक्ने र सुई भएको हुँदा लगाएको अरु व्यक्तिलाई थाहा नहुने उहाँले बताउनुभयो ।

साे अवसरमा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले डिपाेप्राेभेरा भन्दा परिस्कृत र स्तरीय मानिएकाले याे सुई प्रभावकारी हुने विश्वास लिएको बताउनुभयो । सहज र सुरक्षित मानिएकाे र गाेप्य पनि हुने भएकाले असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भ जस्ता समस्या हुनबाट राेक्नुका साथै भ्याक्सिनकाे डाेज कम रहेकाे हुँदा लगाउन पनि सजिलाे हुने बताउनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad