Ad Area

थलिएको नेपाली सिने क्षेत्र उकास्न ‘मञ्जिल’ को अग्निपरीक्षा


पहराको भीमकाय ढुंगा फुटाएर उम्रिएको रुखलाई मात्रै थाहा हुन्छ, आफ्नो अस्तित्व स्थापित गर्न गर्नुपरेको संघर्ष कस्तो हुन्छ भनेर । विषमपरिस्थितीका बेला गरिने जुन कुनै जोखिमको कामले नै उसको मुल्यांकन गर्न मद्दत गर्छ । कोरोनाका कारण लामो समयदेखि बन्द प्राय रहेका चलचित्र निर्माण र प्रदर्शनमा प्राण भर्ने काम पनि आफैमा फलामको चिउरा चपाउनु सरह नै हो ।

लामो समयसम्म चलचित्र हलहरु पूर्ण रुपमा बन्द भए । जसले गर्दा नेपाली चलचित्रका दर्शकहरु सिनेमा घरमा चलचित्र हेर्न जान पाएनन् । दर्शकहरु चलचित्र हलमा जान नपाएपछि युट्युब तथा डिजिटल माध्यमबाट चलचित्र हेरेर मनोरञ्जन लिन बाध्य भए । २०७६ चैत ११ देखि देशभर गरेको ‘लकडाउन’ को निरन्तरताले सबैभन्दा प्रभावित हुन पुगेको क्षेत्र भनेकै चलचित्र हो । शुरुमा बन्द हुनुपर्ने निशाना परेको यो क्षेत्रले संचालनको अनुमति पनि सबैभन्दा अन्तिममा पायो ।

जसले गर्दा पनि हलसम्म गएर दर्शकले चलचित्र हेर्ने मनिस्थितीलाई बदल्दै विकल्प अपाउन बाध्य भए । उनीहरुको विकल्पलाई अब निर्विकल्प बनाउने अभिभारा फेरी चलचित्र उद्योग, सम्बद्ध निकाय, कलाकार, संघसंस्था, दर्शकको काँधमा आएको छ । चलचित्र निर्माण, प्रदर्शनलगायत सम्पूर्ण गतिविधि लगभग ठप्प रहेको बेलामा कुनै निर्माता वा कलाकारले चलचित्र बनाएर प्रदर्शनको योजना बनाउनु आफैमा कठोर कदम हो ।

यही कठोर कदमको यात्रामा अघि बढेको चलचित्र हो, ‘मञ्जिल’ । कोरोनाका कारण नेपाली चलचित्र उद्योगलाई करोडौँको नोक्सानी पुगेको छ नै, कलाकार, प्राविधिक लगायतको रोजीरोटी गुमेको र धेरै बेरोजगार हुने अवस्था सिर्जित भएको बेलामा सिंगो उद्योग र कलकारलाई ढाडस दिने गरी थालिएको यो प्रयास आफैमा अनुकरणीय छ । चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, र नेपाल चलचित्र कलाकार संघ, हल सञ्चालक, फिल्म वितरकले व्यवसायलाई चलायमान बनाउन प्रयास थालिरहँदा ‘मञ्जिल’ले चलचित्र निर्माण र प्रदर्शनका लागि कोरेको गोरेटोले नेपाली चलचित्र उद्योग फेरि उठ्दैछ भन्ने बलियो प्रमाण दिन्छ ।

कोरोनाको जगजगीका बेला चलचित्र ‘मञ्जिल’को जन्म भएको हो । २०७७ फागुन २१ गते दाङको घोराहीस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय केन्द्र अम्बिकेश्वरी माताको चरणकमलबाट आशिर्वाद लिएर शुभमुहुर्त गरिएको चलचित्रको छायांकन कोरोना कालमा नै सकिएको हो । दोश्रो लहरको कोरोनाका बेलामा पनि चलचित्र निर्माण युनिटले काम रोकेन । अनेकन सावधानी अपनाउँदै चलचित्र छायांकनको कामलाई निरन्तरता दिँदै नेपाली चलचित्र उद्योगका लागि अर्को दस्तावेज दिन सफल भएको छ, मञ्जिल युनिट

Blog Post Ad

चलचित्र मञ्जिलको शुभमुहुर्त गर्दै निर्माता अमर घर्ती ‘युनिक’ले भन्दै थिए, ‘मञ्जिललाई नेपाली चलचित्र उद्योगको एक ऐतिहासिक चलचित्र बनाउने लक्ष्य छ ।’ वास्तवकै मञ्जिलले इतिहास बनाउनका लागि अनेकन चुनौतिका बीच सुनौलो अवसरमा पनि पाएको छ । सबैले चलचित्र प्रर्दशनका लागि हलसम्म जान खुट्टा कमाई रहेका बेलामा कोरोना कालको प्रसबव पीडाबाट जन्मिएको मञ्जिलले कार्तिक १३ गते प्रदर्शन गर्ने आँट गर्नु समग्र चलचित्र उद्योगका लागि आफैमा हौसला र प्रेरणाको श्रोत हो । यही आधारशीलाको पद पछ्याउँदै अरु चलचित्र पनि देशभर एउटा माहोल बनाएर हलहरुमा प्रदर्शन हुनुपर्ने आवश्यक छ ।

उसो त, काठमाडौं उपत्यका भन्दा बाहिर गएर सिंगो चलचित्र छायांकन गरी स्थनीय श्रोतसाधनको पहिचान, प्रवर्द्धन गर्न, प्रचारप्रसारमा चलचित्रका माध्यमबाट टेवा पुर्याउने काम मञ्जिलले गरेको देखिन्छ । यो चलचित्रको छायांकन दाङसहित यस क्षेत्रका विभिन्न धार्मिक र पर्यटकीय स्थलमा गरिएको छ । दाङ, रोल्पा, प्युठानलगायतका स्थानमा छायांकन गरिएको चलचित्र मञ्जिलले यहाँको प्राकृतिक सुन्दरता उजागर गर्न कोशेढुंगा सावित हुनेमा कुनै शंका छैन ।

प्रचुर सम्भावना बोकेर पनि बाहिर आउन नपाएका यहाँका सुन्दर प्राकृतिक दृश्यले चलचित्रको फ्रेममा स्थान बनाउन सफल हुनुले अब नेपाली चलचित्र उद्योगसँगै आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्नेमा कुनै सन्देह छैन । थला परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन खुकुरीको धारमा खुट्टा राखेर दर्शक सामु आएको ‘मञ्जिल’ भित्रको कथा बस्तु, यसले दिन खोजेको सन्देश पनि आफैमा उत्कृष्ट छ । चलचित्र केवल मनोरञ्जनका लागि बनेका हुँदैनन् । यसका विभिन्न पक्ष र आयाम हुन्छन् । चलचित्रले समाजको बदलिँदो परिवेश र घटनाक्रमको प्रतिनिधित्व गरेको हुन्छ । यही प्रतिनिधित्व गरेको चलचित्र मञ्जिल बनेको प्रोडक्सन म्यानेजर नारायण नेपाल बताउँछन् ।

‘साथीभाइ, शुभेच्छुक, चलचित्र प्रेमी, चलचित्र हलसम्म पुगेर हेर्नुपर्छ भन्ने सकारात्मक सोँच राख्ने दर्शकहरुको हौसलाले चलचित्र बनाउने आँट आयो, कोरोना महामारीकै बीचमा काम भयो, अब दर्शकहरुको जिम्मा लगाउँदैछौँ’ –प्रोडक्सन म्यानेजर नेपालले भने, ‘अब यो दर्शकहरुको सम्पत्ति भयो, उहाँहरुले दिने आशिर्वाद, हौसला र मायाले हामी जस्तै सिंगो सिने क्षेत्रलाई चलचित्र उद्योग पुनर्जागृत गर्न सहयोग पुग्नेछ भन्ने आशा छ । त्यही सोँचका साथ हामीले चलचित्र निर्माण गरेका छौँ ।’

चलचित्र उद्योगको प्रवद्र्धन र विकासमा चलचित्र मञ्जिलले भूमिका खेल्ने विश्वासका साथ आफुहरुले यो बेलामा प्रर्दशनको आँट गरेको निर्माता मञ्जिलका निर्देशक एवं सम्पादक सन्देश शाहको भनाई छ । ‘आम दर्शकलाई फिल्म हलसम्म लैजाने खालको वातावरण बनाउन सबैको हौसला, आशिर्वाद नै मुख्य हो, लामो समयसम्म हल बन्द भएको छ, यो बेलामा दर्शक पनि चलचित्र हलसम्म पुगेर चलचित्र हेर्नुको आनन्द लिने प्रतिक्षामा छन् नै । त्यसमा मञ्जिल चलचित्रको कस्तो बनेको छ भन्ने सन्देश पनि यसले दिनेछ भन्ने अपेक्षा छ,’ निर्देशक शाहले भने ।

यो बेलामा चलचित्र घरसम्म पुगेर चलचित्र हेर्ने दर्शकहरुको प्यास बढेको छ । जसले गर्दा पनि यो आँट निर्माण पक्षले लिएको हुनुपर्छ । ७० लाख बढी लागतमा निर्माण गरिएको चलचित्र एउटा फूल प्याकेज हो । निर्माता, कलाकार सबैका साझा हुन्छन् त्यसमा पनि आफ्नै गाउँ ठाउँबाट कलाकारिताको गोरेटो कोरेका प्रतिभावानहरुको हौसला र सकारात्मक मार्ग दर्शनका लागि पनि चलचित्र हेर्नुपर्ने निर्माता अमरको धारणा छ । साथीभाइहरुको विश्वास, शुभेच्छुकको आशिर्वाद, चलचित्र प्रेमीको हौसला छ । अहिलेको कठिन परिस्थितीमा चलचित्र निर्माण गरी प्रदर्शनको तयारी गर्नु मुर्खतापूर्ण काम नै हो । ‘तर, कोही कसैले आँट त गर्नु थियो नै । हो यही शाहस र आँटका साथ आम दर्शकमा माझ चलचित्र ‘मञ्जिल’ आएको हो,’ निर्माता अमरले भने, ‘आशा छ यसले राम्रो सन्देश दिनेछ ।’

दाङ जिल्ला चलचित्र छायांकनका लागि निकै राम्रो जिल्ला हो । यहाँका प्राकृतिक सुन्दरता, भू–बनोट, हावापानी, पछिल्लो समय बनेको पर्यटकीय पूर्वाधारका कारण कुनै पनि चलचित्र निर्माताहरुको रोजाईमा यो चलचित्र हेरेपछि रोजाईमा पर्न सक्छ ।

चलचित्र ‘मञ्जिल’ कस्तो चलचित्र हो ?

साथीभाइ, आफन्त र विश्वास पात्रको भरोसालाई टिकाउन मानिसले के कस्ता संघर्ष गर्न बाध्य हुन्छ भन्ने कुरा यस चलचित्रले दर्शाउन खाजेको छ । मानिस संवेगात्मक चेतसहितको भावनाका साथ अघि बढ्ने सचेत प्राणी हो । समाजमा रहँदा उसलाई माया, हेरचाह, सद्भाव, सम्मान, प्रतिष्ठा चाहिनु स्वाभाविक हो । मानिस सही बाटो अंगालेर वा गलत बाटो अंगालेर ‘नेम र फेम’ का लागि संघर्ष गर्छ । जसका लागि ऊ के गर्दैन र ? जो सही छ ऊ दीगो रहन्छ, जो गलत बाटोबाट हिँडेको छ ऊ क्षणभंगुरमा पतनको बाटोमा लाग्छ । यी र यस्तै कुरासहितको रोमाञ्चक विषयलाई पटकथामार्फत चलचित्रले दर्शाएको छ ।

नेपाली कथानक चलचित्रमा प्रस्तुत हुने कथा बस्तुमा अहिलेको सामाजिक परिवेशको प्रतिविम्बलाई नवीनशैलीमा रोचक ढंगले पटकथामा उतारेर पर्दामार्फत दर्शक सामु ल्याईएको चलचित्रका अभिनेता धिरेन शाक्य बताउँछन् । ‘कोही पनि आफ्नो लक्ष्य प्राप्तिको यात्रामा अघि बढ्दा अप्रत्यासित रुपमा हुने विश्वासघातले पार्ने असर कस्तो हुन्छ भन्ने विषय नै यस चलचित्रको आधार हो,’ उनले भने, ‘यो चलचित्र दाङ, रोल्पा, प्युठानका अति नै सुन्दर दृश्य भएका ठाउँमा छायांकन गरिनुका पछाडि पनि खास कारण छ ।

यो कुरा हलमा गएर दर्शकहरुले थाहा पाउनुहुनेछ ।’ नेपाली चलचित्र क्षेत्रका उम्दा अभिनेता धिरेन शाक्यको दर्बिलो अभिनय, सिने क्षेत्रमा उज्यालो भविष्य देखिएका सबैले रुचाएका कलाकार सागर खनाल र आलिसा बास्तोलाको अभिनय, सशक्त भूमिका आफैमा यस चलचित्रको सबल पक्ष हो । शशी शर्मा मजगैयाँ, अमर घर्ती, लोकराज पराजुली, सुभेष नेपाल, उजेश न्यौपानेलगायत थुप्रै प्रतिभावान कलाकारको अभिनय पनि निकै लोभलाग्दो छ ।

स्थानीय स्तरमा रहेका सम्भावनाहरुको पहिचानमा यो चलचित्रले अहं भूमिका खेलेको स्थानीय पालिकाहरुको भनाई छ । अहिलेका स्थानीय सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गरेका राम्रा र असल अभ्यासलाई चलचित्रका माध्यमबाट उजागर गर्न ठूलो भूमिका खेलेको अभिनेता शाक्य बताउँछन् । दाङ जिल्ला चलचित्र छायांकनका लागि निकै राम्रो जिल्ला हो । यहाँका प्राकृतिक सुन्दरता, भू–बनोट, हावापानी, पछिल्लो समय बनेको पर्यटकीय पूर्वाधारका कारण कुनै पनि चलचित्र निर्माताहरुको रोजाईमा यो चलचित्र हेरेपछि पर्न सक्छ ।

जिल्लाको पर्यटन विकास र प्रवद्र्धनमा चलचित्रका माध्यमबाट उजागर गर्न सशक्त भूमिका भएको नकार्न मिल्दैन । अब दाङ चलचित्र छायांकनको हब बन्नेमा कुनै शंका छैन । यहाँका हरेक दृश्य, प्राकृतिक सुन्दरता चलचित्रको पर्दामा उतार्नका लागि चलचित्र निर्माताहरुको नजरमा अब पर्ने अभिनेता धिरेन शाक्यको अनुभव छ । उही दृश्य, उही परिवेशमा मात्रै काम गर्ने परिपाटीलाई अन्त्य गर्दै राम्रा र फिल्मको पर्दामा अटाउन सक्ने लोकेशन कहाँ छ भन्दा अब दाङ रोज्ने अवस्था बनेको उनले बताए ।

१३ गते ‘मञ्जिल’ को प्रतिक्षामा दर्शक !

कार्तिक १३ गते घोराहीस्थित स्वर्गद्वारी चलचित्र हलको ठूलो पर्दामा ‘मञ्जिल’ प्रदर्शनमा आउँदैछ । हुन त यसलाई ‘च्यारिटी शो’ भनिए पनि यसले प्रवाह गर्ने सन्देशले सिंगो नेपाली चलचित्र उद्योगलाई निकै सहयोग पुग्नेछ । दर्शक पाउन कठिन भईरहेको बेलामा हलसम्म पुगेर चलचित्र हेरेर हौसला दिने काम कार्तिक १३ गते दाङका सम्पूर्ण चलचित्र अनुरागी, शुभेच्छुक, दर्शकलगायतले गर्दैछन् । डेढ वर्षभन्दा लामो समयदेखि बन्द रहेको चलचित्र उद्योग संचालनका लागि सरकारले पनि अनुमति दिएको छ । दाङका चलचित्र हलहरु लामो समयको बन्दका कारण माकुराको जालोमा लटपटिएका थिए ।

दाङमा करीव २२ महिनापछि चलचित्र मञ्जिलले दर्शकलाई स्वागत गर्न लागेकोमा हल संचालकको मनोबल पनि उच्च बनाएको छ । दर्शकको अपार माया, साथ, हौसला र आशिर्वाद पाउने आशामा चलचित्र ‘मञ्जिल’ अहिले दर्शक सामु आउने अन्तिम तयारी छ । दर्शकहरु पनि मञ्जिलसँगको भेट गर्ने प्रतिक्षामा बसेका छन् । कोरोनाले थलिएको चलचित्र उद्योगलाई माथि उठाउन दाङले अब एक प्रकारको माहोल बनाउनेमा धेरैको अपेक्षा छ, यही अपेक्षालाई सार्थक बनाउन कार्तिक १३ गते घोराहीस्थित स्वर्गद्वारी चलचित्र हलमा सबै जाऔँ ।

अनि सिंगो नेपाली चलचित्र उद्योगले भन्ने छ, वाह ! चलचित्र प्रतिको अगाध माया र विश्वास त दंगाली दर्शकले पो दिने रैछन् । अनि, यही माया, विश्वास र भरोसालाई आफ्नो अमुल्य सम्पत्ति ठानेर चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघ, कलाकार संघलगायत सम्वद्ध सबैको नजर दाङमा पर्नेछ ।

Blog Post Ad Blog Post Ad