Ad Area

गणेशपुर पार्कमा चहलपहल बढ्दै


सामुदायिक बनको जमीनलाई पार्क बनाएपछि पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँजसो भीडभाड हुन्छ ।

पार्कमा पिकनिक खाने, घुमफिर गर्नेदेखि फोटो खिच्ने र भिडियो बनाउनेहरूका कारण दैनिकजसो चहलपहल हुने गरेको छ । पार्कलाई आकर्षक बनाउन गेटबाट प्रवेश गरेलगत्तै राखिएको शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति हेर्नदेखि शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरु वन जङ्गलसहितको सुन्दर वातावरणमा रमाउन आन्तरिक पर्यटकका रुपमा दिनहुँ मानिसहरु पार्क पुग्ने गर्छन् ।

जसलेगर्दा सामुदायिक वनले राम्रो आम्दानी समेत गर्दैआएको छ । सामुदायिक वनभित्र निर्माण गरिएको पार्क पर्यटकीय क्षेत्रका रुपमा विकास भएसँगै वन समूहको आम्दानी समेत बढेको छ । ‘सामुदायिक वन क्षेत्रमा रहेको पार्क आफैंमा सुन्दर छ । पार्कलाई आकर्षक बनाउन बुद्धको मूर्तिदेखि जङ्गली जनावर राखिएकाले पार्कमा अहिले बालक, वृद्ध जोकोही पनि रमाउने गर्छन्’ स्थानीय रविन्द्र केसीले भने, ‘त्यसैले गर्दा पछिल्लो समय धेरै आन्तरिक पर्यटक पिकनिक तथा घुमफिरका लागि आउने गर्नुहुन्छ ।’

पार्क व्यवस्थापन समितिका अनुसार अन्य दिनहरुको तुलनामा शनिवार वा सार्वजनिक बिदाका दिन धेरै भीडभाड हुनेगरेको छ । पार्कमा प्रवेश गरेलगत्तै गेटबाटै देखिने गौतम बुद्धको मूर्तिसहित सयपत्री फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् ।

पार्कभित्रका पस्दा पानीको फोहरा, कृत्रिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका चितुवा, बाँदर, उल्लु, खरायोका बच्चालगायतका जनवारसँग पनि पर्यटकहरू उत्तिकै रम्ने गरेका देखिन्छन् । त्यहाँ रहेको चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् ।

चिल्ड्रेन पार्क सञ्चालनका लागि अर्को संस्थालाई भाडामा दिइएको छ । त्यहाँ पिङ, पौडीदेखि बच्चाहरूले खेल्ने हरेक सामग्रीहरू राखिएका छन् । तुलसीपुर क्षेत्रको मुख्य पर्यटकीय केन्द्रको रूपमा रहेको राप्ती शान्ति पार्क पर्यटकको मुख्य केन्द्र बन्दै गएको छ ।

Blog Post Ad

कुनै समयमा नामको मात्र रहेको पार्कमा हिजोआज भौतिक संरचना र अन्य पर्यटकलाई आकर्षण गर्ने संरचनाहरू बन्दैगएपछि स्थानीय पर्यटकको निकै भीडभाड हुनेगर्छ । वि.सं २०५९ माघ ८ गतेदेखि त्यहाँ उद्यान निर्माणको काम सुरु गरिएको थियो ।

सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम सुरु गरिएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले बताए । उनका अनुसार करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरे पनि उद्यानको विकासका लागि अझै गर्न बाँकी छ ।

Blog Post Ad Blog Post Ad