Ad Area

नेपालमा होटल खोल्न साढे ५ अर्ब विदेशी लगानीको प्रस्ताव


चालु आर्थिक वर्ष, २०७८/०८९ को पहिलो दुई महिना (साउन–भदौ) मा मात्रै विभिन्न देशका लगानीकर्ताले नेपालमा तीस वटा होटल खोल्ने प्रस्ताव गरेका छन्। उनीहरूले उद्योग विभागमार्फत उक्त परियोजनाका लागि प्रस्ताव गरेका हुन्।

विभागको तथ्यांकले विदेशी लगानीकर्ताको मुख्य आकर्षण होटलमा देखिएको जनाउँछ। विभागमा दर्ता भएका ७१ वटा परियाजनामध्ये सबभन्दा बढी, तीस वटा होटलका छन्।

त्यस्तै सेवामूलक बीस, उत्पादनमूलक १५, कृषिमूलक चार र ऊर्जामूलक र सूचना प्रविधिमूलक एक/एक वटा परियोजना सञ्चालन गर्न प्रस्ताव आएको विभागको तथ्यांकले देखाएको छ।

पहिले लगानीकर्ता उत्पादनमूलक उद्योगमा केन्द्रित थिए।

संसारभर कोरोना महामारीका कारण पर्यटन क्षेत्र शिथिल भएको छ। यस्तोमा होटलमा लगानी गर्ने जोखिम धेरैले उठाउन चाहँदैनन्। तर यही क्षेत्रमा लगानी प्रस्ताव धेरै आउँदा विदेशीहरूले नेपालमा पर्यटन सम्भावना प्रचूर देखेका हुन सक्ने होटल संघका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन्।

कोरोना महामारीका कारण संसारभरका मान्छे भ्रमण गर्न पाइरहेका छैनन्। यस्तोमा महामारीपछि उकुसमुकुस भएका मान्छेहरू धेरै घुम्न जाने सम्भावना छ। योसँगै होटल क्षेत्र फस्टाउने सम्भावना अधिक भएकाले पनि व्यवसायीहरूले अहिलेदेखि होटल दर्ता गरिरहेको हुन सक्ने शाहले बताए।

Blog Post Ad

‘अहिले दर्ता मात्र भएका हुन्। सञ्चालनमा आउन समय लाग्छ,’ उनले भने, ‘दर्ता गर्दै बैंकिङ प्रक्रिया अगाडि बढाउँछन्।’

खासगरी चिनियाँ, अमेरिकी, भारतीय र भियतनामका लगानीकर्ताले नेपालमा होटल खोल्न चासो देखाएका छन्। विभागको तथ्यांक अनुसार सबभन्दा बढी चिनियाँ लगानीकर्ताले २६ वटा, अमेरिकीले दुई, भारतीय र भियतनामका लगानीकर्ताले १/१ वटा होटल खोल्ने प्रस्ताव गरेका छन्।

कुल परियोजनाका लागि आएको ११ अर्ब ७० करोड रूपैयाँमध्ये पाँच अर्ब ६० करोड रूपैयाँ होटलले ओगटेको छ। २६ वटा होटल होटलका लागि चिनियाँ लगानीकर्ताले पाँच अर्ब ४० करोड खर्च गर्ने भनेका छन्।  

त्यस्तै भारतीय लगानीकर्ताले पाँच करोड, अमेरिकी लगानीकर्ताले दुई होटलमा दस करोड र भियतनामका लगानीकर्ताले एउटा होटलमा पाँच करोड लगानी गर्ने बताएका छन्।

भारतीय लगानीकर्ताले स्वदेशी उद्योगीसँग सहकार्य गरी ९६ बेड र ३० सिट रेस्टुरेन्ट भएको होटल खोल्ने भएको छ।

अमेरिकी लगानीकर्ताले सञ्चालन गर्ने एउटा होटल ३५ बेड र ६० सिट क्षमताको हुनेछ। होटलमा पचास प्रतिशत स्वदेशी लगानीकर्ता र पचास प्रतिशत विदेशी लगानीकर्ताको लगानी हुने भनिएको छ।

त्यस्तै अर्को होटल २४ बेड र एक सय सिट रेस्टुरेन्टको हुनेछ। यसमा भने शतप्रतिशत अमेरिकी लगानी रहने विभागको तथ्यांकले देखाएको छ।

अमेरिकी लगानीका यी होटल सञ्चालनमा आए क्रमशः ३५ र ५० जनाले रोजगारी पाउने छन्।

भियतनामले शतप्रतिशत आफ्नै लगानीमा २४ बेड र ८० सिट रेस्टुरेन्ट भएको होटल होटल खोल्ने भएको छ। यो सञ्चालनमा आए ३५ जनाले रोजगार पाउनेछन्।

चिनियाँ लगानीकर्ताले सञ्चालन गर्ने होटल भने कुनै मझौला र कुनै साना छन्। ती  होटलमा ३५ देखि ९५ बेड र १५० देखि ८० सिट क्षमताको रेस्टुरेन्ट हुनेछ।

प्रस्तावित प्रायः सबै होटल काठमाडौं, भक्तपुर लक्षित छन् भने भारतीय लगानीकर्ताले पर्सामा खोल्ने बताएको छ।

गत आर्थिक वर्षको यही अवधि (साउन-भदौ)मा विभिन्न देशका लगानीकर्ताले ४८ वटा परियोजनाका लागि ७ अर्ब ५५ करोड रूपैयाँ लगानी प्रस्ताव गरेका थिए।

Blog Post Ad Blog Post Ad