Ad Area

किशोरकिशोरीहरुको अन्तर संजाल प्रदेशस्तरीय खेलकुद


दाङ, १५ पुस । पूर्व संवाद किशोरकिशोरीहरुको अन्तर संजाल प्रदेश स्तरीय खेलकुद कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।

प्रदेश स्तरीय किशोर किशोरी संजालका अध्यक्ष द्वारिकाप्रसाद हरिजनको अध्यक्षता तथा लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा संचारमन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्य एवम् लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यमा ६ जिल्लामा रहेको ८ वटा संस्थाको प्रतिनिधित्व गर्दै ४ वटा किशोर र ४ वटा किशोरी समुहबीच स्ट्रोम फाउन्डेसनको सहयोगमा शुक्रबार प्रदेश स्तरीय खेलकुद कार्यक्रम सम्पन्न भएको हो ।

दुई दिनसम्म लमहीमा भएको खेलकुद कार्यक्रममा दाङ, रोल्पा, प्युठान, कपिलवस्तु, रुपन्देही र नवलपरासीका ६ जिल्लाबाट ८ वटा संस्थाको प्रतिनिधित्व गर्दै किशोर र किशोरी समुहबीच गरिएको भलिबल प्रतियोगितामा भाग लिएका हुन् । प्रतियोगितामा हुरेक रोल्पा, साहस नेपाल रोल्पा, कालिका विकास केन्द्र प्युठान, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, किर्ड्यार्क कपिलवस्तु, सिद्धार्थ सामाजिक विकास कपिलवस्तु, सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देही, एबीसी नवलपरासीले भाग लिएको थियो ।

किशोर समुहबाट भलिबलमा एबीसी नेपाल नवलपरासी प्रथम भयो भने हुरेक रोल्पा दोश्रो भयो । यस्तै किशोरी समुहबाट साहस नेपाल रोल्पा प्रथम भयो भने सामाजिक विकास कपिलवस्तु दोश्रो भयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा एबीसी नेपालका जगनारायण थारु, सिद्धार्थ सामाजिक विकासमा असिम सिंजाली राना घोषित भए ।

कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा संचारमन्त्री शर्माले खेल स्वस्थ्यताको प्रतीक रहेको हुँदा मानिस स्वस्थ भए मात्रै विचार स्वस्थ हुने र त्यसबाट काम स्वस्थ्य सम्भव हुने बताउनुभयो । उसले गरेका काम समुदायमा स्वस्थ्य रुपमा भए मानवरुपी समाज स्वस्थ्य बन्छ, उहाँले भन्नुभयो मानिस स्वस्थ बनाउन सामाजिक संघसंस्थाको भुमिका अहम् छ ।

खेलका माध्यमबाट एक अर्काबिचको भावना साटासाट गर्न, कला संस्कृति बुझ्न प्रेरित गरिनु निकै महत्त्वपूर्ण छ । सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीलाई सफल बनाउँदै स्वस्थ्य नागरिक बनाउन संघसंस्थाले उल्लेख योगदान गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । लमही नगरपालिकाकि उपप्रमुख योगीले मानव जीवनमा हार र जित जीवनका दुई पाटा भएको हुँदा हार्नेले जित्ने र जित्ने हार्ने कुरा सिकाईका रुपमा ग्रहण गर्न सक्नुपर्ने बताउनुभयो ।

मेहनत निरन्तर भए सकारात्मक सोँचका साथ आफुलाई उत्कृष्ट बनाउन हौसला कायम राख्दै आज गरेको मेहनत र लगानीले भोलि सफल बनाउन सम्भव हुने बताउनुभयो । सो अवसरमा, विजेता समुहबाट रोल्पाकी अर्पिता गिरीले खेलबाट धेरै कुरा सिक्ने मौका मिलेको बताउनुभयो । एक आपसमा अन्तरघुलन हुने अवसर मिलेको बताउँदै खेलमा हारजित जे भए पनि यो निकै महत्त्वपूर्ण सिकाईका रुपमा लिएको बताउनुभयो ।

नवलपरासीका वास्तविक चौधरीले खेलको माध्यमबाट एक आपसमा भावनात्मक एकतामा टेवा पुगेको बताउनुभयो । कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पस प्रमुख शिव वली, पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

परियोजनाले संवाद समूह मार्फत समुदाय स्तरमा किशोर किशोरीहरुमा शिक्षा, स्वास्थ्य र सचेचनाको कार्यक्रम संचालन गर्दै आएको छ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र अध्यक्ष निर्मला गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका सचिव केपी घिमिरेले गर्नुभएको थियो ।