Ad Area

त्रिभुवन नगर जेसीजमा नयाँ नेतृत्व


नेतृत्व र समाजसँग जोडौँ : पोख्रेल

दाङ, १७ पुस । त्रिभुवन नगर जेसीजमा नयाँ नेतृत्व चयन भएको छ । सन् २०२३ को लागि त्रिभुवन नगर जेसीजको अध्यक्षमा कूलबहादुर वली चयन भएका छन् । वली सन् २०२२ मा त्रिभुवन नगर जेसीजका महासचिव थिए । जेसीजमा नयाँ नेतृत्वको कार्यकाल एक वर्षको हुने व्यवस्था छ । नयाँ नेतृत्वले शनिवार पदभार समेत गरेको छ ।

जेसीज २०२२ का अध्यक्ष विवेक आचार्यले नयाँ अध्यक्ष वलीलाई पद हस्तान्तरण गरेका थिए । जेसीजले नेतृत्व विकास, विधिको शासन र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । त्रिभुवन नगरको कार्यकारिणी उपाध्यक्षमा अमर अधिकारी र कृष्णदेव थापा छन् । उपाध्यक्षमा किसन वली, प्रेम न्यौपाने, रमेश घिमिरे, समीर केसी र सचिवमा राजन घर्ती छन् । महासचिवमा किरण गौतम चयन भएका छन् । महासचिव र कोषाध्यक्ष विधानतः अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । गौतम यस अघि कोषाध्यक्ष भएर जेसीजमा काम गरेका थिए ।

जेसीजको कोषाध्यक्षमा टंक रावत, कानुनी सल्लाहकारमा महेश गुप्ता, जनसम्पर्क अधिकारीमा रविकिरण केसी, तालिम निर्देशकमा किरण न्यौपाने र शाखा सम्पादकमा श्यामकुमार गिरीलगायत विभिन्न पदहरुमा मनोनित भएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले जेसीजले युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । ‘जेसीज युवाहरूले काम गर्ने थलो हो’, उनले भने, ‘यसले युवाहरूमा क्षमता वृद्धि गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन विशेष भूमिका खेल्ने गरेको छ ।’ उनले संस्थाको मुख्य काम नै मानवताको सेवा र बन्धुत्वको भावनामा टेव पु¥याउने भएको समेत बताए ।

जेसीजले सामाजिक क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै नयाँ नेतृत्वले त्यसलाई थप उचाईमा पु¥याउन सुझाव समेत दिए । कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले जेसीजले गर्ने कार्यलाई थप रचनात्मक बनाउन सुझाव दिए । जेसीजले युवाहरूको व्यक्तित्व र नेतृत्व विकाससँगै समाज रूपान्तरणमा भूमिका खेल्ने गरेको उनले बताए । जेसीजका अध्यक्ष विवेक आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रेमलाल न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न पुरस्कार समेत वितरण गरिएको थियो । जेसीज पुरस्कार रविकिरण केसी, उत्कृष्ट शाखा पदाधिकारी अमर अधिकारी, उत्कृष्ट कार्यक्रम संयोजक कृष्ण वली र उत्कृष्ट कार्यक्रम सहभागीको रूपमा प्रेमलाल न्यौपानेलाई पुरस्कृत गरिएको थियो । यसैगरेर विभिन्न संघसंस्था, व्यक्तिलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण सन् २०२२ का महासचिव वलीले गरेका थिए ।