Ad Area

एक्लो बुढेशकाल…


घोराही १२, कात्तिक । नेपाली समाजमा एउटा उक्ति छ– ‘वृद्ध भएकोमा कुनै पश्चाताप नगर, यो धेरैले नपाएको सुनौलो अवसर हो ।’ यो अवसर पाउनेहरुको संख्या हाम्रो समुदायमा दिनप्रतिदिन बढ्दो छ । मानिस मन्मेपछि जवानहुँदै वृद्धको अवस्थामा पुग्नु अवश्यम्भावि छ । यो मानव जीवनको प्रकृया पनि हो । तर जीवनको उत्तरार्धमा आईपुग्दा बाहुबल कमजोर बन्दै विभिन्न रोगब्याधले च्याप्दै गरेका जेष्ठ नागरिक, बृद्धबृद्धाको स्याहार आफु स्वयंबाट हुन सक्ने अवस्था रहेन भने निकै कठिन हुँदो रहेछ ।

यही अवस्थामा आई पुग्दा जो कोही वृद्ध भएकाहरुले अनुभूति गर्ने गरेको कुरा अहिले नेपाली समाजमा चुनौतिका रुपमा देखा परेको छ । हुने खानेले स्याहारे राखेर, स्थानीय सरकारले पहल गरेर बनाएका दिवा सेव केन्द्रमा बस्नेहरु, कुनै आश्रममा आश्रित हुनेहरु त जसोतसो आफ्नो जीजिविषा चलाउँछन् तर कोही नहुनेहरुको अवस्था के हुन्छ होला शब्दमा यसै भन्न सक्ने अवस्था छैन ।

हो त्यही बेलामा मानिसले वृद्ध भएकोमा ‘पश्चाताप’ हुनुपर्ने अवस्था आएको दिल दुखाएरै गुनासो गर्छन् । बुढ्यौली जीवन सुखमयी, स्वस्थ एवं सम्मानित रुपमा बिताउन पाउनुपर्ने ज्येष्ठ नागरिक नेपाली समाजको भौतिकवादको चंगुलमा धराप बन्न बाध्य छन् । यो सबैको जीवनमा लागू नभएपनि समुदायमा देखा परेको पीडादायी परिघटनाको इतिवृत्तान्त हो । भौतिकवादमा अघि बढेको नेपाली समाज द्रव्यको पछि दौड्दा आफ्नो जीवनको अस्तित्व दिनेहरुबाट बुढ्यौलीमा एक्लै बस्नु पर्दाको पीडा बाल्यकाल र जवानीमा बिताएको जीवनको स्मरणमा बिताउनु बाहेक अरु विकल्प पनि हुँदैन ।

घरमा जीवनका कैयौँ बसन्त कटाई सकेका र जीवनका कैयौँ आयाम र भोगाईबाट पैठेजोरी खेलेर हुर्के बढेका, सुखदुख झेलेका उनै अनुहार जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सेरोफेरोमा बिताउने अभिलाषा राख्नेहरु मध्ये सबैको आकांक्षा पूरा हुन नसकेका समाजमा प्रतिबिम्वले प्रष्ट पार्छ । पछिल्लो ५ दशकमा ज्येष्ठ नागरिकको संख्या पाँच गुणा बढेको तथ्यांकले देखाउँछ ।

विस २०१८ को जनगणनामा ६० वर्षमाथिकाको संख्या ४ लाख ८९ हजार रहेकोमा पछिल्लो जनगणना २०६८ मा ज्येष्ठ नागरिक संख्या २१ लाखभन्दा माथि पुगेको छ । यो संख्या अझै बढ्दै जानेछ । यतिबेला यो संख्या करीव २५ लाख हाराहारी पुगिसकेको सरकारी तथ्यांक छ। घरमा युवा अनुहार पाउन तपस्या नै गर्नुपर्ने अवस्था आउन लागेको घोराही १५ का ७८ वर्षीय विष्णु थापाको भनाई छ । अहिले हामी जस्तालाई अरुले स्याहार गर्लान् भन्ने बेलामा आफुले आफैलाई अनि सिंगो घरको पनि हेरचाह गर्नुपर्ने बाध्यता छ ।

घरमा छोराबुहारी रोजगारी र कामको सिलसिलामा बाहिर बस्छन् । काम गर्नुपर्यो, घरमा बसेर मात्रै नपुग्ने, काममा बाहिर निस्कँदा घरको जिम्मेवारी आफु जस्ता जीवनको हरेक याम झेलेर अरुको सहारामा बाँच्ने अवस्थामा पुगेकाहरु माथि आईलाग्नु अहिलेको वर्तमान तस्वीर रहेको तीतो अनुभव सनाए ।

Blog Post Ad

लेखे पढेका कामको सिलसिलामा जिल्ला बाहिर बस्छन्, पेशा रोजगारका लागि आमाबुवाबाट टाढा हुनुपर्ने अवस्था छ । कोही रोजगारीका लागि विदेशिएका कारण घरको सच्चा पहरेदार वृद्ध हुनु पर्ने बाध्यता रहेको छ । घर हेर्दा बंगला छ तर के गर्नु म र एक जना नाति बस्छौँ, ४ तले बडेमानको घर देखाउँदै ८२ वर्षीया सुकमाया घर्तीले दुखका सुस्केरा निकाल्दै भनिन्, ‘छोरा बुहारी विदेश बस्छन्, उनीहरुको संसार उतै छ, मेरो जीवन यहीँ बित्यो कसरी अन्त जानु र ? घरले जा वनले आईज भन्ने अवस्थामा पनि एक्लो जीवन बिताउनु पर्ने अहिलेको यो अवस्था वास्तवमै कठिन छ ।’

उसो त एक तथ्यांकले ज्येष्ठ नागरिकको वृद्धिदर शहरको तुलना पहाडमा अझ बढी देखाएको छ । आन्तरिक विस्थापन, बसाइँसराइ, सामाजिक द्वन्द्व आधुनिकीकरण लगायतका कारण यस्तो देखिएको विज्ञहरु बताउँछन् । पहाडी जिल्लामा भन्दा शहरमा ज्येष्ठ नागरिक संख्या कम हुनुले रोजगार तथा पढाइका लागि शहरमा युवा थुप्रिएको देखाउँछ । गाउँका युवाहरु रोजगारीका लागि खाडीमा जाने, गाउँघरमा वृद्धवृद्धा, महिला, बालबालिका मात्रै बस्नु पर्ने बाध्यता छ । कतिपयको घरमा त वृद्धआमा बुवा बस्ने गरेको पाइएको छ । दाङको पहाडी क्षेत्र बंगलाचुली ३ का ८५ वर्षीय जुद्धबहादुर बिक आफ्नै पाखुरी बलमा दैनिकी गुजार्न बाध्य छन् । छोरा विदेशिएको धेरै भयो । घर धान्ने उनिनै हो ।

यो अवस्थामा अरुले उनको जीवन धान्ने बेलामा आफुले घर धान्ने अवस्था आउनु समाजको वर्तमान परिवेश र घटनाक्रमको उपज पनि कारक मानिन्छ । ‘सके गाउँघरमै, नभए देशमै सानो तिनो क्षमताका आधारमा रोजगारी भईदिएको भए युवा वर्ग विदेशिनु पर्ने अवस्था आउने थिएन, हामी जस्ता वयोवृद्धको यो हविगत हुने थिएन,’ घोराही १९ का ७८ वर्षीय मनबहादुर घर्तीको दुखका आवाज हो यो ।

पछिल्लो समय गाउँघरमा जीवनको उत्तरार्धमा पुगेका अधिकांश वृद्धवृद्धाको भरमा घर चलेको छ । ‘युवा विभिन्न कारणले घर छोड्न बाध्य भए वा रोजगारीका लागि विदेशिने क्रम नरोकिए कुनै कालखण्डमा समुदाय नै वृद्धवृद्धाको थलो बन्ने अवस्था आउन सक्ने भन्दै घोराही १४ का ९२ वर्षीय पदमबहादुर थापाको धारणा छ ।

ज्येष्ठ नागरिकको संख्या वृद्धिसँगै उनीहरुको व्यवस्थापन राम्रो नहँुदा बुढ्यौली सकसपूर्ण हुन थालेको उनि जस्तै धेरैको अनुभव छ । डाँडामाथिका घाम जस्तै भएकाहरुले उचित गास, बास, रेखदेख, औषधोपचारका लागि जीवन संघर्ष गर्नुपर्ने अवस्था आएको भन्दै भोलिको भयावह प्रति बेलैमा संवेदनशील बन्न सुझाउँछन् । अहिलेको स्थानीय सरकारले जेष्ठ नागरिकका लागि विभिन्न खालका कार्यक्रम ल्याए पनि यो घरपरिवारको माया, स्नेह सरह हुन सक्दैन ।

दिवा सेवा केन्द्रले दिनभर मन भुलाउने माध्यम बनेपनि साँझ, राति, बिहानको दैनिकी आखिर एक्लो घरमा एक्लो शरीर लिएर भारी मन बनाएर बस्नुको विकल्प नरहेको उनीहरुको भोगाई छ । घरमा बुढो रोगी शरीर लिएर एक्लै दैनिकी गुजारा गर्दाको पीडा शब्दमा भन्न सक्ने अवस्था छैन, परिवारबाट टाढिएका अधिकांश जेष्ठ नागरिकहरुले यस्तै साझा आवाज व्यक्त गर्ने गरेका छन् ।

Blog Post Ad Blog Post Ad