Ad Area

गोरखा मोडेल स्कुल लमहीले मनायो पाँचौँ वार्षिकोत्सव


लमही, १९ पुस । कक्षा १२ का व्यवस्थापनमा अध्ययनरत सन्दिप पुन र अस्मित थापाले मंगलबार विद्यालयको पाँचौँ वार्षिकोत्सवका अवसरमा प्रदर्शनीमा राख्नुभएको विद्यालयको डिजाईन गरिएको कागजको स्वरुप निकै आकर्षक थियो । आफुले अध्ययन गर्ने लमही ६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलको सबै परिसरलाई समेटेर उत्कृष्ट ढंगले डिजाईन गरेर कार्यक्रममा आएकाहरुलाई देखाईरहनुभएको थियो ।

गोरखा मोडेल सेकेन्डरी स्कुलले पाँचौं वार्षिकोत्सब, अभिभावक दिवस, तथा विज्ञान कला प्रदर्शनीमा सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत शिक्षा केसी, रेजिना आचार्य, सगुन चौधरीलगायतको टीमले बनाएको पेपर क्राफ्ट निकै राम्रा थिए । विभिन्न चित्रकलासँगै कागजबाट निर्मित बस्तु हेर्दा व्यवसायिक कलाकारले बनाएको भन्दा कम थिएन । सोही विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका विद्यार्थीले विज्ञानकलासँगै चित्रकला, सौर्यप्रणाली, वैकल्पिक उर्जाका डेमोहरुलगायत दर्जनौँ प्रदर्शनीमा राखेका थिए ।

गोर्खा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख जोखबहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सवमा विद्यार्थीहरुले आफ्ना कला पनि प्रस्तुत गरे । कार्यक्रममा नगरप्रमुख चौधरीले विद्यालय स्थापनाको छोटो समयमा अभिभावकहरुको मन जित्दै गुणस्तरीय शिक्षामा कटिवद्ध भएको विद्यालयले शैक्षिक क्षेत्रमा धेरै काम गर्न सफल भएको बताउनुभयो ।

गोर्खा ग्रुपले जिल्लामा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानका कारण अहिले थुप्रै बालबालिकाहरुले असल शिक्षा अार्जन गर्न सफल भएको बताउनुभयो । राज्यले गर्दै आएको काममा नीजि स्तरबाट शैक्षिक काममा योगदान दिने काम भईरहेको बताउँदै उहाँले अबको शिक्षा सीपसहितको दिने गरी अघि बढ्न सुझाव पनि दिनुभयो ।

शिक्षासँगै संस्कार पनि आजको आवश्यकता भएको हुँदा यसतर्फ ध्यान दिन उहाँको आग्रह थियो । अहिलेको पुस्तालाई शिक्षासँगै जिम्मेवारी र कर्तव्यबोध गराउने शिक्षा आवश्यक परेको हुँदा पालिकाले पनि यसमा विशेष चासो राखेको बताउनुभयो । ‘देशमा दक्ष जनशक्ति अभावमा प्राविधिक शिक्षाको अर्थ नहुने बताउँदै देश, परिवेश माटो सुहाउँदो सिपसहितको शिक्षामा लाग्नु अहिलेको आवश्यकता रहेको छ’ उहाँले भन्नुभयो ‘नेपालमा वैकल्पिक शिक्षाको आवश्यकता छ, यसतर्फ पनि यहाँहरुको ध्यान पुगोस भन्ने मेरो चाहना हो ।’

Blog Post Ad

साे अवसरमा लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले शैक्षिक क्षेत्रमा छोटै समयमा गोरखा स्कुलले राम्रो नतिजा लिन सफल भएको बताउनु भयो । सांसद खड्काले दाङकै नमुना विद्यालय बनेर रेकर्ड कायम राख्ने तर्फ विद्यालय परिवार लाग्नु पर्ने बताउनु भयो । सो अवसरमा विद्यालयमा प्राविधिक धारका ज्ञानलाई प्राथमिकता दिन समेत आग्रह गर्नु भएको छ । उपप्रमुख लक्ष्मी योगीले विद्यालयले शैक्षिक वातावरण सिर्जना गरि छोटो समयमा चमत्कारिक रुपमा शैक्षिक प्रगति गर्न सफल भएको बताउनुभयो । त्यस्तै लुम्बिनी प्रदेशका शिक्षा तथा निर्देशनालयका निर्देशक यमबहादुर केसीले योजनाबद्ध रूपमा शिक्षालाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । राज्यस्तरबाट भईरहेको काममा नीजि स्तरबाट सहयोगी भूमिकाले शिक्षा क्षेत्रमा सकारात्मक सुचक बन्दै गएको बताउनुभयो । गोर्खा ग्रुपका फाउन्डर तथा युके कोर्डिनेटर जंगबहादुर पुनले देशमा शैक्षिक चेतनाको जागरण फैलाउने अभियानमा गोर्खा ग्रुपले काम गरिरहेको बताउनुभयो । सिईओ नवल जिएमले शैक्षिक अभियानका बारेमा अवगत गराउनुभएको थियो ।

लागुऔषधबाट बच्ने उपायका बारेमा गोरखा आईडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त जिएमले जानकारी गराउनुभएको थियो । उहाँले बालबालिकाहरुलाई कुलतमा फस्न नदिन अभिभावक चनाखो बन्नुपर्ने बताउँदै शंका लागेमा विद्यालयमा जानकारी गराउन आग्रह गर्नुभयो । यस्तै, अहिले लागूऔषध कोही कसैले प्रयोग गरेको थाहा पाउन किट परिक्षणबाट निकै सजिलो भएको हुँदा कसैले पनि ढाँट्न, छल्न नपाउने बताउनुभयो ।

कार्यक्रममा शैक्षिक वर्ष २०७८ मा कक्षागत रुपमा उत्कृष्ट भएका कक्षा नर्सरीबाट ज्योति केसी, एलकेजीबाट समृद्धि केसी, युकेजीबाट सुभानी पोख्रेल, एकबाट विमर्श ढकाल, दुईबाट श्रीया पौडेल, तीनबाट आश्रीया खड्का, चारबाट आविष्कार पाण्डे, ओशिन चौधरी, पाँचबाट सुप्रिया जिएम, छ कक्षाबाट शिशिर गिरी, सातबाट आयुष सुवेदी, आठबाट अभिनय थारु, नौबाट विक्रान्त यादव, दशबाट असिम शर्मा, एघारमा व्यवस्थापन तर्फ विनित थापा, विज्ञान तर्फ शिष्टता शर्मा, कक्षा १२ बाट व्यवस्थापन तर्फ समिक्षा कवँर र विज्ञान तर्फ नवराज खनाललगायतलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवमा विद्यालयको शैक्षिक गतिविधिका बारेमा स्कुलका प्रिन्सिपल लोकमान रिजालले जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रिन्सिपल रिजालले विद्यालयमा हाल १ हजार ८२१ जना विद्यार्थीहरु अध्ययरत रहेको बताउनुभयो । स्थापनाकालदेखि नै विद्यालयलले शैक्षिक र खेलकुद क्षेत्रमा फड्को मार्दै आएको बताउँदै विद्यालयमा माध्यमिक शिक्षा पुरा गरेर बाहिर गएका विद्यार्थीहरुले निशुल्क छात्रवृत्ति प्राप्त गर्न सफल भएको अवगत गराउनुभयो ।

कार्यक्रममा स्थानीय कला संस्कृति झल्कने भेषभूषासहितका नृत्य, अहिलेको परिवेश झल्काउने नाटक पनि प्रस्तुत गरिएको थियो । साथै वार्षिक उत्सवको अवसर पारेर स्कुलले मुखपत्र गोरखा कोशेली पनि विमोचन गरेको छ । विद्यालयका उपाध्यक्ष डोरबहादुर जिसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षकद्वय प्रकाश वली र शिला रिजालले गर्नुभएको थियो । गोर्खा ग्रुपले दाङका ४ स्थानमा विद्यालय संचालन गर्दै ९ हजारभन्दा बढी विद्यार्थीलाई पठनपाठन गराउँदै आएको छ ।

Blog Post Ad Blog Post Ad