Ad Area

पशुपालक किसानलाई बिमा सम्बन्धि जानकारी


घोराही, २० पुस । घोराही उपमहानगरपालिका पशुसेवा शाखा घोराहीको आयोजनामा पशु खोप तथा पशु पन्छी बिमा सम्बन्धि कृषक तथा भ्याक्सिनेटर अभिकर्तालाई अभिमुखीकरण कार्यक्रम घोराहीमा भएको छ ।

पशुसेवा शाखाका प्रमुख खिमबहादुर बस्नेतले किसानलाई पशु खोपको बारेमा जानकारी गराउनुभएको थियो । पशु पंक्षीलाई रोगलाग्न नदिनका लागि खोप लगाउने र खोप लगाउदा भ्याक्सिनेटरहरुले भ्याक्सिनको मात्रा मिलाउनुपर्ने, खोप लगाउदा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनुभयो ।

पशुलाइ रोग लाग्नबाट खोपले बचाउने भएकाले सबैले समयमा खोप लगाउन आग्रह गर्नुभयो । कार्यक्रममा एनएलजी इन्स्योरेन्स घोराही शाखा प्रमुख रवि गौतमले बिमा गर्दाका फाइदाका बारेमा जानकारी गराउनुभएको थियो । बिमा गरेको पशु मृत्यु भएमा रकम दावीको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । सानीमा जिआइसि इन्स्योरेन्सका बुद्धि पोखरेलले ठुलो लगानी लगायर पशुपंक्षीपालन गरेका किसानको लागि बिमाले राहत दिने बताउनुभयो ।

घोराही उपमहानगरपालिका अर्थ बिकास समितिका संयोजक खोपीराम चौधरीले किसानले आफ्नो पशु पन्छीलाइ कसरी स्याहार गरेमा उचित लाभ सकिन्छ र बिमा गरेमा पशुको आकस्मिक हुने मृत्युबाट हुने नोक्सानीलाई बिमाले राहत मिल्ने भएकाले सबैले समयमै बिमा गरेर आफ्नो ब्यावसायको सुरक्षा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका भित्रका पशुपंक्षीपालक ४० जना किसानलाई पशुको खोप र बिमाको बारेमा जानकारी गराइएको थियो । घोराही उपमहानगरपालिकामा चार स्थानमामा खोप केन्द्र निर्धारण गरिएको छ । पशु सेवा शाखा अन्तर्गतका ४ वटा पशु सेवा केन्द्रहरु रामपुर, फचकपुर, नारायणपुर र बाम्लाले खोप केन्द्र तोकि खोप कार्यक्रम संचालन गर्ने छन । पुस २५ गते देखी एचएस एण्ड बिक्यू खोप संचालन गरिने छ । प्रथम चरणको खोप शुरु हुन थालेको पशु सेवा  शाखाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad