Ad Area

घोराही मेयरकप फुटबलमा साविक विजेता वडा नम्बर १८ र १० को विजयी शुरुवात


घोराही, २० पुस । घोराहीमा बुधबारबाट मेयरकप फुटबल शुरु भएको छ । पाँचौं मेयरकपको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १८ ले विजयी शुरुवात गरेको छ ।

घोराही १८ नवलपुर खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर १८ ले वडा नम्बर ६ लाई ४–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर १८ का समित पुनले ह्याट्रिकसहित ४ गोल गर्नुभयो भने वडा नम्बर ६ का विजय नेपालीले १ गोल फर्काउनुभयो । खेलको ४, २८ तथा पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दा दोश्रो हाफको २९ औँ मिनेटमा थप एक गोल गर्दै गोल संख्या ४ पुुर्याउनुभयो ।

उता, वडा नम्बर ६ का विजय नेपालीले दोश्रो हाफको ३ मिनेटमा गोल गर्नुभयो । जीतसँगैवडा नम्बर १८ ले ३ अंक जोडेको छ भने वडा नम्बर ६ अंकविहीन छ । यस्तै, बुधबार नै भएको दोश्रो खेलमा वडा नम्बर १० ले जीत निकालेको छ । वडा नम्बर १० ले वडा नम्बर १२ लाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलकोे पहिलो हाफमा मोनु न्यौपाने र दोश्रो हाफमा निरज पुनले गरेको गोलसँगै वडा नम्बर १० ले ३ अंक जोडेको छ ।

अब प्रतियोगिता अन्तरगत बिहीबारबाट दैनिक चार वटा खेल हुनेछन् । विहान सवा ८ बजे हुने तेश्रो खेलमा वडा नम्बर २ र १ बीच तथा बिहान पौने १० बजे हुने चौथो खेलमा वडा नम्बर ११ र १४ बीच खेल हुने भएको छ । यसैगरी, दिउँसो १ बजेबाट हुने पाँचौँ खेलमा वडा नम्बर ८ र ९ तथा दिउँसो पौने ३ बजे हुने छैठौँ खेलमा वडा नम्बर ५ र ७ बीच खेल हुने घोराही उपमहानगरपालिकाले जनाएको छ ।

लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । चार समुहमा विभाजन गरिएको खेलमा समुह ए मा वडा नम्बर १२, १०, ८, ९ र १६ रहेका छन् भने समुह बी मा वडा नम्बर ५, ७, १, ६ र १७ रहेका छन् । यसैगरी, समुह सी मा वडा नम्बर २, १, ३, १९ र १३ रहेका छन भने समुह डी मा वडा नम्बर १४, ११, २ र १५ रहेका छन् ।

लिग चरणका सबै खेल बिहान २ वटा र दिउँसो २ वटा खेलाउने गरी तालिका बनाईएको छ । लिग चरणको खेल पुस २९ गतेसम्म हुनेछ । क्वाटर फाईनल पुस २९ र ३० गते हुनेछ भने सेमिफाईनल माघ ४ गते तथा फाईनल खेल माघ पाँच गते हुने भएको घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।

Blog Post Ad

खेल क्षेत्रको विकास तथा खेलाडी उत्पादनका लागि स्थानीय सरकारले संचालन गर्दै आएको प्रतियोगितामा पालिकाभरबाट सहभागीता रहेको छ । गत वर्ष भने कोरोनाका कारण खेल हुन सकेको थिएन । प्रतियोगिताको उदघाटन नगरप्रमुख नरुलाल चौधरीले गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad