Ad Area

प्रदेश स्तरीय महिला टी–२० क्रिकेट छनौटमा दाङ र रुपन्देहीको विजयी शुरुवात


घोराही, २३ पुस । प्रधानमन्त्री लुम्बिनी प्रदेश स्तरीय महिला टी–२० क्रिकेट छनौट प्रतियोगितामा दाङ र रुपन्देहीले विजयी शुरुवात गरेका छन् । घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबारबाट शुरु भएको छनौट प्रतियोगितामा दाङले बाँकेलाई १० विकेटले तथा रुपन्देहीले नवल परासीलाई ८४ रनले पराजित गर्दै विजयी शुरुवात गरेका छन् ।

९९ रनको लक्ष्य पूरा गर्न सरस्वती घर्तीको कप्तानीमा उत्रिएको दाङले १० दशमलव ४ ओभरमा बिना विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्न सफल भएको छ । दाङलाई सहजै जीत दिलाउन लक्ष्मी चौधरी र कमला जिएमले उत्कृष्ट पारी खेल्नुभयो । लक्ष्मीले ४३ बलमा ६ चौकाको मद्दतमा ४७ र कमलाले ३१ बलमा ३ चौकाको मद्दतमा २९ रन बनाउँदै टीमलाई सहज जीत दिलाउनुभयो । बाँकेले २४ रन अतिरिक्त खर्चेको थियो ।

उदघाटन खेलमा बाँकेले टस जितेर ब्याटिङ रोजेपछि मैदानमा लय समात्न नसक्दा शुरुवातबाटै दबावमा परेको थियो । शुरुवातबाटै दबावमा परेको बाँकेले १९ दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । दाङकी ओपनिङ बलर कमला जिएमको पहिलो बलमै बोल्ड आउट हुँदै बाँकेकी कप्तान गीता गोसाई पेभेलियन फर्केपछि खेलमा दवाब बढेको थियो ।

पिचको फाईदा उठाउँदै दंगाली टीमले उत्कृष्ट बलिङ गरेपछि त्यसपछिका ब्याटरले दोहोरो रन बनाउन संघर्ष गर्नुपर्यो । बाँकेका लागि सुस्मिता बजगाईले दुई उत्कृष्ट चौका प्रहार गर्दै रन जोड्न कोशिस गरेपनि मधु डिसीको बलमा बोल्ड हुँदै १५ रन बनाएर क्रिज छाड्न पर्यो । त्यसपछि मैदानमा आउनुभएकी चमेली चौधरीले बाँकेको पारी उकास्दै खेललाई प्रतिष्पर्धात्मक बनाउन प्रयास गरेपनि मधु डिसीको बलमा २२ रन बनाउँदै बोल्ड आउन हुनुभयो ।

बाँकेका लागि एलिना बर्माले १, जिज्ञासा थापा र शोभा शाहीले ८–८, मनिषा रानाले ४, ज्योतिपुन मगरले १ तथा गायत्री कश्यपले अभिजित १७ रन बनाउनुभयो । बाँकेलाई कम रनमा रोक्न दाङकी कमला जिएम र सर्मिला रोकाले समान २–२ विकेट लिनुभयो भने मधु डिसीले ३ र लक्ष्मी चौधरीले १ विकेट लिनुभयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दाङकी लक्ष्मी चौधरी प्लेयर अफ द म्याच हुनुभयो ।

यसैगरी, शनिबार भएको दोश्रो खेलमा रुपन्देहीले नवलपरासीलाई सहजै हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको रुपेन्देहीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । रुपन्देहीका लागि बिवाष्ना बिसीले सर्वाधिक ३८ रन बनाउँदा आश्मा पुलामी मगरले १७, श्रती बुढाथोकीले १६, कृतिका मरासिनीले १५, सुस्मिता भुसालले ५ तथा कृति सेनले ३ रनको योगदान दिनुभयो । एघारौँ ओभरमा पहिलो विकेट गुमाएको रुपन्देहीले ५२ रन अतिरिक्त पाउँदा योगफल उच्च बन्न पुगेको थियो । नवलपरासीका लागि सरस्वती पुनले २, प्रियंका भण्डारीले १ विकेट लिनुभयो ।

१ सय ५६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नवलपरासीले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमात्रै बनायो । नवलपरासीका लागि सरस्वती पुनले ३३ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त हुन सकेन । शीतल भण्डारीले ११, उषा अर्यालले ७, साक्षी भण्डारीले ४, बन्दना जैसवालले २ तथा बन्दना विश्वकर्माले १ रन बनाउनु बाहेक अरु खेलाडीले रन बनाउन नसक्दा नवलपरासीले ८४ रनको हार व्यहोर्यो ।

नवलपरासीलाई सस्तैमा समेट्न रुपन्देहीकी बिवाष्ना बिसीले ४ विकेट लिँदा कृतिका मरासिनी र सरु तिवारीले समान २–२ विकेट तथा सुस्मिता भुसालले १ विकेट लिनुभयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बिवाष्ना बिसी प्लेयर अफ द म्याच हुनुभयो । अब आईतबार हुने पहिलो खेलमा दाङ र नवलपरासी तथा दोश्रो खेलमा बाँके र रुपन्देहीबीच खेल हुनेछ ।

प्रतियोगिता २६ गतेसम्म हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, नवलपरासीको टिमले प्रतिष्पर्धा गरिरहेका दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजँगैयाले जानकारी दिनुभयो । प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिताका लागि प्रदेशस्तीरय छनोट प्रतियोगितामा प्रदेशका चार जिल्लाका खेलाडीहरु सहभागी भएको नेपाल क्रिकेट संघका लुम्विनी प्रदेश सदस्य एवं छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले यहि पुसको २९ गतेदेखि इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी प्रदेशको प्रतिनिधित्व गरेर सहभागी हुने दाङ क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो ।

लुम्विनी प्रदेशमा १२ जिल्ला भएपनि नेपाल क्रिकेट संघद्वारा महिला क्रिकेट खेलका लागि मान्यता प्राप्त चार जिल्ला मात्रै भएकाले प्रतियोगितामा चार जिल्लाका खेलाडीहरुले सहभागीता जनाएको आयोजकले जनाएको छ । पुरुष क्रिकेटमा पनि लुम्बिनी प्रदेशका ७ जिल्लाले भाग लिँदै आएका छन् ।