Ad Area

लुम्विनी प्रदेशस्तरीय महिला क्रिकेटको उपाधि रुपन्देहीलाई, दाङ ७ रनले पराजित


घोराही, २६ पुस । प्रंधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट छनौट प्रतियोगिता अन्तरगतको फाईनल खेलमा दाङ ७ रनले पराजित भएको छ । दाङको घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा पुस २३ गतेदेखि आजसम्म भएको छनौट प्रतियोगितामा गत वर्षको विजेत रुपन्देहीले यो पटक पनि दाङलाई फाईनलमा ७ रनले हराउन सफल भएको छ ।

९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको दाङले विकेट पतन रोक्न नसक्दा हार ब्यहोर्न पुग्यो । दाङका लागि शुरुवाती ब्याटर लक्ष्मी चौधरीले रनको आशा जगाउँदै ५ बलमा १० रन बनाएर खेलिरहेका बेला विभाष्ना बिसीको बलमा क्याच आउट भएपछि दाङले लय समात्न सकेन ।

कप्तान सरस्वती जिएमले ५२ बल खेल्दै अविजित २३ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन । कमला जिएमले १२ बलमा ६, मधु डिसीले १३ बलमा १३, अनिता चौधरीले २० बलमा १५, प्रभा चौधरीले ७ बलमा ३ तथा अमृता अधिकारी र आशा चौधरीले १–१ रन बनाएपनि अरु खेलाडीले खाता नै खोल्न सकेनन् । ७२ रन ब्याटबाट बनाएको दाङले १५ रन अतिरिक्त पाउँदै ८७ रनमा समेटिएपछि रुपन्देहीले यो पटक पनि फाईनल जितेको हो ।

रुपन्देहीकी कप्तान कृतिका मरासिनीको कसिलो बलिङ सामु दाङको टीम धरासयी बन्यो । छनौट प्रतियोगितामा मरासिनीले उत्कृष्ट प्रदर्शन गर्नुुभएको थियो । आजको खेलमा पनि चार ओभरमा २ मेडन राख्दै जम्मा ६ रन दिएर महत्वपूर्ण चार विकेट लिएपछि दाङले फाईनलमा हार व्यहोरेको हो । यस्तै, विभाष्ना बिसीले चार ओभरमा १५ रन दिएर २ विकेट लिँदा सरु तिवारीले पनि पुरै स्पेल गरेर १७ रन दिएर १ विकेट लिनुभयो । सुस्मिता भुसाल र कविता खड्का विकेटविहीन हुँदै क्रमशः २५ र १९ रन दिनुभयो ।

यसअघि टसजितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले पुरै ओभर खेल्दै ६ विकोटको क्षतिमा ९४ रन बनाएको थियो । रुपन्देहीका ओपनर श्रुति बुढाथोकी र विभाष्ना बिसीले २० रन बनाउदै खेलि रहेका बेला अनिता चौधरीले आफ्नो पहिलो ओभरको चौथो बलमा श्रुतिलाई क्याच आउट गराएपछि सात दशमलव ४ ओभरमा रुपन्देहीले पहिलो विकेट गुमाएको थियो ।रुपन्देहीका लागि विभाष्ना बिसीले ३३ बलमा खेल्दै सर्वाधिक २५ रन बनाउनुभयो । श्रुतिले ३४ बलमा १० रन बनाउँदा कृति सेनले १० बलमा ५ रनको योगदान दिनुभयो ।

Blog Post Ad

यसैगरी, आशा मगरले १७ बलमा १५ रन बनाउँदा कप्तान कृतिका मरासिनीले १४ बलमा ११ रन, सरु तिवारीले ४ बलमा २ रन बनाउनुभयो । सुस्मिता भुसालले ६ बलमा अविजित १ रन बनाउनुभयो । रुपन्देहीले १८ रन अतिरिक्त पाएको थियो भने ब्याटबाट ७६ रन बनाउँदै ९४ रनको योगफल बनाएको हो । बलिङतर्फ दाङकी अनिता चौधरीले ४ ओभरमा २१ रन दिँदै महत्त्वपूर्ण ३ विकेट लिनुभयो भने कमला जिएमले ४ ओभरमा १५ रन दिएर २ विकेट लिँदा लक्ष्मी चौधरीले ३ ओभरमा १८ रन दिँदै १ विकेट लिनुभयो ।

दाङकी सर्मिला रोका र मधु डिसीले १ –१ मेडन राख्दै ११ र २० रन दिँदा विकेट विहीन रहनुभयो । फाईनलमा उत्कृष्ट प्रदर्शन गर्नुहुने रुपन्देहीकी कप्तान कृतिका मरासिनी प्लेयर अफ द म्याच हुनुभयो ।

छनौट प्रतियोगितामा फाईनल जितेको रुपन्देहीले ट्रफी उचालेको छ भने गत वर्षपनि फाईनलमा हार व्यहोरेको दाङले बदला लिने मौका गुमाएको छ । प्रतियोगिताको समापन समारोहमा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले खेलाडीलाई ट्रफी वितरण गर्नुभयो । समापन समारोह दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा दाङ, बाँके, रुपन्देही र नवलपरासी गरी चार वटा जिल्लाको सहभागीता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनौट गरी यही पुस २९ गतेबाट ईटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराईने नेपाल क्रिकेट संघका लुम्विनी प्रदेश सदस्य एवं छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशबाट १४ जना खेलाडी, प्रशिक्षक र टीम व्यवस्थापक तथा चार जना वैकल्पिक खेलाडी छनौट हुनेछन् । उक्त प्रतियोगितामा विभागीय टीम एपीएफसहित सात वटै प्रदेशको सहभागीता रहनेछ ।

Blog Post Ad Blog Post Ad