Ad Area

बाह्रकुने दहमा सभ्य र व्यवस्थीत रुपमा भव्य मेला लगाउने तयारीमा छौ: अध्यक्ष घर्ती


बाह्रकुने दह जिल्लाको धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध छ । ५५.६५ हेक्टर क्षेत्रफलमा फैलिएको बराह क्षेत्रमा अवस्थित बाह्रकुने दहका छेउमा कान्छा बराह थान रहेको छ । प्राचीन कालदेखि नै स्वच्छ र शुद्ध मनले कान्छा बराह धानमा भाकल गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ । त्यही जनविश्वासका कारण बराह मन्दिरमा पूजापाठ, भाकल गर्ने तथा भाकल पूरा भएका मानिसहरुले भेडा तथा कुखुराहरुको बलि दिने प्रचलन रहिआएको छ ।

बराह स्थानमा वार्षिक रुपमा करिब ४ हजारको हराहारीमा बलि दिने गरिएको समितिले जनाएको छ । त्यसमा पनि विशेष गरी बलि दिने माघेसंक्रान्तिको अवसरमा धेरै हुन्छ । पहिले सानो प्राकृतिक पोखरी र मन्दिर मात्रै रहेको उक्त स्थानमा २०५४ सालमा पहिलो पटक बराह क्षेत्र संरक्षण तथा सम्बद्र्धन धार्मिक समिति गठन भएपछि उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका कामहरु हुँदै आएको पाइन्छ ।

विगतका दुई वर्ष कोरोना भाइरसको त्रासका कारण खुल्ला रुपमा मानिस हिडडुल गर्न नसक्दा पूजापाठ तथा मेला अवलोकन गर्ने दर्शकको संख्यामा कमी भएपनि यसबर्ष त्रास नभएका कारण करिब १ लाख ५० हजार बढी पूजापाठ तथा अवलोकन गर्ने समितिले अनुमान गरेको छ । यसै सन्दर्भमा माघेसंक्रान्तिमा लाग्ने मेला र पूजापाठ व्यवस्थापनका लागि कसरी काम भइरहेको छ ? बाह्रकुने दहको विकासका लागि हुँदै गरेको काम किन रोकिएको छ ? दहको समग्र विकासका लागि समितिले थप के गर्ने योजना बनाएको छलगायतका विषयमा बराह क्षेत्र संरक्षण तथा सम्बद्र्धन धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीसँग पत्रकार लिलाधर वलीले गरेको अन्तर्वार्ताको सार संक्षेप ।

माघेसंक्रान्तिको अवसरमा बाह्रकुने दहमा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ, यस वर्ष मन्दिरमा पूजापाठ तथा मेला व्यवस्थापनका लागि कसरी तयारी गरिरहनुभएको छ ?

माघेसंक्रान्ति नजिकिएसँगै जिल्लाकै प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्रका रूपमा रहेको बाह्रकुने दहमा पनि चहलपह बढेको छ । त्यसैले हामीले मन्दिर क्षेत्रमा सरसफाई गर्नेदेखि मन्दिरमा रँगरोगन, रातको समयमा उज्यालोका लागि बत्ती जडानदेखि मन्दिर अगाडिको पोखरीमा बच्चाहरू खस्ने जोखिम रहेकाले रेलिङ बनाउने काम गरिसकेका छौँ । माघेसंक्रान्ति मात्र होइन, पुस महिनाबाट नै बाह्रकुनेमा तीर्थालु भक्तजनहरूले भेडा र कुखुराको बलि चढाउनेहरूको पनि उत्तिकै भीड लाग्ने गर्दछ । बाह्रकुनेका बराह देवता मगर जातिको मात्र नभएर अन्य जातिहरूको पनि पुजनीय देवता हुन् ।

बाह्रकुने कान्छा बराह थानमा पूजापाठ गर्ने, भेडा र कुखुराको मात्र बलि चढाउने प्रचलन छ । यसैगरी बराह धाममा पूजापाठ तथा मेला अवलोकनका लागि आउने दर्शनार्थीको सहजताका लागि विभिन्न समिति बनाएर तयारीलाई अन्तिम अवस्थामा पु¥याएका छौँ । समितिले आफ्नो जिम्मेवारीअनुसार व्यवस्थापन र समन्वयको काम गरिरहनुभएको छ । मेलामा हुने भिडभाडका लागि सुरक्षा, प्रवेश र बाहिर निस्कन सहजताका लागि यातायात, खानेपानी, दुर्घटना हुँदा प्राथमिक उपचारलगायत मन्दिरमा भिडभाड हुन नदिनका लागि स्वयम्सेवक परिचालनका लागि व्यवस्थापनलगायतका काम गरिरहेका छौँ । अबको दुई दिनमा बाँकी काम सबै सक्ने तयारीमा छौँ । मााघे संक्रान्तिको अवसरमा बाह्रकुने दहमा ालाग्ने मेलालाई सभ्य र व्यवस्थीत रुपमा भव्य मेला बनाउने तयारीमा जुटेका छौ ।

Blog Post Ad

माघीका रूपमा विशेष कार्यक्रम पनि बनाउनुभएको छ ?

त्यस्तो विशेष कार्यक्रमहरू छैनन् । माघेसंक्रान्तिका दिन नियमित रूपमा हुँदै आएको पूजापाठ र मेला नै हो । विगतमा केही वर्ष राष्ट्रिय स्तरका कलाकार ल्याउने कार्यक्रम पनि हुने गरेका थिए तर यस वर्ष त्यसरी कुनै कार्यक्रम तय भएका छैनन् । माघीको अवसरमा जिल्लाका विभिन्न ठाउँदेखि रोल्पा जिल्लासँगै छिमेकी देश भारतबाट समेत तीर्थालु तथा पर्यटकहरू आउने गर्दा मेलामा भीडभाड हुने गर्दछ । त्यसका लागि यस वर्ष मैदानलाई समेत चौडा बनाउने काम गरेका छौँ । त्यससँगै माघेसंक्रान्तिको अवसरमा मनोरञ्जनका लागि पोखरीका ढुङ्गा, भजनटोलीलगायत बालबालिकाका लागि खेलाउने सामग्री भने नियमित रूपमै हुनेछन् ।

बाह्रकुने दहको धार्मिक एवम् ऐतिहासिक विशेषता के हो ?

माघेसंक्रान्ति मात्र होइन, पुस महिनाबाट नै बाह्रकुनेमा तीर्थालु भक्तजनले भेडा र कुखुराको बलि चढाउनका लागि उत्तिकै भिड लाग्ने गर्दछ । बाह्रकुनेका बराह देवता मगर जातिको मात्र नभएर अन्य जातिको पनि पुजनीय देवता हुन् । बाह्रकुने बराह मन्दिरमा भेडा र कुखुराको मात्र बलि चढाउने प्रचलन छ । माघेसंक्रान्तिको दिन भाकल चढाउनेहरूको अन्य दिनभन्दा भिड रहन्छ । मगर समुदायका कूलदेवता बराहको थान रहेको छ । यो १२ बराह भाइमध्यका कान्छा बराह हुन् । यहाँ स्वच्छ मनले भाकल गरे पूरा हुन्छ भन्ने जनविश्वास रही आएको छ । त्यही आस्थाका कारण बर्सेनी हजारौँको संख्यामा भक्तजन तथा दर्शनार्थी आउने र पूजापाठ गर्ने, भेडा र कुखुराको बलि दिने प्रचलन रही आएको छ ।

बाह्रकुने दहको थप आकर्षणका लागि के गर्न आवश्यक देख्नुहुन्छ ?

बाह्रकुने दह जिल्लाकै धार्मिक एवम् ऐतिहासिक क्षेत्र हो । करिब ६ बिगाह क्षेत्रमा फैलिएको छ । कुनै बेला सानो पोखरी र मन्दिर मात्रै रहेको यो ठाउँमा पछिल्लो समय धेरै विकास निर्माणका कामहरू भएका छन् । केही महत्वपूर्ण कामहरू रोकिएका छन् । रोकिएका कामहरूलाई सबैको सहमतिमा अघि बढाउन आवश्यक छ । त्यससँगै दहमा आउने भक्तजन तथा पर्यटकलाई समय बिताउनका लागि यही क्षेत्रभित्र आकर्षक पार्क बनाउन आवश्यक छ । मन्दिर दर्शनसँगै केही समय बिताउँछु भन्नेका लागि उपयुक्त बस्ने ठाउँ पनि होस् भन्ने हो । त्यसका लागि बाह्रकुने दहलाई अन्य यस क्षेत्रका पर्यटकीय क्षेत्रहरूसँग पनि जोडेर विकास गर्न सकिन्छ ।

बाह्रकुने दहलाई पर्यटन प्रबद्र्धन गर्नका लागि डिपिआर पनि बनेर काम पनि सुरु भएको थियो तर त्यो रोकिएको छ । प्रदेश सरकारले तत्कालीन समयमा जिल्ला वन कार्यालयबाट निर्माण गर्न लागेको गुरुयोजनाअनुसार बाह्रकुने दहमा सुन्दर पार्क, ठाउँ–ठाउँमा पिक्निक स्पोर्ट, दहदेखि ज्यामिरेसम्म पैदल यात्राको लागि सिँढी, रेलिङ निर्माणको कामलाई पूरासँगै र थप चौतारा पनि निर्माण गर्न आवश्यक छ । त्यसँगै थप आकर्षणका लागि विभिन्न प्रकारका पूmलका विरूवाहरू रोप्न सकिन्छ । मैले मेरो कार्यकालमा जिल्लाकै प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि जग बसाल्ने काम गर्नका लागि पहल गरिरहेको छु ।

बाह्रकुने दहलाई पर्यटन प्रबद्र्धन गर्न गुरुयोजना बनाउने कुरा थियो, कहाँ पुग्यो त्यो काम ?

गुरुयोजनाअनुसार डिपिआर बनाएर बराह क्षेत्रको जिकासको काम सुरु भएको थियो तर डिपिआर बनाउँदा केही कमजोरी भएका कारण समिति र यस क्षेत्रका मानिसको असमति हुँदा काम रोकिएको छ । त्यो काममा सहमति जुटाएर मन्दिरलाई यथास्थानमा राखेर बाँकी कामलाई अघि बढाउनका लागि हामीले पहल गर्नेछौँ ।

डिपिआर बनाएर निर्माणका काम भएका छन् । नयाँ ठाउँमा मोर्डन पार्क, गेट, टिकट घर, मन्दिरका लागि जग्गा तारबार गर्ने काम भएका छन् तर डिपिआरअनुसार मुख्य मन्दिर र नयाँ पोखरी निर्माणका सम्बन्धमा असहमत छ । अहिलेको मन्दिर यथावत राख्दै मन्दिरदेखि दक्षिणतिर नयाँ ठाउँमा पोखरी निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग छ । पुरानालाई यथावत राखेर नयाँ थप संरचना या आकर्षणका काम गर्न सकिन्छ ।

बाह्रकुने र ज्यामिरे दहलाई जोडेरसँगै विकासको काम गर्ने भन्ने थियो नि, त्यो कसरी अघि बढ्यो ?

धार्मिक एवम् पर्यटकीय क्षेत्र बाह्रकुने दह र सीमसार क्षेत्रका रूपमा परिचित ज्यामिरे दहलाई जोड्ने काम भएको छ । यसका लागि थप काम गर्न सकिन्छ । बाह्रकुने दहमा आउने वा यो बाटो भएर धेरै भक्तजन तथा पर्यटकहरू ज्यामिरे दहसम्म पुग्ने गर्नुहुन्छ । त्यसका लागि प्रदेश सरकारले करिब १५ लाख रूपैयाँ खर्च गरेर दहदेखि ज्यामिरे दहसम्म रेलिङसहितको सिँढी निर्माण गरेको छ । जंगलको बीचमा ठूलो पोखरीमा डुङ्गामा शयर गर्न सकिने भएकाले पनि धेरै मानिस ज्यामिरे जाने गर्नुहुन्छ । प्रचारप्रसारसँगै थप पूर्वाधारहरू निर्माण गर्नसके अझै आन्तरिक तथा बाह्य पर्यटकहरू बढाउन सकिन्छ । त्यसले यस क्षेत्रको बिकासका लागि सहयोग पु¥याएको छ ।

अन्त्यमा केही भन्नु छ ?

अहिले हामी सबैको ध्यान माघेसंक्रान्तिको अवसरमा बाह्रकुने दह स्थित मन्दिरमा हुने पूजापाठ र मेलालाई व्यवस्थापन गर्नतर्फ छ । त्यसैका लागि मन्दिर क्षेत्रमा सजावटदेखि सुरक्षा, व्यवस्थापनलगायतका काम भइरहेका छन् । मेलाका सन्दर्भमा मेलाको व्यवस्थापन, आगामी योजनासँगै माघेसंक्रान्तिको अवसरमा कुरा राख्ने अबसर दिएकोमा धन्यवाद दिन्छु । माघेसंक्रान्तिको अवसरमा बाह्रकुने दहमा लाग्ने मेला र बराहबाबाको दर्शन गर्न सबै भक्तजनमा पाल्नुहुन सादर अनुरोध पनि गर्दछु ।

Blog Post Ad Blog Post Ad