Ad Area

घोराहीमा जारी मेयर कप फुटबलको लिग समीकरण पूरा


घोराही, २९ पुस । घोराहीमा जारी पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता अन्तरगत लिग चरणका खेल सम्पन्न भएको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार वडा नम्बर १८ ले वडा नम्बर ७ लाई ८–२ गोल अन्तरले पराजित गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा शुक्रबार भएको खेलमा वडा नम्बर १८ का समित पुन गोरेले ह्याट्रिकसहित चार गोल, सोम रावतले ३ र राजकुमार रोकाले १ गोल गर्नुभयो । यस्तै, वडा नम्बर ७ का लागि नवीन चौधरी र सुशील चौधरीले १–१ गोल गर्नुभयो ।

जारी प्रतियोगितामा वडा नम्बर १८ का समित पुन गोरेले सर्वाधिक ११ गोल गर्दै पहिलो नम्बरमा हुनुहुन्छ । यसैगरी, शुक्रबार बिहान भएको खेलमा वडा नम्बर ८ र १६ ले २–२ को बराबरी खेलेका छन् । वडा नम्बर ८ का लागि निरज चौधरी र थमन चौधरीले १–१ गोल गर्दा वडा नम्बर १६ का लागि सम्राट परियार र मनिष ठकुरीले १–१ गोल गर्नुभयो । दिउँसोको खेलमा भने वडा नम्बर १ ले वडा नम्बर १३ लाई वाक ओभर दिएको थियो ।

पुस २० गतेबाट शुरुभएको लिग चरणको समीकरण दशौँ दिनमा पूरा भएको छ । जारी प्रतियोगिताबाट ११ वटा वडा बाहिरिएका छन् भने ८ वटा वडा क्वाटर फाईनलमा प्रवेश गरेका छन् । जस अनुसार, लिग चरणमा समूह ए बाट वडा नम्बर १० को टीम १० अंकसहित समुह विजेता बनेको छ भने वडा नम्बर १२ को टीम ९ अंकका साथ उपविजेता बनेको छ ।

यस्तै, समह बी बाट वडा नम्बर १८ को टीम १० अंकका साथ समुह विजेता बनेको छ भने वडा नम्बर ६ को टीम ९ अंकका साथ उपविजेता बनेको छ । समूह सी बाट वडा नम्बर १३ को टीम १२ अंकका साथ समुह विजेता बनेको छ भने वडा नम्बर २ को टीम ९ अंकका साथ समुह उपविजेता बनेको छ । यसैगरी समूह डी बाट वडा नम्बर १५ को टीम ९ अंकका साथ वडा नम्बर १४ को टीम ६ अंकका साथ उपविजेता बनेको छ ।

मेयर कप प्रतियोगिता समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेका अनुसार, अब शनिबार पहिलो चरणको क्वाटर फाईनलको खेल हुने भएको छ । शनिबार बिहान समुह ए को बिजेता वडा नम्बर १० र समुह सी को उपविजेता वडा नम्बर २ बीच पहिलो क्वाटर फाईनल हुनेछ । यस्तै, दिउँसो समुह डी को उपविजेता वडा नम्बर १४ र समुह बी को विजेता वडा नम्बर १८ बिच खेल हुनेछ ।

Blog Post Ad

क्वाटर फाईनलको दोश्रो चरणको खेल भने माघ ३ गते हुने भएको छ । माघ ३ गते विहान समुह ए को उपविजेता वडा नम्बर १२ र समुह सी को विजेता वडा नम्बर १३ बीच खेल हुनेछ । यस्तै, सोही दिन दिउँसो समुह डी को विजेता वडा नम्बर १५ र समुह बी को उपविजता वडा नम्बर ६ बिच क्वाटर फाईनल खेल हुनेछ ।

प्रतियोगिताको सेमिफाईनल माघ ४ गते र फाईनल खेल माघ ५ गते हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म वडा नम्बर १८ का समित पुन मगर गोरेले चार खेल खेल्दै ११ गोल, वडा नम्बर १४ का बिरेन्द्र बिकले ९ गोल र वडा नम्बर १५ का सुशील बानियाँले ३ खेलबाट ७ गोल गरिसक्नुभएको छ । यी तीन वटै खेलाडीको आगामी खेल रहेकाले गोल संख्या बढ्न सक्नेछ ।

Blog Post Ad Blog Post Ad