Ad Area

जिल्ला सहकारी संघ लिमिटेड दाङको ३० औँ वार्षिक साधारणसभा सम्पन्न


घोराही, २९ पुस ।  जिल्ला सहकारी संघ लिमिटेड दाङको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका जिल्ला अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षता तथा सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्रमुख विनोद पौडेलको प्रमुख आतिथ्यमा शुक्रबार साधारणसभा भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी संस्थाबीच समन्वय र सहकार्य गर्दै उत्पादनमा आधारित संस्था बनाउन अपिल गर्नुभएको छ ।संस्थाले सहकारीको सुशासनमा ध्यान दिन सहकारीको सिद्धान्तलाई ध्यानमा राखेर सहकारी अभियानलाई सफल बनाउन उनीहरुको अपिल थियो । सो अवसरमा, प्रमुख अतिथि पौडेलले सहकारीका माध्यमबाट व्यावसायिक उद्यमशीलता र कृषि उत्पादनमा जोड दिन अपिल गर्नुभयो ।

देशको हावापानी, माटो कृषिको प्रसस्त सम्भावना भएको र सहकारीमा आवद्ध सदस्य पनि कृषिमा जोडिएको हुँदा कृषिमा आधारित नमुना काम गरेर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न अपिल गर्नुभयो ।

आर्थिक उन्नयनका लागि सहकार्यको माध्यमबाट काम गर्न सिकाउने काम सहकारीले गरिरहेको भएपनि सहकारी भित्र अहिले देखा परेका बेथितिले सहकारी प्रति नागरिकको विश्वास डगमगाउने काम भईरहेको हुँदा सहकारीमा नागरिकको विश्वास जगाउने काममा ध्यान दिन अपिल गर्नुभयो ।

कार्यक्रममा साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिप्रसाद भुसाल र सांगठनिक प्रतिवेदन सचिव शुक्र भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको छ । यसैगरी, संस्थाको वार्षिक प्रतिवेदन र आगामि नीति तथा कार्यक्रम अध्यक्ष गोविन्दप्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो ।

लेखा सुपरिवेक्षण समिति संयोजक हेमराज गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला सहकारीको आर्थिक वर्ष २०७८(०७९ मा ६ लाख ७४ हजार २ सय ९९ रुपैयाँ आम्दानी भएकोमा ४ लाख ३८ हजार ५ सय ६१ रुपैयाँ खर्च भएको छ ।

हाल ४ सय २२ सहकारी सदस्य जिल्ला सहकारी संघमा आवद्ध छन् । जसमा १ सय ५३ वचत तथा ऋण, १ सय ८९ कृषि, १३ उपभोक्ता, २७ बहुउद्देश्यीय, ५ विद्युत, १३ सामाजिक उद्यमी र अन्य प्रकृतिका १८ तथा विषयगत संघ ४ वटा सहकारी संघसंस्था आवद्ध छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक घोराही शाखा प्रमुख डिल्लीराज दाहाल, रुपबहादुर खत्री, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच, सहकारी अभियानमा योगदान पुर्याउने नमस्ते बबई वचत तथा ऋण सहकारी संस्था, संघका पूर्व सल्लाहकार डिल्लीबहादुर खड्का, घोराही उपमहानगरपालिकाकि उपप्रमुख हुमा डिसीलाई सम्मान गरिएको छ । संघका उपाध्यक्ष अन्जन कुमार पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शुक्र भण्डारीले गर्नुभएको थियो ।