Ad Area

माघे संक्रान्तिलाई तरुल र सखरखण्ड


दाङ, १ माघ । माघेसंक्रान्तिमा तरुल तथा सखरखण्ड खानु अनिवार्य जस्तै बनेपछि जिल्लामा यस वर्ष तरुल र सखरखण्डको राम्रो व्यापार भएको छ । घोराही उपमहानगरपालिका–१४ स्थित विगत दश वर्षदेखि तरकारी व्यवसाय गर्दै आएकी तुलसी घर्तीले माघको २÷३ दिन पहिलेदेखि नै तरुल र सखरखण्डको विक्री भइरहेकोे बताइन् । उनले तरकारी किन्न आउने अधिकांश मानिस माघीका अवसरमा तरुल तथा सखरखण्ड किन्ने गरेको समेत बताइन् ।

माघेसंक्रान्तिमा तरुल तथा सखरखण्ड खाने विशेष महत्व हुने भएकाले राम्रो विक्री हुने गरेको व्यवसायी घर्तीले बताइन् । ‘माघेसंक्रान्तिमा तरुल तथा सखरखण्ड खानुपर्छ भन्ने मान्यताका कारण होला, राम्रो विक्री भएको छ’, उनले भनिन्, ‘अन्य समयमा विक्री नभए पनि माघीको अवसरमा राम्रो छ ।’ व्यवसायी घर्तीकाअनुसार तरुल र सखरखण्ड प्रतिकेजी १ सय रूपैयाँदेखि १५० सय रूपैयाँसम्म विक्री हुने गरेको छ । घर्तीको पसलमा मात्रै होइन माघेसंक्रान्तिको अवसरमा घोराही उपमहानगरपालिका–१४ र वडा नं. १५ मा रहेको कृषि उपज केन्द्र (तरकारी बजार) बाट समेत तरुल तथा सखरखण्ड राम्रो विक्री भएको व्यवसायीहरूले बताएका छन् ।

माघेसंक्रान्तिमा तरुल तथा सखरखण्डको विशेष महत्व हुने भएका कारण माघीका अन्य समयको तुलनामा तरुल तथा सखरखण्ड राम्रो विक्री हुनेगरेको अर्का व्यवसायी गीता रावतले बताएकी छिन् । उनले माघीका तरकारीका तुलनामा तरुल तथा खसरखण्डको व्यापार भएको समेत बताइन् । ‘माघीको अवसरमा तरकारीका तुलनामा तरुल तथा सखरखण्डको व्यापार राम्रो देखिएको छ’, उनले भनिन्, ‘विगतका वर्षहरूमा भन्दा यस वर्ष तरुल तथा सखरखण्ड खोज्ने मानिस पसलमा बढी आएका छन् ।’ पहिला तरुल तथा सखरखण्डको माग यतिधेरै नभए पनि माघेसंक्रान्तिको अवसरमा बजारमा तरुलको माग बढेको उनले बताइन् ।

तरुल तथा सखरखण्डको व्यापार राम्रो भएपछि व्यवसायी समेत उत्साहित बनेका छन् । जमिनमुनि फल्ने फल भएकाले तरुलमा कुनै विषादी हुँदैन । यसमा रोग तथा किराको आक्रमण समेत नहुने हुँदा खानका लागि उपयुक्त हुने बताइन्छ । तरुल तथा सखरखण्ड उसिनेर, आगोमा पोलेर तथा तरकारीका रूपमा खाने प्रचलन छ । माघेसंक्रान्तिको अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन रही आएको छ । जिल्लाका विभिन्न क्षेत्र स्थित जंगल तथा जिल्ला बाहिरबाट समेत तरुल तथा सखरखण्ड माघेसंक्रान्तिका लागि आएको व्यवसायीहरू बताउँछन् । सरकारी मण्डीका व्यवसायीहरूले भारतबाट समेत तरुल तथा सखरखण्ड ल्याएर विक्री गर्ने गरेको व्यवसायीले बताएका छन् ।

जिल्लाका गाउँघरमा उत्पादन भएका तरुल तथा सखरखण्डले बजारको माग धान्न नसक्ने भएपछि पछिल्लो समय व्यवसायीहरूले जिल्ला बाहिरबाट ल्याएर विक्री वितरण गर्दै आएका छन् । त्यस्तै कतिपय मानिसले भने घोराहीमा डोकोमा बोकेर तरुल तथा सखरखण्ड विक्री गरेका छन् । घोराही उपमहानगरपालिकाले सडक तथा चोकमा व्यवसाय गर्न नदिएपछि व्यवसायीले डोका तथा ठेलामा राखेर बजारमा विक्रीका लागि घरघर जाने गरेका छन् । माघेसंक्रान्तिको अवसरमा जिल्लामा तरुल तथा सखरखण्डको राम्रो व्यापार हुने गरे पनि जिल्लामा व्यावसायिक तरुल तथा सखरखण्डको खेतीप्रति स्थानीय सरकारले नागरिकलाई सहयोग गर्ने चासो देखाएको पाइँदैन ।

तरुल तथा सखरखण्डका फाइदाहरू

यसैबीच माघेसंक्रान्तिमा विशेष गरी तिलको लड्डु, चाकु, घ्यू, तरुल–सखरखण्डजस्ता विभिन्न प्रकारका खानेकुरा खाने चनल छ । यस्ता खानेकुरा खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुने चिकित्सकले बताउने गरेका छन् । हामीले सखरखण्ड–तरुल खाँदा हुने केही फाइदाहरू यहाँ प्रस्तुत गरेका छौँ ।
सखरखण्ड–तरुलमा भिटामिन ‘ए’ प्रशस्त मात्रमा पाइने हुँदा यसले अन्धोपन हुनबाट बचाउने चिकित्सकहरूको भनाइ छ । यसैगरी सखरखण्ड–तरुलले तौल घटाउनमा धेरै मद्दत गर्ने, सखरखण्ड–तरुलमा चिनीको मात्रा नहुनाले मधुमेह रोगलाई नियन्त्रनमा राख्ने, सखरखण्ड–तरुल बेटाक्यारोटिन तथा अन्य स्वस्थकर पोषणले भरपूर हुन्छ । यसले छाला चम्किलो बनाउनुका साथै आँखा, हड्डीलाई बलियो बनाउन समेत मद्दत गर्ने गर्दछ ।

Blog Post Ad

चिकित्सकाअनुसार काँचो सखरखण्ड–तरुल र गाँजरलाई पिसेर त्यसको सुप बिहानको खानाको रूपमा पनि सेवन गर्नाले शरीरलाई आराम मिल्ने, पोलेको भन्दा उसिनेको सखरखण्ड–तरुलमा पोषण तथा भिटामिन पाइन्छ । जुन अन्य फलफूल तथा हरियो सागसब्जी जत्तिकै लाभदायक हुन्छ । सखरखण्ड–तरुलमा पाचन प्रक्रियालाई बलियो बनाउन सक्ने शक्ति हुने हुँदा एउटा ठिक्कको सखरखण्ड–तरुलमा चार ग्राम फाइबर उपलब्ध हुने र लामो समयसम्म भोक मेटाउने काम गर्दछ ।

Blog Post Ad Blog Post Ad