आज माघे संक्रान्ति : बर्षभरीको योजना बनाउँदै थारु समुदाय


घोराही,१ माघ । आज माघे संक्रान्ति दाङसहितका पश्चिम नेपालका थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ । करिव तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व पुस अन्तिम दिनदेखि सुरु भएको हो ।

थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँने गर्दछन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । माघी पर्व सुरु भएसंँगै थारु बस्तीमा माघीको चहलहपल बढेको छ । सबैभन्दा ठुलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने गर्दछन् ।

थारु समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन रहेको छ । यो दिन हरेक थारु गाउँमा सुंगुर काट्ने चलन हुन्छ । विशेष गरेर सुंगुरको मासुलगायतका परिकार खाने र रमाउने चलन छ ।

माघे संक्रान्ति अर्थात नयाँ वर्षको दिन आफ्नो परिवार, इष्टमित्र, आफन्त सबैलाई भेटघाट गर्दै माघीको शुभकामना आदान प्रदान गर्ने गरिन्छ । माघ २ गते अर्थात माघीको अन्तिम दिन भने विवाहित छोरीलाई उपहार ‘निसराउ’ दिने घरपरिवार÷गाउँको आर्थिक हरहिसाब परिवार÷गाउँवासी समक्ष प्रस्तुत गर्नेदेखि लिएर वर्षभरि भएका कामकाजको समीक्षा गर्ने जस्ता कार्य गरिन्छ ।

थारु समुदायमा हरेक वर्ष एक दिन सामाजिक परीक्षण हुने गर्दछ, त्यो भनेकै माघको अन्तिम दिन हो । यस दिन परिवारको मूली र गाउँका नेतृत्वकर्ता चयन गर्ने गरिन्छ । माघीलाई मुक्त कमैया र मुक्त कमलरीले स्वतन्त्रताको पर्वको रुपमा मनाउने गर्दै आएका छन् । माघी पर्वले परिवार, इष्टमित्रबीच मेलमिला बढाउने, आपसी सम्बन्ध अझ सु–मधुर बनाउने गरेको बताइन्छ । माघीपछि थारु समुदायमा विवाह, अंशवण्डा लगायतका कार्यको थालनी गरिन्छ ।

माघी पर्व मनाउनका लागि कामको सिलसिला तथा पढाईका लागि घरबाहिर रहेकाहरु घरमा फर्किएका छन । जसले गर्दा अहिले थारुका बस्ती–बस्तीमा माघीको रमझम छ । माघीकै लागि थारु समुदायमा घरहरु समेत लिपपोतले सिंगारिएका छन् भने विभिन्न शुभकामना आदानप्रदान कार्यक्रमहरुसँगै सास्कृतिक कार्यक्रमहरु भैरहेका छन् ।

थारु समुदायले माघीलाई ठुलो पर्व तथा नयाँ बर्षका रुपमा मनाउने गर्दछन् । थारु समुदायमा माघी पर्वमा बंगुर र सुंगुरको मासु,जाडको झोल र ढिक्रि अनिवार्य जस्तै हुन्छ । त्यसकालागि माघिको अघिल्लो दिन अर्थात पुसको अन्तिम रात बंगुर काट्ने, ढिक्रि बनाउनकालागि पिठो तयार गर्ने, तरुललगायतका बस्तुहरु जुटाउने गरिन्छ । माघे संक्रान्तिलाई विशेष पर्व बनाउनका महिलाहरुले मागको अघिल्लो दिन आज नुहाएर साँझ भोलीका लागि आवश्यक विभिन्न परिकारहरु बनाउने प्रचलन रहेको थारु अगुवा चन्द्रप्रसाद चौधरी बताउँनुहुन्छ ।

माघीको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ । थारु समुदायले नयाँ बर्षका रुपमा समेत लिने माघीमा घरदेखि टाढा रहेका घरमा भेला हुने र खुशीयालीका साथ माघे संक्रान्ति पर्व मनाउने प्रचलन रहेको उहाँले बताउनुभयो । माघी पर्वलाई पहिले–पहिले पाँच दिनसम्म मनाउने गरिएपनि पछिल्लो समय पर्व छोटिदै गएको उहाँ बताउनुभयो ।

माघे सक्रान्तिको दिन विहानै पवित्र नदी, तलाउ तथा त्रिवेणीमा नुहाएर शुद्ध हुने र गाउँका महतवासँगै अग्रज आमाबुबा, दाजुदिदीलगायताई आदर, सम्मान गर्ने चलन रहेको छ । माघी पर्वका अवसरमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी ६ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफलता प्राप्त गरिने विश्वास थारु समुदायमा रहेको छ ।

त्यस्तै ढिक्री, सुगुरको मासु, माछा, तरुललगायतका विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको चौधरीले बताउनुभएको छ । उहाँका अनुसार माघीका दिन तिल, चाकु, तरुलजस्ता खानेकुरा खानाले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता रहेको छ । थारु समुदायले नयाँ बर्षका रुपमा रहेको माघीमा गाउँको अगुवा (महतवा) समेत परिवर्तन गर्ने गर्दछन ।

‘माघीको दिन घरमा सवै जना भेला भएर मिठो परिकारसँगै सु.ख दु.खका कुरा गर्ने, परिवारलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर आयआर्जनका लागि योजना बनाउने गरिन्छ’, थारु समुदायका अगुवा चौधरीले भन्नुभयोे,‘घरको योजना बनाईसकेपछि दिउँसो करिव १ बजेतिर महतवाका घरमा सम्पूर्ण गाउँले भेला हुने र विगतको समिक्षा गर्दै नयाँ योजना बनाउने प्रचलन छ ।

उक्त भेलाले थारु समुदायको गाउँलाई सञ्चालन गर्नका लागि पुराना महतवाले काम गर्न नसके नयाँ महतवा समेत चयन गर्ने प्रचलन रहेको छ ।’ उहाँका अनुसार माघीका दिन थारु बस्तीहरु नयाँ महतवा चयन गर्ने प्रचलन रहेको छ । सोही अनुसार माघको २ गते प्रत्यक थारु बस्तीहरुमा महतवा चयन गर्ने प्रचलन रहेको छ । महतवाले गाउँमा रहेको भु¥यार थानमा पुजाआज गर्ने, गाउँमा सिचाईका लागि बनाइएका कुला नालाको रेखदेख गर्ने,गाउँमा हुने झै–झगडा मिलाउनेदेखि गाउँमा भैपरी आउने समस्या समाधानका लागि काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

थारु समुदायमा माघी बर्षको एउटा छुट्टै विशेषता रहेको छ । माघीमा थारु समुदायमा टिका लाएपछि आशिष माग्न आउने आफन्तीलाई मान्यजनले आशिषसँगै दक्षिणका रुपमा पैसा अनिवार्य रुपमा दिने प्रचलन रहेको छ । अन्य चाडहरु दशै, अटवारीलगायतका पर्वहरुमा दक्षिणका रुपमा पैसा अनिवार्य नभएपनि माघीमा पर्वमा आशिष लिन आउने छोरा,छोरी,बहिनी,भाई, भान्जाभान्जीलगायतलाई दक्षिणाका रुपमा अनिवार्य पैसा दिनुपर्ने प्रचलन रहेको चौधरीले बताउनुभयो । ‘अरु पर्वहरुमा दक्षिणका रुपमा पैसा नदिएपनि हुन्छ, तर माघीमा दक्षिणका रुपमा पैसा अनिवार्य हुन्छ’, उहाँले भन्नुभयो,‘जसले गर्दा थारु समुदायमा माघी फरक पर्वका रुपमा रहेको छ ।’

तर पछिल्लो समय बढ्दै गएको आधुनिकताले माघीलाई समेत असर गरेको छ । आधुनिकताले थारु समुदायको संस्कृतिमा समेत परिवर्तन ल्याएको थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरीले बताउनुभएको छ । आधुनिकताका कारण पछिल्लो पुस्ताले आफ्नो मौलिक सस्कृति भुल्दै गएको र थारुको भेषभुषा लगाउन समेत लजाउने अवस्था आएको अध्यक्ष चौधरीले बताउनुभयो । ‘आफ्नो कला, संस्कृति, भेषभुषा भनेपछि जसलाई पनि माया लाग्नुपर्छ,तर चौधरी समुदायमा त्यो हराएको पाइन्छ’, अध्यक्ष चौधरीले भन्नुभयोे, ‘जसले गर्दा पछिल्लो पुस्ताले आफ्नो मौलिक सस्कृति समेत भुल्ने अवस्था आएको छ ।’

दासता उन्मुक्तिको पर्व माघी भएपनि पछिल्लो समय माघी अधिकारको पर्वका रुपमा रुपान्तरित हुँदै आएको समेत बताउनुभयो । ‘समयसापेक्ष थारु संस्कृति परिमार्जित भएको हो, तर सांस्कृतिक विशेषताहरु भने सकेसम्म जोगाउन खोजिरहेका छौं’, उहाँले भन्नुभयो,‘तर संस्कृतिको पहिचान तल्लो पुस्तामा जस्ताको तस्तै हस्तान्तरणमा समस्या देखिएको छ ।’ थारुको मौलिक संस्कृति परिवर्तन हुदै गएको छ ।