Ad Area

उपमेयर भलिबलमा पद्मोदय, ज्ञानसिन्धु र महेन्द्र मावि धर्नाको विजयी शुरुवात


घोराही,७ माघ । पाँचौँ संस्करणको मेयरकप फुटबल प्रतियोगिता समापन भएसँगै घोराही उपमहानगरपालिकामा शुक्रबारबाट तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल नकआउट प्रतियोगिता–२०७९ शुरुभएको छ ।

प्रतियोगिताको उदघाटन खेलमा साविक विजेता पद्मोदय पब्लिक नमूना मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्नाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा साविक विजेता पद्मोदय मावि घरतपुरले मावि रतनपुरलाई सोझो सेटमा हराउँदै विजयी शुरुवात गरेको छ । पद्मोदयले रतनपुर माविलाई २५–५ र २५–१२ को सोझो सेटमा हराएको हो ।
यसैगरी, दोश्रो खेलमा ज्ञानसिन्धु मावि घोराहीले मावि हापुर बिजौरीलाई २५–१८ र २५–१८ को सोझो सेटमा हराएको छ ।
यस्तै, तेश्रो खेलमा महेन्द्र मावि धर्नाले गंगा मावि रामपुरलाई २५–६ र २५–५ को सोझो सेटमा हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । शुक्रबार भएको तीन वटै प्रतियोगितामा पराजित भएका टीम बाहिरिएका छन् भने विजयी भएका पद्मोदय मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्ना अन्तिम आठमा पुगेका छन् ।

यसअघि पनि पद्मोदय मावि भरतपुरले पहिलो र दोश्रो संस्करणको प्रतियोगिता जितेको थियो । पहिलो संस्करण २०७६ मा गोरखा मावि घोराही र दोश्रो संस्करण २०७७ मा ज्ञानसिन्धु मावि घोराहीलाई फाईनलमा हराउँदै पद्मोदयले उपाधि जितेको थियो । गत वर्षभने कोरोनाका कारण प्रतियोगिता स्थगित भएको थियो ।

जारी प्रतियोगितामा उपमहानगरपालिका भरका १६ वटा विद्यालयले भाग लिएका छन् । दुई समुह बनाएर खेलाईने खेल नकआउटका आधारमा रहेको छ । समुह ए मा पद्मोदय पब्लिक नमूना मावि भरतपुर, मावि रतनपुर, गंगा मावि रामपुर, महेन्द्र मावि धर्ना, गोरक्ष रत्ननाथ मावि चौघेरा, स्टार बोर्डिङ स्कुल, हापुर मावि निघुवार र मनकामना बोर्डिङ स्कुल रहेका छन् । यस्तै, समुह बी मा ज्ञानसिन्धु मावि घोराही, मावि हापुर बिजौरी, सरस्वती मावि भरतपुर, बालविकास मावि घोराही, मावि रझेना, जयशेर मावि रावतगाउँ र सिद्धरत्ननाथ मावि नारायणपुर रहेका छन् ।

आगामी ११ गते फाईनल खेल खेलाउने गरी खेल तालिका बनाईएको छ । घोराही १५ जिल्ला समन्वय समितिको शहिद मन्चको कोर्टमा जारी प्रतियोगितामा हरेक दिन ३ वटा खेल आयोजना गरिने भएको छ । कुल १५ वटा खेल हुने गरी तालिका बनाइएको छ ।
अब प्रतियोगिता अन्तरगत शनिबार बालविकास मावि घोराही र सरस्वती मावि भरतपुर बीच खेल हुनेछ भने गोरक्ष रत्ननाथ मावि चौघेरा र स्टार बोर्डिङ स्कुल घोराही बीच खेल हुने भएको छ । यस्तै, दोश्रो दिनको अन्तिम खेलमा गोरखा मावि घोराही र मावि रझेनाबीच खेल हुनेछ ।

यसैबीच, शुक्रबार एक समारोहका बीच उपमेयर कप छात्रा भलिबल प्रतियोगिताको उदघाटन गरिएको छ । उपमेयर कपको उदघाटन उपमेयर हुमा डिसीले गर्नुभएको हो । सो अवसरमा उहाँले खेल क्षेत्रको विकासका लागि घोराही उपमहानगर प्रतिवद्ध रहेको बताउनुभयो ।
स्वस्थ नागरिक उत्पादनका लागि खेलकुदको विकास गर्नुपर्ने बताउँदै खेल क्षेत्रबाट खेलाडी उत्पादनमात्रै नभई स्वस्थ नागरिक उत्पादन हुने बताउनुभयो । ‘अहिलेको नयाँ पुस्तालाई कसरी स्वस्थ बनाउने भन्ने चुनौति थपिएका बेलामा पालिकाले खेलकुदको माध्यमबाट उनीहरुलाई एकठाउँमा ल्याउने मात्रै होईन, स्वस्थता कायम गर्न पनि सघाउने छ’, उहाँले भन्नुभयो, ‘आगामी दिनमा पालिकाका हरेक नागरिक स्वस्थ बनाउने गरी अभियानको थालनी गर्नुपर्ने हुन्छ ।’
यसैगरी, उहाँले उपमेयर कप छात्रा भलिबलले विद्यालय उमेरबाटै छात्राहरुको आत्मबल बढाउनेदेखि खेल क्षेत्रमा अभिप्रेरित गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । महिला सशक्तीकरणका कुरा गरिरहँदा व्यवहारमा पनि ती काम हुनुपर्ने बताउँदै तल्लो तहबाटै अभियान चलाउने अवस्था आएकाले यस प्रकारका कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब हिजोका जस्तो अवस्था आज छैन, सबैको सहअस्तित्व छ, हरेक नागरिकले आफ्नो अधिकारको पूर्ण प्रयोग गर्नपाउनुपर्छ, त्यसका लागि कर्तव्य पनि सिकाउनु पर्ने बेला आएको छ । खेलकुदका माध्यमबाट अनुशासनमा रहन सिक्ने कुरा त छदैछ, उनीहरुको संवेगात्मक विकासमा पनि टेवा पुग्नेछ ।’

Blog Post Ad

उहाँले तेश्रो संस्करणको उपमेयर कप प्रतियोगिताले पनि छात्राहरुको खेलमा निखारतासँगै स्वस्थतामा सघाउने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकास समिति संयोजक एवम् प्रतियोगिता समिति संयोजक राममणि पाण्डेले पालिकाले खेलकुद विकास समिति गठन गरेर खेलकुदको समग्र विकासका लागि पहल गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा खेलकुदको पूर्वाधार विकाससँगै खेलाडी उत्पादनका लागि प्रशिक्षक नियुक्ति गरेर विशेष रुपमा काम हुने बताउनुभयो । यसैगरी, उहाँले यो पटकको मेयर कप फुटबल र उपमेयर कप छात्रा भलिबल प्रतियोगिताबाट आएका सल्लाह सुझावलाई आत्मसात गर्दै आगामी वर्षहरुमा थप व्यववस्थित गर्दै लैजाने पनि जानकारी गराउनुभयो ।

Blog Post Ad Blog Post Ad