Ad Area

सम्झौता सकियो, बनेनन् पुल


घोराही, १२ माघ । निर्माण व्यवसायीको चरम लापरबाहीले जिल्लाका दुई स्थानमा निर्माणाधीन अवस्थामा रहेका पुलहरू अलपत्र परेका छन् । घोराही उपमहानगरपालिका–१७ अन्तर्गत गैरागाउँ–घनिबगिया सडकखण्डको कुटवाखोला पुल र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ को बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पक्की पुल अलपत्र परेका हुन् ।

डेढ वर्षको अवधिमा पुल निर्माण सक्ने गरी २०७८ असार १४ गते कटुवा खोला पुल करिब ४ करोड १७ लाख २४ हजार रूपैयाँ र सोही मितिमा हापुर खोला पुल ८ करोड ३६ लाख ८३ हजार रूपैयाँमा निर्माण गर्ने महादेव खिम्ती÷अञ्जना÷जलजला जेभी काठमाडौंसँग सम्झौता भएको थियो । गत पुस १३ गते सम्झौता समय सकिएपनि पुलको अहिले पाइलिङ फाउण्डेशनको करिब २५ प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालले बताउनुभएको छ ।

‘सम्झौता मितिअनुसार अहिले दुवै पुलहरूको निर्माणको काम सकिनुपथ्र्यो तर २५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ’, कार्यालय प्रमुख अर्यालले भन्नुभयोे,‘दुवै स्थानमा अहिले काम हुनसकेको छैन ।’ पुल निर्माणका लागि सन्तोषजनक काम नभएको र समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था नदेखिएकाले निर्माण व्यवसायीलाई जरिवानाका लागि सम्झौता सकिएको मितिले २०० दिनको गणना सुरु भएको प्रमुख अर्यालले बताउनुभयो ।

‘सम्झौताअनुसार निर्धारित समयमा पुल निर्माणको काम सकिनुपथ्र्याे तर निर्माणको काम अहिले २५ प्रतिशत मात्रै देखिन्छ । समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था देखिँदैन’, कार्यालयका प्रमुख अर्यालले भन्नुभयो,‘ निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन पनि नदिएको र सम्पर्कमा पनि नभएकाले अब कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।’ कटुवा खोला र हापुर खोला पुल निर्माणको काम महादेव खिम्ती÷अञ्जना÷जलजला जेभी काठमाडौंले संयुक्त रूपमा गर्ने गरी जलजल निर्माण सेवाले सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

‘पुल निर्माणको काम तीनवटा निर्माणहरूले संयुक्त रूपमा गर्ने गरी सम्झौता गरेका छन्’, कार्यालय प्रमुख अर्यालले भन्नुभयोे,‘पुल निर्माणको प्रगति भने सन्तोषजनक छैन ।’ पुल निर्माणको काम अघि नबढ्दा सेवाग्राहीसँगै कार्यालय समेत कार्यसम्पादनमा पछि परेको कार्यालयले जनाएको छ । पुल निर्माणको काम सुरु भएपनि अहिले निर्माण कम्पनी नै पुल निर्माण गर्ने ठाउँमा नहुँदा पुल बन्ने वा नबन्नेमा आशंका उत्पन्न भएको घोराही उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामलौटन चौधरीले बताउनुभएको छ ।

वडाध्यक्ष चौधरीले असार महिनादेखि पुल निर्माण स्थलमै ठेकेदार नभएको बताउनुभयो । ‘समयमै पुल निर्माण भएको भए विद्यार्थीहरूलाई घोराही पढ्न जानसँगै स्थानीयलाई बजार जान–आउन सजिलो हुन्थ्यो’, वडाध्यक्ष चौधरीले भन्नुभयोे, ‘तर समयमा पुल निर्माणको काम नहुँदा पुल निर्माणका लागि खनेका खाडलका कारण हिडडुल गर्न समेत समस्या हुने भएको छ ।’

Blog Post Ad

फाइल तस्वीर

Blog Post Ad Blog Post Ad