Ad Area

राप्ती स्वास्थ्य प्रतिष्ठानको चरम लापरवाही मान्छे एक, रक्त समुह फरक–फरक


घोराही, १७ माघ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चरम लापरवाहीका कारण एक जना गर्भवती सेवाग्राहीले झण्डै फरक समुहको रगत चढाउनु पर्यो । घोराही उपमहानगरपालिका वडा नम्बर ९ अस्पाराकी २५ वर्षीया महिलाको सुत्केरी हुने नजिकिएका बेला प्रतिष्ठानका डा। बसन्त लामिछानेले गरेको सिफारिसमा माघ १० गते गरिएको परिक्षणमा उहाँको रक्त समुह बी पोजिटिभ आयो ।

उक्त दिन ३ बजेर १५ मिनेटमा संकलन गरिएको नमूनाको परिक्षण रिपोर्ट सोही दिन ४ बजेर २६ मिनेटमा निकालिएकोमा रक्त समुह बी पोजिटिभ उल्लेख छ । उहाँले गर्भवती भएपछि चिकित्सकको निगरानीमा रहँदै स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम गर्दै आउनुभएको थियो । प्रतिष्ठानको मात्रै भर नपरेर उहाँले निजि क्लिनिक शिव पोलिक्लिनिकमा पनि डाक्टरसँग परामर्शदेखि परिक्षण गराउने काम गर्दै आउनुभएको थियो ।

गत असोज २६ गते उहाँले शिव पोलिक्लिनिकमा स्वास्थ्य परिक्षणसँगै रक्त समुह पहिचानका लागि रगत नमूना दिएकोमा त्यो बेलामा उहाँको रगत समुह ओ पोजिटिभ आएको थियो । सुत्केरी हुनेदिन नजिकिएसँगै स्वास्थ्य अवस्था र रक्त समुहको बारेमा थाहा पाउन डा। लामिछानेले रगतको नमूना लिएपछि प्रतिष्ठानको ल्याबमा गरिएको परिक्षणमा रगत समुह बी पोजिटिभ रहेको भनी रिपोर्ट थमाईयो । गर्भवती ती महिलाको सुत्केरी हुने दिन माघ २० गते तोकिएको छ ।

श्रीमतीको सुत्केरी हुनेदिन नजिकिएका बेला आवश्यकपर्ने रगतको जोहोसहित अरु व्यवस्था गर्नुपर्ने भएपछि उहाँका श्रीमानले रिपोर्ट नियालेपछि उहाँको रगत समुह बी पोजिटिभ की ओ पोजिटिभ भन्ने अन्योल भयो । असोजमा शिव पोलिक्लिनिकले दिएको रिपोर्टमा बी पोजिटिभ छ, माघ १० गतेको प्रतिष्ठानले दिएको रिपोर्टमा ओ पाजिटिभ छ, अब एकै व्यक्तिको दुई वटा समुहको रगत कसरी भयो भन्ने अन्यौलताले आफुलाई झनै तनाव भएको उहाँका श्रीमान शैलेश अधिकारीले बताउनुभयो ।

‘माघको २० गते डेलिभरी हुने मिति तोकेको छ, श्रीमतीको अन्तिम जाँच गराउँदा प्रतिष्ठानले बी पोजिटिभ रिपोर्ट दियो । जवकी शिव पोलिक्लिनिकमा ओ पोजिटिभको रिपोर्ट आएको थियो’, उहाँले भन्नुभयो ‘मेडिकलमा डा। रमेश यादवलाई देखाउँदा असोज २६ गते ओ पोजिटभ रिपोर्ट थियो ।’

जनस्वास्थ्यका दृष्टिकोणले मानव स्वास्थ्यमाथि यति सम्मको लापरवाही भएको भन्दै ती महिलाका श्रीमानले आक्रोश पोखेपछि प्रतिष्ठानमा कार्यरत एक कर्मचारीले रगत समुह दुई थरी आएको भए दुवै समुहको रगतको जोहो गर्न सुझाएको उहाँको भनाई छ । ‘पहिले कुन रगत समुह हो त्यो किटान नगरी दुई थरी सगत जोहो गर्नुस् भन्ने कतिसम्मको गैरजिम्मेवार बोली हो’, उहाँले भन्नुभयो, ‘यस्तो कुरामा पनि खेलवाड गर्न मिल्छ र ?’

Blog Post Ad

आफुहरुले पहिले निजि मेडिकलमा रगत समुहको बारेमा परिक्षण नगराएको भए सुत्केरी श्रीमतीको शरीरमा फरक रगत चढाउनुपर्ने अवस्था आउने निश्चित रहेको उहाँको भनाई छ । ‘रगत समुहका बारेमा पहिले रिपोर्ट नबनाएको भए श्रीमतीको जीउज्यान जे पनि हुन सक्ने अवस्था थियो’, उहाँले भन्नुभयो, ‘यो साह्रै तनाव दिने काम भयो । पहिलो पटक प्रतिष्ठानमा रगत गरेको भए के हुन्थ्यो, हामीले रजिस्टर हेर्ने होईन, रिपोर्ट हेर्ने हो । यस्ता आलोकाँचो काम गरेर जनस्वास्थ्यमा खेलवाड गर्ने काम भयो । अब कसको विश्वास गर्नु र खै ?’

सेवाग्राहीको गुनासोपछि प्रतिष्ठानले गर्भवती महिलाको रगत समुह पुनः परिक्षण गरेर जानकारी गराउने बताएपछि माघ १५ गते पुनः रगत समुह परिक्षण गरी ओ पोजिटिभ रक्त समुह भएको पुष्टि गर्यो । ५ दिनपछि गरिएको परिक्षण रिपोर्टमा अरु सबै कुरा माघ १० गतेकै उल्लेख गरी रक्त समुह ओ पोजिटिभ भएको उल्लेख गरेको छ ।

‘रिपोर्ट हेर्न पढ्न सक्ने म जस्ता सेवाग्राहीले त बेलैमा थाहा पाएर गुनासो गरेपछि जानकारी भयो तर गाउँघरका सोझासाझा जनताले यस्तो अवस्था नभोगेका होलान् भन्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘मेरै श्रीमतीको हकमा पनि अरु ठाउँमा परिक्षण नगराएर पहिलो पटक प्रतिष्ठानमा रक्त समुह परिक्षण गराएको भए त बर्बाद नै हुने रहेछ ।’

बिरामीको स्वास्थ्य अवस्था बारेमा जानकारी गराउने काम मेडिकल रिपोर्टले गर्ने गर्छ, रिपोर्टको आधारमा नै डाक्टरले बिरामीको उपचार कसरी गर्ने भन्ने निधो गर्ने हो । यस्तो अवस्थामा गलत रिपोर्ट डाक्टरको हातमा परे उपचारपनि गलत हुने र बिरामीको जीउज्यान तलमाथि हुने अवस्था आउँछ ।

घटनाको विषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चासो लिएको छ । एकै व्यक्तिको दुई वटा रक्त समुह कसरी भयो भन्ने जनचासो बढेपछि आईतबार प्रतिष्ठान पदाधिकारीहरुको आकस्मिक बैठकले रिपोर्ट तयार पार्दा गम्भीर त्रुटी भएको ठहर गरेको छ । ‘फाईलमा सही लेखिएको रहेछ तर रिपोर्टमा उतार्दा गलत लेखेर दिईएछ, यो गम्भीर त्रुटी हो, यो विषयमा हामीले समीक्षा गरिसकेका छौँ’, प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछानेले भन्नुभयो, ‘बिरामीले अनाहकमा पाएको दुख त छदैछ, यस प्रकारको गलत कामले संस्थागत काममा पनि असर गर्छ भन्नेमा हामी गम्भीर भएका छौँ ।’

उहाँका अनुसार आईतबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले विभागीय अवस्थाको बारेमा जानकारी लिँदै आवश्यक कारवाही अघि बढाएको छ । ‘यस प्रकारको गल्तीले हुन सक्ने जोखिमलाई कसैले पनि सामान्य रुपमा लिन सक्दैन, यो गम्भीर अपराधका रुपमा लिएका छौँ’, उहाँले भन्नुभयो, ‘घटनाले बिरामीमा परेको असर प्रति हामी क्षमा चाहन्छौँ, आगामी दिनमा यस्ता कमी कमजोरी हुन नदिन संयमित भएका छौँ ।’

प्रतिष्ठानको सेवाका विषयमा यसअघि पनि विभिन्न ढंगले गुनासो आउने गरेको छ । सेवाग्राहीले आफुहरुले अनावश्यक दुख पाएको भन्दै सहज र स्तरीय स्वास्थ्य सेवाका लागि आएको भएपनि विभिन्न बहानामा दुख मात्रै दिएको बताउने गरेका छन् । २०७४ सालमा तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालको ठाउँमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने मन्त्री परिषदको निर्णय पश्चात अघि बढेको स्वास्थ्य सेवाको काममा अझै पनि धेरै काम हुन सकेको छैन । जिल्लामै मेडिकल अध्ययनसहित अरु थुप्रै स्वास्थ्य सेवा बिस्तार गर्ने भनिएकोमा अधिकांश काम अधुरा रहेका छन् ।

Blog Post Ad Blog Post Ad