Ad Area

दोश्रो खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा


घोराही, १९ माघ । लुम्विनी प्रदेशकै सर्वाधिक राशीकोे दोश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता–२०७९ शुक्रवारदेखि शुरु हुने भएको छ ।

घोराहीस्थीत सहिद मंञ्चको प्राङ्गणमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ । जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै स्वर्गीय नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको योगदानलाई जीवन्त राख्नका लागि आयोजना गरिएको प्रतियोगिताको शुक्रवार विहान ११ बजे नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतियोगिताका प्रचारप्रसार समितिका संयोजक सन्तोष सुवेदीले जानकारी दिएका छन् ।

प्रतियोगितामा जिल्लाका दश वटै पालिकाबाट भलिवल टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल तुलसीपुर उपमहानगरपालिकाको टिम र बबई गाउँपालिकाको भलिबल टिमकाविच हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका प्रतियोगिताको गतबर्षको बिजेता टिम हो । प्रतियोगितामा सहभागी भएका दश वटा टिमलाई २ समूहमा राखिएको छ । जस अनुसार ‘ए’ समूहमा तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिका रहेको छन् ।

त्यसैगरी समूह ‘बी’ गतबर्षको उपविजेता राप्ती गाउँपालिकासहित गढवा गाउँपालिका, दंगीशरण गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिका रहेका छन् । प्रतियोगितामा सहभागी पालिकाका भलिबल टिमहरुले २ जनासम्म बाहिरका राष्ट्रियस्तरका खेलाडीहरु राख्न व्यवस्था गरेको आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ ।

माघको २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद २ लाख २५ हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र जित्ने छ । त्यसैगरी उपबिजेता टिमले नगद १ लाख १२ हजार पाँच सय र तृतीय टिमले नगद ५६ हजार २ सय ५०, सान्तव्ना हुने टिमले नगद १३ हजार ५ रुपैंयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगीताका प्रचारप्रसार समितिका संयोजक सुवेदीले जानकारी दिएका छन् । साथै उद्घाटन खेलमा सहभागीताका लागि नेपाली कांग्रेस दाङले सवैमा आग्रह गरेको छ ।