Ad Area

दाङ महिला जेसीजद्वारा विमला योगीलाई बुदादेवी गोराथोकी उत्कृष्ट महिला सम्मान


घोराही, २० माघ । दाङ महिला जेसीजले सामाजिक अभियन्ता विमला योगीलाई बुदादेवी गोराथोकी उत्कृष्ट महिला सम्मान प्रदान गरेको छ । महिला जेसीजले युवाहरुलागि सामाजिक, आर्थिकसँगै उनीहरुको सशक्तीकरणमा प्रेरणादायी भूमिका खेल्दै आएका व्यक्तिबाट छनोट गरी वर्ष उत्कृष्ट महिलाका रुपमा शुक्रबार एक कार्यक्रम गरी महिला जेसीजले पहिलो पटक योगीलाई सम्मान गरेको हो ।


युवाहरुको नेतृत्व विकासमा लामो समयदेखि क्रियाशील रही महिला तथा बालबालिकाहरुको समष्टीगत विकास, आर्थिक तथा सामाजिक विकासमा स्वालम्बनतर्फ उन्मुख गराउन महत्वपूर्ण भुमिका निर्वाह गरी दाङ जिल्लाको शीर उचो बनाउन तथा युवा सशक्तीकरण गर्न प्रेरणादायी भूमिका खेलेको भन्दै सामाजिक अभियन्ता योगीलाई बुदादेवी गोराथोकी उत्कृष्ट महिलाका  रुपमा सम्मान गरिएको बताईएको छ ।


दाङ महिला जेसीज वर्ष २०२३ की अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा जिल्ला अदालत दाङकी न्यायाधीश ताराकुमारी शर्माको प्रमुख आतिथ्यमा उहाँलाई सम्मान  गरिएको हो ।
सम्मान ग्रहणपश्चात योगीले आफ्नो कामको मुल्यांकन गरी संस्थाले गरेको सम्मानले अझ जिम्मेवारी बोध भएको बताउनुभयो । सामाजिक रुपान्तरणको अभियानमा आफुले चालेका कदमले समाजलाई सकारात्मक बाटोमा लैजाओस् भन्ने उद्देश्य भएको हुँदा अरु सामाजिक अभियन्ताहरुको पनि उत्तिकै योगदान रहेको बताउनुभयो ।
आफुले दाङ महिला जेसीजले गरेको सम्मान आफ्ना लागि मात्रै नभई सबैको साथ सहयोग र आशिर्वादको फल भएको भन्दै सबैमा  आभार प्रकट गर्नुभयो । हिजोका दिनमा बन्द कोठामा रहेका महिलाहरु आज सार्वजनिक स्थानमा आफ्ना कुरा बोल्न सक्ने बनाउनुका साथै लोकतन्त्र, सामाजिक न्याय र कानूनी राज्य स्थापनामा भूमिका खेल्नुभएका सबै प्रतिनिधित्वका रुपमा आफुले सम्मान पाएको बताउँदै आगामी दिनमा सभ्य समाज निर्माणका लागि यस प्रकारको सम्मानले उर्जा थपेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि न्यायाधीश शर्माले समाज विकासको क्रममा यस प्रकारको अभियानले समाजमा सकारात्मक प्रभाव पर्ने  बताउनुभयो । सामाजिक क्षेत्रमा काम गर्दै आएकाहरुको योगदानको उचित मुल्यांकन गर्दै महिला सशक्तीकरणमा यस प्रकारको कार्यले सामाजिक न्याय प्रदान गर्ने उहाँको भनाई थियो ।
‘समाजमा हुने अनेक विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माणका लागि महिलाहरुको भूमिका अहम् रहने हुँदा विमला योगीजस्ता प्रेरणको श्रोतबाट धेरैले सिको गर्न सक्नुपर्छ’, उहाँले भन्नुभयो, ‘उहाँको काम र योगदानको जति प्रशंसा गरेपनि कम हुन्छ, महिला जेसीजले उहाँको कामको सही मुल्यांकन गरेको लाग्यो  ।’
२०४६ सालबाट प्रजातान्त्रिक आन्दोलनबाट सामाजिक, राजनीतिक क्षेत्रमा पाइला चाल्नुभएकी योगीले शुरुवाती चरणमा  गोरक्ष रत्ननाथ  माविमा  २०४४ देखि २०४८ सालसम्म शिक्षण पेशा गर्नुभएको थियो । अहिले राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिृकतका  रुपमा आर्थिक क्षेत्रमा पनि कृयाशील रहनुभएको छ ।
महिला तथा सिमान्तकृत समुदायको उत्थानका लागि अनवरत रुपमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएकी योगीले उनीहरुको क्षमता विकाससँगै नेतृत्व विकास गर्न सक्षम हुनुभएको छ ।
समाजमा योगदान गर्दै आएका महिलाहरुबाट छनोट गरी थालनी भएको यस प्रकारको अभियानले आगामी दिनमा अरु महिलाहरुलाई पनि हौसला प्रदान गरेको वक्ताहरुको भनाई थियो  ।  कार्यक्रममा वन संघकी सचिव जानका केसी, सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी, महिला जेसीजकी पूर्व अध्यक्ष एवम् अक्षयकोषदाताका तर्फबाट डोमा पाण्डे, संस्थापक अध्यक्ष निर्मला गौतमलगायतले बोल्नुभएको थियो । कार्यक्रमका उपस्थितलाई उपाध्यक्ष आकृति शर्माले जेसीज आस्था पाठ गराउनुभएको थियो । उपाध्यक्ष भीमा डिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष दिलु मल्लले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण महासचिव अर्चना शर्माले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad