Ad Area

दोश्रो खुमबहादुर खड्का स्मृति भलिबलमा अन्तिम तीनको टुंगो भोलि


घोराही, २४ माघ । घोराहीमा जारी लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोश्रो खुमबहादुर खड्का स्मृति अन्तरपालिका भलिबल प्रतियोगिता २०७९ मा लमही नगरपालिका बाहेक अरु पालिकाको स्पष्ट नतिजा नआउँदा लिग समीकरण रोचक बनेको छ ।

साविक विजेता तुलसीपुर उपमहानगरपालिका उद्घाटन खेलमा बबई गाउँपालिकासँग पराजित भएपछि खेलमा सहभागी नहुँदा अरु पालिकाको नतिजामा पनि असर गरेको छ । अपराजित रहेको लमही नगरपालिकाबाहेक अरु सबै पालिकाको खेलको नतिजा स्पष्ट हुनसकेको छैन । जसका कारण अन्तिम चारमा पुग्ने टोलीको टुंगो लिग चरणको अन्तिम खेलसम्म पर्खनु परेको हो ।

नेपाली कांग्रेस दाङको आयोजनामा माघको २० गतेबाट घोराही १५ स्थित सहिद मन्चमा जारी प्रतियोगितामा मंगलबारसम्म ६ वटा पालिकाले लिग चरणका सबै खेल खेल्दै लिग समीकरणको पर्खाइमा छन् । समुह ए बाट तुलसीपुर उपमहानगरले वाक ओभर दिएको छ भने बबई गाउँपालिकाले चार खेलमा दुुईमा जीत र दुईमा हार व्यहोरेको छ ।

यस्तै, बंगलाचुलीले ३ खेलमा हार व्यहोरेको छ भने अन्तिम खेलमा तुलसीपुरले वाकओभर दिएको थियो । समुह बी मा पनि गढवा गाउँपालिकाले दुई खेलमा जीत र दुईमा हार व्यहोरेको छ । दंगीशरण गाउँपालि का पनि तीन खेलमा हार व्यहोरेको छ भने लिगको अन्तिम खेलमा राप्तीले वाकओभर दिएको छ ।

यसैगरी साविक विजेता तथा नेपाली भलिबलको कप्तान तथा अरु राष्ट्रिय खेलाडीसमेत सहभागी गराएको राप्ती गाउँपालिका पनि जारी प्रतियोगिताबाट बाहिरिएको छ । उसले एक खेल जित्नु बाहेक अरु सम्झनलायक प्रदर्शन गर्न सकेन । लिगको अन्तिम खेलमा उसले सहभागी नहुँदै दंगीशरणलाई वाकओभर दिएको थियो ।

प्रतियोगिताबाट समुह ए मा रहेको तुलसीपुर, बबई, बंगलाचुली बाहिरिएको छ भने अन्तिम चारमा राजपुर र शान्तिनगर पुग्ने भएका छन् । यी दुवै पालिकाको टीमको। लिग चरणको अन्तिम खेल बुधबार हुने भएको छ ।

Blog Post Ad

यसैगरी समुह बी बाट राप्ती गाउँपालिका, दंगीशरण गाउँपालिका प्रतियोगिताबाट बाहिरिएका छन् भने गढवाको सम्भावना अंकगणितीय रुपमा झिनो रहेको छ । त्यो पनि लिगको अन्तिम खेलमा लमहीले घोराहीलाई ठूलो अन्तरले हराएमा अंकभारका आधारमा छनौट हुन सक्नेछ । किनभने गढवा र घोराहीको समान दुई जीत रहेको छ । गढवाले लिग चरणका सबै खेल खेलिसकेकाले अब घोराही र लमहीबीचको लिग चरणको खेलको नतिजामा भर पर्नेछ ।

लिगमा अपराजित रहदै तीन खेलमा जीत निकालेको लमही नगरपालिकाभने एक खेल अगावै सेमिफाईनल प्रवेश गरीसकेको छ । अब बुधबार लिगको अन्तिम खेलमा घोराहीको सामना गर्ने भएको छ । घोराहीले पनि प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन पछिल्ला खेलमा लय समातेको छ । उसले राष्ट्रिय स्तरका खेलाडीलाई सहभागी गराईसकेको छ ।

यसैबीच, लिग अन्तरगत मंगलबार भएको खेलमा शान्तिनगर गाउँपालिका र घोराही उपमहानगरपालिका विजयी भएका छन् । बिहान भएको खेलमा शान्तिनगरले बबई गाउँपालिकालाई ३–० तथा घोराहीले गढवा गाउँपालिकालाई पनि समान सोझो सेटमा हराउँदै सेमिफाईनल यात्रा जीवित राखेको छ ।

आजको खेलमा शान्तिनगरले २५–७, २५–११, र २५–१९ को सेटमा बबईलाई हराउँदै दुई खेलमा जीत र एकमा वाकओभर पाएको छ । अब उसले भोलिको खेलमा राजपुरसँग खेल्नेछ । राजपुर गाउँपालिकालाई पनि लिग चरणको अन्तिम खेल जित्नै पर्ने दवाव छ ।

यस्तै, बिहान भएको दोश्रो खेलमा घोराहीले गढवालाई २५–१७, २५–२१, र २५–१४ को सोझो सेटमा हराउँदै खेलमा फर्किएको छ । पहिलो खेलमा हार व्यहोरेको घोराहीले त्यसपछिका खेलमा पुनरागमन गरेको छ ।
भोलिको खेलमा पनि जीत निकाले स्वतः अन्तिम चारमा पुग्नेछ भने घोराहीले हारेमा अरु पालिकाको अंकमा भर पर्नुपर्नेछ ।
प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुनेले ५६ हजार २ सय ५० र चौथो हुने टीमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने छन् भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

सरकारले राष्ट्रिय खेलका रुपमा घोषणा गरिसकेको भलिबल खेलको विकाससँगै युवाहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने लक्ष्यका साथ दाङ कांग्रेसले आफ्नै लगानीमा खेलाडीको सबै खर्च व्यहोर्ने गरी प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको फाईनल खेल माघ २७ गते हुनेछ ।

Blog Post Ad Blog Post Ad