Ad Area

अम्बिका मावि हर्नोकमा कक्षा ११ संचालन गर्ने तयारी


घोराही, २४ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अम्बिका मावि हर्नोकले कक्षा ११ संचालन गर्ने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिअध्यक्ष मदनकुमार न्यौपानेको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डेको प्रमुख आतिथ्यमा मंगलबार भएको भेलाले विद्यालयको पूर्वाधार तथा जनशक्ति व्यवस्थापन रहेको हुँदा निकट भविष्यमा कक्षा संचालनको तयारी गरिएको छ ।

कक्षा संचालनका लागि आर्थिक संकलन गर्ने विषयमा पनि छलफल भएको छ । सोअवसरमा सहभागी सरोकारवालाहरुले विद्यालयको कक्षा ११ मा पठनपाठनका लागि कक्षाकोठा, फर्निचरको समस्या नरहेको तथा शिक्षक व्यवस्थापनका लागि हाल मौजुदा शिक्षकसहित २ जना शिक्षक थप गर्न सकेमा कुनै समस्या नरहेको निष्कर्ष निकालिएको छ ।

जसअनुसार कक्षा ११ संचालनका लागि आवश्यक अर्थ संकलन गर्न उक्त भेलाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय अर्थ संकलन समितिसमेत गठन गरिएको छ ।

कार्यक्रममा वडाअध्यक्ष पाण्डेले शिक्षा क्षेत्र मानिसको चेतना स्तर उकास्ने प्रमुख माध्यम भएकाले यसको विकासका लागि सबै निकाय गम्भीर बन्नुपर्ने बताउनुभयो । विद्यालयले चालेको हरेक सकारात्मक कदममा वडा र पालिका साथमा रहेको बताउँदै उहाँले समय सुहाउँदो शिक्षामापनि जोड दिन आग्रह गर्नुभयो । यसका लागि विद्यार्थी संख्या बढाउने गरी शिक्षण सिकाईमा पनि ध्यान दिन अपिल गर्दै कक्षा ११ संचालनका लागि आफ्नो सहयोग रहने वचन दिनुभयो ।

भेलामा शिक्षक अभिभावक संघका अध्यक्ष नारायणप्रसाद पाण्डे, प्रधानाध्यापक नारायणप्रसाद पोख्रेल, पूर्वविद्यार्थी भेगबहादुर थापा, शिक्षक अभिभावक संघका सदस्य टेकबहादुर घर्ती, विद्यालयका शिक्षक तथा प्रावि तह ईन्चार्ज ईश्वरीप्रसाद पाण्डे, गजेन्द्र खड्का, मित्रलाल न्यौपानेलगायतले भनाई राख्नुभएको थियो । विद्यालयका शिक्षक हरिबहादुर बिष्टको विषय प्रवेशबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक मधुसुदन भट्टराईले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad