Ad Area

खेलको विकास र नयाँ खेलाडी उत्पादन : संयोजक आचार्य (अन्तर्वार्ता)


नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्व. खुमबहादुर खड्काको सम्झानामा दाङको घोराहीमा दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता–२०७९ चलिरहेको छ । नेपाली कांग्रेस दाङको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता भएको हो । प्रतियोगिताको विजेता टिमले नगद दुई लाख २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उपविजेताले एक लाख १२ हजार पाँच सय, तेस्रो हुने टिमले नगद ५६ हजार २ सय ५० र चौथो हुने टिमलाई २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत रुपमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खड्काको योगदानलाई खेलकुद र सामाजिक क्रियाकलापका माध्यमबाट जनतामाझ परिचित गराउँदै दाङको खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता गर्दै आएको छ ।

दाङमा खेल क्षेत्रको अवस्था, प्रतियोगिताको उद्देश्य र व्यवस्थापनका साथै प्रतियोगिताको दीर्घकालीन योजनाका सन्दर्भमा नेपाली कांग्रेसका जिल्ला सह–सचिव एवम् खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताका संयोजक राजु आचार्यसँग पत्रकार लिलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।

 प्रतियोगिता चलिरहँदा खेलाडी र सहभागीको उत्साह कस्तो पाउनुभएको छ ?

 नेपाली कांग्रेस दाङको आयोजनामा गत वर्षदेखि सञ्चालन हुँदै आएको खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण माघको २० गतेदेखि घोराही स्थिति जिल्ला समन्वय समिति अन्तर्गतको सहिद मञ्चमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका खेलहरू खेलिसकेका खेलाडीहरू समेत विभिन्न टिममा सहभागी भएर खेलिहनुभएको छ । जसले गर्दा प्रतियोगितामा उल्लेख दर्शकहरूको सहभागिता भइरहेको छ । प्रतियोगितामा उत्साहजनक दर्शकको सहभागिताले खेलाडीसँगै आयोजकलाई हौसला प्रदान गरीरहेको छ ।

 नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्व खुमबहादुर खड्काको नाममा भलिबल प्रतियोगिता गर्नुको उद्देश्य के हो ?

Blog Post Ad

 नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री स्व. खुमबहादुर खड्का नेपालीको कांग्रेसको मात्रै नभएर दाङ र समग्रमा राष्ट्रको नेता हो । दाङ समग्र विकाससँगै नेपालको लोकतान्त्रिक उपलब्धि प्राप्तिका लागि उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँको योगदानलाई सम्मानसँगै जिल्लाको खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी पहिचान गर्नु हो । त्यसका लागि नेपाली कांग्रेस दाङले स्वर्गीय नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री खड्काको सम्झनामा लुम्बिनी प्रदेशकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

जिल्लाका दशवटा स्थानीय तहबाट टिमहरूको सहभागिता गराएर सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रको विकाससँगै राष्ट्रिय स्तरका खेलाडीहरूसँग जिल्लाका विभिन्न कुना–कुनामा रहेका प्रतिभावान् खेलाडीहरूलाई खेलाएर उनीहरूमा अन्तरनिहित प्रतिभालाई उजागर गर्नु उद्देश्य हो । यद्यपि, आगामी दिनहरूमा भलिबलसँगै अन्य खेलकुदका कार्यक्रम र स्वास्थ्य, शिक्षाका कार्यक्रमहहरूलाई समेत जोडेर अघि बढ्ने सोच रहेको छ ।

 प्रतियोगिता चलिरहँदा दाङमा खेलप्रतिको सहयोग र खेलाडीहरूको उत्साह कस्तो पाउनुभएको छ ?

 घोराहीको सहिद मञ्चको खुल्ला मैदानमा भलिबल प्रतियोगिता चलिरहँदा खेलाडी तथा सहयोगदाताको उत्साहजनक सहभागिता रहेको छ । दर्शकहरूको नियमित उपस्थितिले दाङ खेलप्रतिको आकर्षण छ भन्ने देखाएको छ । प्रतियोगितालाई सफल बनाउनका लागि निजी स्तरबाट व्यक्तिगत तर्फबाट राम्रो सहयोग भएको छ तर स्थानीय सरकारका रूपमा रहेका हाम्रा केही सरकारहरूको खेलप्रति उदाशीनता देखिएको छ ।

प्रदेशकै ठूलो धन राशीको खेलकुद प्रतियोगिता चलिरहँदा अधिकांश स्थानीय तहबाट सहयोग भएको छ । खेलाडीहरूलाई ड्रेस, यातायातसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडीहरूलाई ल्याउन समेत सहयोग स्थानीय तहबाट भएको छ । स्वयम् राप्ती गाउँपालिका, दंगीशरण, बबई, शान्तिनगरसँगै बंगलाचुली गाउँपालिका प्रमुख तथा उपप्रमुखहरू, वडाध्यक्षहरू समेत खेलमा सहभागी भएर खेलाडीहरूलाई हौसला प्रदान गर्ने काम समेत गरिरहनुभएको छ ।

केही स्थानीय तहहरू खेलप्रति उदाशीनता देखिएको छ । खेलाडीहरूलाई कुनै पनि प्रकारको सहयोग भएको छैन । जसले गर्दा गत वर्षको विजेता तुलसीपुर उपमहानगरपालिकाले खेलाडीहरूलाई जर्सी किन्ने र यातायातका लागि भाडा समेत दिएनन् । जसले गर्दा खेलाडीहरू उद्घाटन खेल खेलेर प्रतियोगितामा खेल्न सकेनन् ।

 स्थानीय तहको अपनत्व हुने गरी प्रतियोगितामा जिल्लाका दशवटै स्थानीय तहबाट खेलाडीहरूको सहभागिता हुने गरेको छ ? यसरी प्रतियोगिता भइरहँदा स्थानीय तहको सहयोग कस्तो पाउनुभएको छ ?

 यो, प्रतियोगिता दाङको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण अवसर हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरू खेलिसकेका खेलाडीहरू दाङमा आएर खेल्ने प्रतियोगिता हो । उनीहरूसँग खेल्दा स्थानीय स्तरमा रहेका खेलाडीहरू खुसीसँग उत्साहित छन् । प्रतियोगिताले खेल क्षेत्रसँगै पर्यटन विकासका लागि समेत योगदान पु¥याइरहेको ‘खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’ हो ।

प्रतियोगिताका लागि सबै क्षेत्रको सहयोग उत्तिकै आवश्यक छ । त्यसमा पनि स्थानीय सरकारको झन ठूलो सहयोग आवश्यक छ । प्रतियोगिता सम्पन्न गर्नका लागि लाखौँ रूपैयाँको आवश्यकता छ । त्यसको व्यवस्थापन आयोजकका रूपमा हामीले गरिरहेका छौँ । स्थानीय सरकारका रूपमा केही स्थानीय तहहरूले राष्ट्रिय स्तरका खेलाडीहरू ल्याउन सफल हुनुभएको छ ।

जसले गर्दा राष्ट्रिय भलिबल टिमका क्याप्टेन समेत रहेका मानबहादुर श्रेष्ठ, त्रिभुवन आर्मीका खेलाडी धनबहादुर भट्, सुवास बोहोरा, नेपाली पुलिस क्लवका खेलाडीहरूसँगै विभिन्न जिल्लाहरूबाट नाम चलेका चर्चित खेलाडीहरू प्रतियोगितामा खेलिरहनुभएको छ तर कतिपय स्थानीय तहहरूबाट खेलाडीहरूलाई सहयोग भएको देखिएन । जसले गर्दा प्रतियोगितामा दशवटा टिमहरू सहभागी भए पनि तुलसीपुर उपमहानगरपालिकाले बीचमै छोडेको छ । हरेक स्थानीय तहका लागि योभन्दा दुःखको कुरा के हुन्छ ? खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता अवसर होइन र ?

 प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धा बनाउनका लागि हरेक टिमले २ जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरू खेलिसकेका खेलाडीहरूलाई ल्याउने नियम बनाउनुभएको छ । आफ्नो टिममा नाम चलेका खेलाडीहरू ल्याउनका लागि स्थानीय तहहरूले आफै पहल गर्ने हो ?

 हो, हामीले प्रतियोगिता सञ्चालन गर्दा नियमहरू बनाएका छौँ । अहिले दशवटा स्थानीय तहबाट टिमहरू सहभागी हुने भए पनि प्रतियोगितामा दुई जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरू खेलिसकेका खेलाडीहरू सहभागी हुन पाउने व्यवस्था गरेका छौँ । अन्य खेलाडीहरूको हकमा स्थानीय तहमा बसोबाससँगै स्कूल तथा कलेजहरूमा अध्ययन गरिरहेका खेलाडीहरू पनि सम्बन्धित स्थानीय तहबाट खेल्न पाउने व्यवस्था रहेको छ । जहाँसम्म खेलाडी व्यवस्थापनको प्रश्न छ, त्यो खेलाडीहरूसँगको समन्वयमा स्थानीय तहले गर्ने काम हो । खेल क्षेत्रलाई बुझेका स्थानीय तहहरूले गरिरहनुभएको पनि छ ।

 जिल्लामा ठूलो प्रतियोगिता भयो तर खेल्नका लागि स्तरीय खेल मैदान भएन भन्ने गुनासो छ ?

 दाङमा भलिबलका स्तरीय खेल मैदानको अभाव छ । फुबटल, क्रिकेटसँगै केही इनडोर प्रतियोगिताका लागि खेलकुदका संरचनाहरू निर्माण भए पनि राष्ट्रिय खेलका रूपमा रहेको भलिबल खेलका लागि स्तरीय मैदान छैन । जसले गर्दा जिल्ला समन्वय समितिको मैदानलाई खेलकुद कोर्डका रूपमा विकास गरेर प्रतियोगिता गरिरहेका छौँ ।

स्तरीय खेलकुद मैदानका लागि स्थानीय सरकारले ध्यान दिन आवश्यक छ । कतिपय स्थानीय तहहरूमा निर्वाचनका क्रममा स्मार्ट सिटी, स्पोर्ट सिटी भन्ने गरिएको सुनिन्छ तर निर्वाचन सकिएपछि स्मार्ट वा स्पोर्ट सिटीका लागि आवश्यक पर्ने काम नहुँदा दाङमा खेलकुद क्षेत्रको विकास हुन सकिरहेको छैन । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।

 प्रतियोगितालाई दीर्घकालीन रूपमा लैजान के योजना बनाउनुभएको छ ?

 प्रदेशकै ठूलो राशीका रूपमा रहेको ‘खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’लाई दीर्घकालीन रूपमा सञ्चालन गर्नुका साथै विभिन्न सामाजिक क्रियाकलापहरू सञ्चालनका लागि नेपाली कांग्रेस दाङले एक करोड रूपैयाँ अक्षकोष स्थापना गर्ने निर्णय गरेको छ । जुनसुकै कामका लागि अर्थ महत्वपूर्ण भएकाले पार्टीले अर्थ जुटाउने काम गर्दैछ । एक करोड रूपैयाँको अक्षकोष स्थापना गर्न सफल भयो भने प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालनका साथै आगामी दिनहरूमा प्रदेश स्तरीय खेल चलाउन समेत सक्छौँ ।

 अन्त्यमा केही भन्नु छ ?

 अन्त्यमा के भन्न चाहन्छु भने नेपाली कांग्रेस दाङको आयोजनामा प्रतियोगिता भए पनि खेललाई पार्टीगत रूपमा हेर्नु हुँदैन । पार्टीले जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडीहरू पहिचानका लागि प्रतियोगिताको आयोजना गर्ने गरेको छ । यो अवसरलाई हरेक स्थानीय तह, संघसंस्था र सम्बन्धित व्यक्तिहरूले बुभ्mन आवश्यक छ ।

जिल्लाकै गौरवका रूपमा चलेको प्रतियोगितालाई सफल बनाउनका लागि सबैको सहयोग आवश्यक छ । सञ्चार क्षेत्रको पनि प्रतियोगितालाई सफल बनाउनका लागि सहयोग आवश्यक छ । त्यो निरन्तर रूपमा आगामी दिनहरूमा पनि भइरहोस् भन्दै प्रतियोगिताका सन्दर्भमा कुरा राख्न दिएकोमा धन्यावाद ज्ञापन गर्न चाहन्छु ।

Blog Post Ad Blog Post Ad