Ad Area

राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज


दाङ, २५ माघ । लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बुधवार मतदानको समय निर्धारण गरिएको छ । मतदानस्थल निर्माण, मतदानका लागि लाइनसँगै सुरक्षा व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । राष्ट्रियसभा सदस्यमा रिक्त रहेको एक सदस्यका लागि बुधवार लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुन थालेको हो ।

उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका–१५ को कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान स्थाल निर्माण गरिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताए । सूचना अधिकारी कुवँरकाअनुसार मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ । ‘राष्ट्रियसभा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ’, प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुवँरले भने, ‘बिहान १० बजेदेखि मतदानको व्यवस्था मिलाएका छौँ ।’

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या ३ सय ५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ । यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २ र २ तथा राप्रपा र जनता प्रगतिशीलले १ र १ स्थानमा जितेका छन् ।

त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४÷४, जसपा, लोसपा र जनमतले ३÷३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १÷१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् । उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहेका छन् । लुम्बिनीमा दलहरूको मतभारलाई नियाल्दा परिणाम एमालेका कुमार दशौदीको पक्षमा आउने आँकलन गरिएको छ ।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देही निवासी खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको पदमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुवँरकाअनुसार मतदान सकिएको एक घण्टाभित्रै मत परिणाम सार्वजनिक गर्ने गरी गणनाको तयारी भएको उनले बताए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad