Ad Area

आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै, आजै परिणाम आउने


घोराही, २५ माघ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनको हुन लागेको । बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा मतदानका लागि व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

एक मतदान स्थल रहेको उपनिर्वाचनमा दुई वटा मतदान केन्द्र रहेको छ । जसमा मतदान क मा प्रदेश सभा सदस्यहरुले मतदान गर्नुहुनेछ भने ख मतदान केन्द्रमा स्थानीय पालिका प्रमुख र उपप्रमुखले मतदान गर्नुहुनेछ । जसअनुसार क मतदान केन्द्रको मतदान अधिकृत घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत भोजराज घिमिरे र ख मतदान केन्द्रको मतदान अधिकृतमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन रहनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

निर्वाचन प्रयोजनका लागि १५ जना सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले मतदान सकिएको एक घन्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने बताउनुभयो ।

माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिनुभएको छ ।

सत्तारूढ एमालेका उम्मेदवार कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य दुवै रोल्पाका हुनुुहुन्छ । नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा उत्रिनुभएको छ । उहाँ सल्यानको हुनुहुन्छ ।

Blog Post Ad

एमालेका केन्द्रीय सदस्य दसौदीको समर्थकमा राप्रपाकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल बस्नुभएको छ ।

कांग्रेसका आचार्यले रोल्पा पूर्व जिल्ला सभापति हुनुहुन्छ । उहाँको प्रस्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी बस्नुभएको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रायको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी बस्नुभएको छ ।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नुहुनेछ । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहनुभएको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ रहेको छ भने पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

लुम्बिनी प्रदेशमा कुल १ सय ९ वटा पालिकाहरु रहेका छन् । तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ । नेकपा एमालेले २७, माओवादी केन्द्रले २५, जनता समाजवादी पार्टीले ३, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १–१ स्थानमा जितेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले ३–३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १–१ सिट जितेका छन् । स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

Blog Post Ad Blog Post Ad