Ad Area

जिल्लामा साबुन उद्योग, ‘स्मृति’को बजार माग


दाङ २६ माघ । दाङमा उत्पादन गरिएको स्मृति लुगा धुने साबुनको बजारमा माग बढ्दै गएको छ । जिल्लामै उत्पादन भएको साबुनको पछिल्लो समय माग बढ्दै गएको हो । घोराही उप महानगरपालिका वडा नं १६ रावतगाउँमा रहेको मेलिना मल्टिपल्स प्रालिले उत्पादन गरेको स्मृति साबुनको माग बढ्दै गएको उद्योगका सञ्चालक तुलसीराम चापागाइँले बताए । उनले गत माघ २६ गते ३ करोडको लगानीमा उद्योगको स्थापना गरेका हुन् ।

बैशाख महिनाबाट उत्पादन सुरु गरेको साबुन उद्योगले असार महिनामा ल्याव टेस्ट पास गरेको थियो । ‘उद्योगले उत्पादन गरेको साबुन गुणस्तरीय भएकाले एक पटक प्रयोग गरेरकाले माग गर्ने गर्नुभएको छ’, सञ्चालक चापागाइँले भने । गुणस्तरीयतालाई आफूले प्राथमिकता दिएर उत्पादन गरेको उनले बताए । ‘धेरैले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु पर्दछ भनेर प्रयोग थाल्नु भएको छ, उत्पादन गरिएको साबुन घोराही, नारायणपुर, बिजौरी, तुलसीपुर, हापुरे, लमही, भालुवाङ, गढवालगायतका क्षेत्र तथा सल्यान, सुर्खेत सम्म जाने गरेको छ’ उनले भने ।

उद्योगले अहिले २० रूपैयाँ र ४० रूपैयाँको साबुन उत्पादन गरेको छ । केही समयमै ३० रूपैयाँ र ५० रूपैयाँको साबुन उत्पादन गरिने उनले बताए । उद्योगले दैनिक ५ हजार पिस साबुुन उत्पादन गर्ने गरेको छ । उद्योगको क्षमता १० हजार पिस प्रतिदिन उत्पादन गर्नेछ । ‘उत्पादन क्षमता धेरै भए पनि अहिले पूर्ण क्षमतामा उत्पादन गरिएको छैन’, उनले भने, ‘विस्तारै उत्पादन बढाउँदै लैजाने योजना छ ।’

अहिले उद्योगमा ११ जनालाई रोजगारी समेत प्रदान गरिएको छ । उत्पादन बढेमा थपलाई रोजगारी दिन सकिने सञ्चालक चापागाइँ बताउँछन् । ‘अहिले सुरुवातको चरणमै रहेका छौँ, विस्तारै उत्पादन वृद्धिसँगै थपलाई रोजगारी दिइनेछ’, उनले भने । ३ वर्षसम्म विदेशमा काम गरेका उनले नेपाल फर्किएपछि व्यवसाय गरेका थिए ।

‘व्यवसायभन्दा पनि उत्पादनमा जोडिनु पर्दछ भन्ने सोचले साबुन उद्योग स्थापना गरेको हुँ’, उनले भने । जिल्लामै साबुन उत्पादन भएपछि बाहिरबाट लुगा धुने साबुन ल्याउन समेत नपर्ने उनी बताउँछन् । साबुन उत्पादनका लागि कच्चापदार्थ वीरगञ्जबाट ल्याउने गरिएको छ । ‘जिल्लामा पाइने कच्चापदार्थ तथा वीरगञ्जबाट कच्चापदार्थ ल्याएर साबुन उत्पादन भइरहेको छ’, उनले भने ।

उद्योगका लागि आवश्य पर्ने जनशक्ति समेत समस्या रहेको उनी बताउँछन् । दक्ष जनशक्ति बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको छ । सानो समस्या देखिए पनि बाहिरबाट मिस्त्री ल्याएर समस्या रहेको उनले बताए । ‘स्थानीय उत्पादनलाई राज्यले प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने हो तर हालसम्म केही छैन’, उनले भने । सर्फ र नुहाउने साबुन उत्पादन गर्ने योजना रहे पनि बैंकबाट ऋण पाउन सक्दा समस्या भएको उनले बताए । साना उद्योगलाई यसले थप समस्या बनाएको उनले बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad