Ad Area

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता, उपाधिका लागि घोराही र लमही भिड्ने


दाङ,२६ माघ । घोराहीमा जारी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि घोराही उपमहानगरपालिका र लमही नगरपालिका भिड्ने भएका छन् ।

नेपाली कांग्रेस दाङको आयोजनामा माघको २० गतेबाट जारी लिग कम नकआउट प्रतियोगितामा बिहीबार भएको सेमिफाइनल खेलमा लमही नगरपालिकाले शान्तिनगर गाउँपालिकालाई र घोराही उपमहानगरपालिकाले राजपुर गाउँपालिकालाई हराउँदै उपाधि नजिक पुगेका हुन् ।

घोराही १५ सहिद मन्चमा भईरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा लमहीले शान्तिनगरलाई ३–१ को सेटमा हराउँदा घोराहीले राजपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । लमही र शान्तिनगर बीचको खेलमा लमहीले २५–२३, १९–२५, २५–१९ र २५–१३ सेटमा जितेको हो । यसैगरी, घोराही र राजपुरबीच भएको दोश्रो सेमिफाईनलमा २५–१७, २५–२१ र २५–२१ को सोझो सेटमा घोराहीले जितेको हो ।

अब उपाधिका लागि शुक्रबार २ बजेपछि घोराही र लमही भिड्नेछन् । तेश्रो स्थानका लागि फाईनल खेलअघि सेमिफाइनलमा पराजित भएको शान्तिनगर र राजपुर बिच खेल हुने प्रतियोगिता आयोजक कमिटी संयोजक राजु आचार्यले जानकारी दिनुभयो । लमहीको टीममा कप्तान गणेश बुढा, नवीन गाहा, विकास गिरी, तिलक गुरुङ, संजय पुन, दिपेन्द्र कुमाल, सुमित चौधरी, आशाराम चौधरी, खगेन्द्र बिक, विष्णु बस्नेत, ज्ञानेन्द्र बस्नेत र गुमानसिंह गिरी रहेका लमहीका कोच रविन जिसीले बताउनुभयो ।

यसैगरी, घोराहीको टीममा कप्तान शरद थापा मगर, विशाल बहादुर बिक, रविन चन्द, विज्ञान थापा, दिनेश थापा मगर, विरेन्द्र थापा मगर, छवि घर्ती मगर, रोहन परियार, विवश वली, दिलकुमार केसी र नरेन्द्र खड्का रहेका घोराहीका कोच ओकबहादुर बिकले बताउनुभयो । जिल्लाका दस वटै पालिकाको सहभागीता रहेको प्रतियोगितामा यो पटक नयाँ विजेता बन्ने भएको छ ।

गत संस्करणको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको थियो । हरेक पालिकाको टीममा दुई जना राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता खेली सकेका खेलाडी समावेश गर्न सकिने प्रावधान अनुसार यो पटक जिल्लाका ३ वटा पालिकाले स्थानीय खेलाडीहरुको क्षमता विकासका लागि ६ जना सहभागी गराएका छन् । जस अनुसार राप्ती गाउँपालिकाले नेपाली भलिबलको राष्ट्रिय टोलीको कप्तानसमेत रहनुभएका मानबहादुर श्रेष्ठ र अर्का खेलाडी धनबहादुर भट्टलाई समावेश गरेको थियो ।

Blog Post Ad

घोराही उपमहानगरपालिकाले पनि राष्ट्रिय टोलीका सदस्य रविन चन्द, विशालबहादुर बिकलाई समावेश गरेको छ भने शान्तिनगर गाउँपालिकाले पनि राष्ट्रिय भलिबल खेलाडीहरु रुपबहादुर गुरौँ, कमल गहतराजलाई सहभागी गराएको छ । दुई समुह बनाएर खेलाईएको प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा लमही र घोराही भिडेका थिए । पाँच सेट खेल भएको प्रतियोगितामा घोराहीले जितेको थियो । जारी प्रतियोगितामा साविक विजेता तुलसीपुर उपमहानगरपालिका र उपविजेता रहेको राप्ती गाउँपालिका बाहिरिएकाले यो पटक नयाँ टीमले उपाधि जित्ने भएको छ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुनेले ५६ हजार २ सय ५० र चौथो हुने टीमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने छन् भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । सरकारले राष्ट्रिय खेलका रुपमा घोषणा गरिसकेको भलिबल खेलको विकाससँगै युवाहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने लक्ष्यका साथ दाङ कांग्रेसले आफ्नै लगानीमा खेलाडीको सबै खर्च व्यहोर्ने गरी प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा राष्ट्रिय रेफ्री द्रोण चन्द, प्रदेश रेफ्रीहरु भरत कवँर र धनमाया बोहरा रहनुभएको छ । कुल १० जना खेल प्राविधिकले प्रतियोगितामा खेल खेलाउने काम गरिरहेका छन् । यसैबीच, लमही नगरपालिकाका कोच रविन जिसीले लिग चरणको अन्तिम खेलमा आफुले व्यहोरेको हारको बदला फाईनलमा लिँदै उपाधि जित्ने दावी गर्नुभएको छ । यसअघिका खेलमा भएका कमीकमजोरी सुधार्दै फाईनलमा उपाधि रक्षा गर्ने दाउका साथ रणनीति तय गरेको हुँदा यो पटककको उपाधि लमहीले जित्ने दावी गर्नुभयो ।

यसैगरी, लिगको पहिलो खेलमा व्यहोरेको हारपछि गल्ती र कमजोरी सुधार्दै लयमा रहेको घोराही उपमहानगरपालिकाको टीमले आफू नै यो पटकको उपाधि हकदार रहेको दावी गरेको छ । टीम कोच ओमबहादुर बिकले आफ्नो टीममा राष्ट्रिय खेलाडीसहित युवा खेलाडीहरुको टीम सन्तुलित बनेको र खेलमा लय रहेको हुँदा यो पटक घोराहीले नै जित्ने विश्वास व्यक्त गर्नुभयो । जीतका लागि रणनीति बनाई सकेको बताउँदै यसअघि लमहीलाई हराएकाले पनि टीम उच्च मनोबलमा साथ कोर्टमा उत्रिने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad