Ad Area

राष्ट्रियसभामा दसौदी निर्वाचित


घोराही, २५ माघ । राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उम्मेदवार कुमार दसौदी विजयी हुनुभएको छ ।

बुधबार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको उपनिर्वाचनमा खसेको कुल मतभार ७ हजार ९ सय मत मध्ये दसौदीले प्रदेशतर्फ २ हजार ६४ र स्थानीय तहतर्फ १ हजार ९ सय ६२ गरी जम्मा ४ हजार २६ मतभार प्राप्त गरि विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १ हजार ७ सय ७६ र स्थानीय तहतर्फ १ हजार ९ सय ४४ जम्मा ३ हजार ७ सय २० मत प्राप्त गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो । लुम्विनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख गरि ३ सय ५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनुभएन । उहाँ बिरामी भई उपचारका लागि भारत गएकाले मतदानमा सहभागी नहुनुभएको बताइएको छ ।

सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित हुनुभएको हो । एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले असोजमा राजीनामा दिएपछि उपनिर्वाचन भएको हो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad