Ad Area

कुसुण्डा भाषाकी एक्ली बक्ता कमला


घोराही, २८ माघ । तीन वर्ष अघिसम्म ४७ वर्षीय कमला सेन कुसुण्डाले आफ्नी दिदीसँग आफ्नो मातृभाषा कुसुण्डा भाषामा कुरा गर्नुहुन्थ्यो । उहाँसँग कुराकानी गर्नका लागि दिदी ज्ञानुमैया सेन कुसुण्डा हुनुहुन्थ्यो ।

दिदीबहिनीको भेटमा सुखदुःख तथा पारिवारिक कुराकानी साटासाट आफ्नै भाषा हुन्थो । तर २०७७ साल माघ १९ गते दिदी ज्ञानुमैयाको निधन भएपछि कमलाले दिदीसंगै भाषा समेत बिर्सिन थालेको बताउनुहुन्छ । ‘भाषा जति बोल्यो त्यति सम्झिनी हो । तर हाम्रो समुदायमा कुसुण्डा भाषा बोल्ने कोही छैन’,कमलाले भन्नुभयो,‘दिदी हुँदा भेटमा कुरा गर्ने हुन्थ्यो । उहाँ बितेपछि कुसुण्डा भाषा बोल्न छोडे जस्तै भाछ ।’ घरपरिवारसँगै आफ्नो समुदायमा भाषा बुझने र बोल्न सक्ने कोही नहुँदा भाषा जोगाउनै समस्या भएको उहाँ बताउनुहुन्छ ।

२०६८ सालको जनगणना अनुसार नेपालमा कुसुण्डा जातिको संख्या २ सय ६२ जना रहेको छ । २ सय ६२ जनामा कुसुण्डा भाषा पूर्ण रुपमा बोल्न सक्ने वक्ताका रुपमा ज्ञानीमैया र कमला मात्रै हुनुहुन्थ्यो । तर ज्ञानुमैयाको मृत्युपछि अहिले कमला भाषाको जानकारका रुपमा एक्ली बक्ताका रुपमा हुनुहुन्छ । कुसुण्डा भाषा बोल्ने र बुभ्mने एक्ली बक्ताका रुपमा रहनुभएकी कमलालाई भाषा बच्ला कि नबच्ला भन्ने चिन्ता छ । ‘सानोमा बुबाआमाबाट भाषा सिके । दिदी रहदाँसम्म आफ्नै भाषामा बोलचाल हुन्थ्यो तर अहिले उहाँहरु कोही हुनुहुन्न’,कमलाले भन्नुभयो,‘अरुलाई कुसुण्डा भाषा आउँदैन ।’

पहिले कसैले नबुझ्ने कुसुण्डा भाषा के काम लाग्ला भनेर आफ्ना छोराछोरीलाई नसिकाएको भन्दै कमलाले अहिले नातीनातिनाहरुलाई सिकाउदा समेत नबुझ्ने गरेको बताउनुहुन्छ । ‘घरमा पहिलेदेखि नै कुसुण्डा भाषा बोल्ने म मात्रै थिए । त्यसैले कसैले नबुझ्ने भाषा के काम लाग्ला भनेर आफ्नै छोराछोरीलाई सिकाइन । उनीहरु मध्य कोही बिबाह गरेर टाढा भए’,उहाँले भन्नुभयो,‘अहिले घरमा नातिनातिनाहरुलाई सिकाउँदा बुझ्दैनन् र मन पनि गर्दैनन् ।’

तर भाषा आयोगको सहयोगमा थोरै भएपनि नयाँ पुस्ताले कुसुण्डा भाषा सिक्न थालेकोमा कमला खुसी हुनुहुन्छ । ‘भाषा आयोगको सहयोगमा कुसुण्डा समुदायकै केही नयाँ पुस्ताले भाषा सिक्दै छन् । यो राम्रो काम हो’, कमला भन्नुहुन्छ,‘उनीहरुले राम्रोसँग सिके भने कुसुण्डा भाषा बच्ने थियो ।’ लोपोन्मुक अवस्थामा पुगेको कुसुण्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक व्यक्तिहरुलाई भाषा सिकाउन थालेपछि चार बर्षअघि भाषा सिक्नकै लागि प्युठानबाट दाङ आउनुभएकी हिमा कुसुण्डा अहिले सामन्य रुपमा आप्mनो भातृभाषा बोल्न र लेख्न सक्ने भएको बताउनुहुन्छ । ‘म कुसुण्डा जातिकी छोरी भएपनि मलाई आफ्नो भाषा आउँदैन थियो । त्यसैले आफ्नो भाषा सिक्नुपर्छ भनेर प्युठानबाट दाङ आएर पढाईसँगै आफ्नो मातृभाषा सिक्दै छु’, हिमा भन्नुहुन्छ,‘अहिले आफ्नो भाषामा सामान्य कुरा गर्न र लेख्न सक्ने भएकी छु ।’

आफ्नो पूर्खाले बोल्ने गरेको भाषा सिक्ने र संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नै आफु भाषा सिक्न थालेको उहाँको भनाई छ । ‘म घरमा हुँदा हजुरबुबा केही शव्दहरु बोल्नुहुन्थ्यो तर सवै उहाँलाई आउँदैन थियो’,उहाँले भन्नुभयो,‘जसले गर्दा सिक्ने ठाउँ थिएन । तर चार बर्ष अघि भाषा आयोगको सहयोगमा कुसुण्डा भाषा पढाई हुन थालेको थाहा पाएपछि म यहाँ आएर पढिरहेकी छु ।’ पुर्खाको भाषा भएपनि आफ्नाका नयाँ भाषा भएकाले सिक्दा केही समस्या भएपनि नयाँ अनुभति भैरहेको उहाँ बताउनुहुन्छ ।

Blog Post Ad

हिमा मात्रै नभएर भाषा आयोगको सहयोगमा ९० घण्टाको कक्षाले २० जना नयाँ पुस्ताले कुसुण्डा भाषा सामान्य रुपमा बोलचाल गर्न सक्ने भएको कुसुण्डा भाषाका विज्ञ एवं प्रशिक्षक उदयराज आलेमगर बताउनुहुन्छ । नयाँ पुस्ताले सिक्न थालेपछि स्वर्गीय ज्ञानीमैया र कमला दिदीबहिनीमा मात्रै सिमित कुसुण्डा भाषा पुस्तान्तरण हुन थालेको प्रशिक्षक आले बताउनुहुन्छ । ‘कुसुण्डा भाषा बोल्ने पूर्ण जानकार रुपमा ज्ञानीमैया र कमला मात्रै हुनुहुन्थ्यो । अरुले बुझनु हुँदैन थियो । उहाँहरु मध्य ज्ञानुमैयाको निधन भएपछि भाषा लोप हुने डर थियो’,प्रशिक्षक आलेले भन्नुभयो,‘तर अहिले भाषा सिक्नका लागि नयाँ पुस्तामा देखिएको उत्सुक्ताले भाषा संरक्षणसँगै पुस्तान्तरणले केही आशा पलाएको छ ।’

लोपोन्मुख भाषा नयाँ पुस्तामा हस्तान्तरण गर्दै भाषाको संरक्षण र विकासका लागि ९०÷९० घण्टाका तीन चरणका कक्षा संचालन गरिएको अव अन्तीम चरणको कक्षा संञ्चालनको तयारी रहेको प्रशिक्षक आलेले बताउनुभयो । उहाँका अनुसार घोराही उपमहानगरपालिका–५ स्थीत महेन्द्र माध्यामिक विद्यालयमा कुसुण्डा समुदायसँगै गैरकुसुण्डा समुदायका गरि १२ जना र घोराही उपमहानगरपालिका–१८ को सुपैलाखुटीमा ८ जना गृहणी महिलाले कुसुण्डा भाषा सिक्दै आउनुभएको छ । अहिले सुकुण्डा भाषा सिक्नका लागि कुसुण्डा शव्दकोष, कुसण्डा शव्दचित्र, कुसुण्डा पाठ्यक्रम, गेम्याक र सोजक गरी पाँच वटा पुस्तक प्रकाशन भएका छन् । कुससण्डा जाति दाङ, रोल्पा, प्युठान, सुर्खेत,तनहँु, गोरखा,कपिलवस्तु र अर्घाखाँची जिल्लामा बसोवास गर्ने गर्दछन् ।

Blog Post Ad Blog Post Ad