Ad Area

संघीयतालाई बचाउदै देश बनाउनका लागि दलहरु एक ठाउँमा उभिन आवश्यक : कांग्रेस नेता सिंह


घोराही, २८ माघ । नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले संविधानसभाबाट नेपाली कांग्रेसको नेतृत्वमा जारी संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानको पूर्ण कार्यान्वयनमा अन्य राजनीतिक दलको ईच्छाशक्ति कमजोर हुँदा संघीयताका विषयमा नकारात्मक विचार पैदा हुने स्थिति सिर्जना भएको बताउनुभएको छ ।

प्रेस युनियन दाङ शाखाले आज बिहान गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले राजनीतिक परिवर्तनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर जारी भएको संविधान पनि सबै दलबाट कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभयो । बहुदलीय व्यवस्था रहेको नेपालको शासन प्रणालीमा अरु राजनीतिक दलले सत्ता संचालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र नेपाली कांग्रेसले उठाउदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको टिप्पणी गर्नुभयो ।

उहाँले जनताको अभिमतबाट बनाईएको संविधान बचाउन र अक्षरश कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागि रहने बताउनुभयो । मुलुकमा राजनीतिक स्थायित्वका लागि हिजोका दिनमा जसरी सबै दल एक ठाउँमा उभिएर अघि बढेको जस्तै अब देश विकासका लागि, नागरिकको जनवीविका उकास्नका लागि दलहरु केन्द्रित हुन आग्रह गर्नुभएको थियो ।

यसैबीच, वर्तमान मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा धारणा राख्दै अहिलेको गठबन्धन दिगो रुपमा जान नसक्ने तर्क गर्नुभयो । सुदूरपश्चिम प्रदेश सरकार ढले जस्तै अरु ठाउँमा पनि स्थिति असहज बन्दै गएको हुँदा देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउन सक्ने सम्भावना बढ्दै गएको बताउनुभयो । पत्रकार सम्मेलन प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो ।पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियनका सचिव आर के शीतलले गरेका थिए ।

Blog Post Ad Blog Post Ad