Ad Area

राष्ट्रपति भोली दाङ आउँदै


घोराही, २ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आउन लाग्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय दाङले आयुर्वेद तर्फको बिएएमएस कक्षा संचालनका लागि निर्माण गरेको भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी फागुनको ३ गते बेलझुण्डी आउन लाग्नुभएको हो ।

नवनिर्मित भवनको उद्घाटन कोरोना महामारीका कारण रोकिएकाले अहिले सहज अवस्था बनेपछि उहाँ आउन लाग्नुभएको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादव लामिछानेले जानकारी दिनुभयो । उपकुलपति लामिछानेका अनुसार २०७२ सालपछि निर्माण गरिएको ३ वटा ब्लक रहेको बिएएमएस कक्षा संचालनका लागि निर्मित भवन औपचारिक उद्घाटन हुन बाँकी रहेकाले उहाँको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको छ । सानाठूला सबै गरी १ सय ८ वटा कोठा रहेको भवनमा विद्यार्थीको सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षा तथा प्राध्यापकहरुको कोठा पनि रहेका उहाँले बताउनुभयो ।

करीव २४ करोडको लागतमा निर्मित भवनको रंगरोगन गरी उदघाटनका लागि सजाउने काम भएको उहाँको भनाई छ । बिएएमएसका लागि सबै वर्षको गरी त्यहाँ २ सय २५ जना विद्यार्थी अध्ययनरत छन् । साढे पाँच वर्षको पढाई हुने उक्त कक्षाका लागि आवश्यक पूर्वाधार तयार पारिएकाले यसको प्रचारप्रसार गर्न पनि राष्ट्रपतिको उपस्थितीमा उद्घाटन कार्यक्रम आयोजना गरिएको उपकुलपति लामिछानेले बताउनुभयो ।

यसैबीच, उदघाटनको तयारी तीव्र पारिएको नेपाल संस्कृत विश्वविद्यालयले जनाएको छ । ३ गते उद्घाटनका लागि सुरक्षा व्यवस्थालगायत अरु आन्तरिक व्यवस्थापनको काम तीव्र रुपमा भईरहेको बताइएको छ । जसका लागि नेपाली सेना, प्रहरीसँग समन्वय गरी धमाधम काम भईरहेको बताइएको छ । यस्तै, उक्त दिन उदघाटन समारोहमा सहभागी जिल्लामा रहेको सरोकार सबैलाई निमन्त्रणा पठाउने काम पनि भईरहेको आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad