Ad Area

तोरी बाली नस्याहार्दै ज्ञान केन्द्रले निकाल्यो जिल्लाभरको तथ्यांक


घोराही, २ फागुन । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर सिरुवा टोलका ताराबहादुर केसी घरको आँगनमा बारीबाट छिनेर ल्याएको तोरी गोरुले दाउँदै हुनुहुन्थ्यो । यो वर्ष असोजको दोश्रो हप्ता पानी परेकाले उहाँलाई केही ढिलो गरी तोरी छर्नु पर्यो । पानीपरेर बारी ओसिलो भएकाले ढिलो गरी छरेको तोरीका बोट राम्रै भएपनि भने जस्तो फल भने लागेन । ‘बोट त राम्रै भएको हो तर फल भने जस्तो लागेन’, उहाँले भन्नुभयो, ‘रोग किराले नोक्सान गरेन, जति फल्यो राम्रै भएको छ ।’

मुमबहादुर केसीले पनि आफ्नै आँगनमा गोरु नारेर तोरी दाउने काममा व्यस्त हुनुहुन्थ्यो । यो सिजन तोरी स्याहार्ने पनि हो । असोजताका छरेको तोरी यतिबेला स्याहार्ने भएको छ । सिरुवा टोलकै उहाँको पनि यो पटक तोरी भने अनुसार फलेको छ । घोराही ४ लक्ष्मीपुरकी तारा आचार्यले पनि खेत र बारीमा छरेको तोरी स्याहारेर राख्नुभएको छ । उहाँको बारीमा पनि यो पटक विगत वर्ष जस्तो धेरै तोरी फलेन । ‘जति फलेको छ, ठिकैछ भन्नुपर्यो, नभएको भन्न मिल्दैन, राम्रै छ तर समयमा मल र पानी हाल्न पाएको भए अझ फल्थ्यो की भन्ने लागेको हो’, उहाँले भन्नुभयो, ‘जति फलेको छ, सन्तोष गर्ने पर्यो ।’

दाङका धेरै जसो ठाउँमा पहिले भन्दा यो पटक तोरी राम्रो फलेको छ । तोरी फलेपछि किसान किनै हर्षित छन् । घोराही १७ ओखराका रामप्रसाद चौधरीले बारीमा छर्नुभएको तोरी निकै राम्रो भएको छ । यो वर्ष तोरी फलेको देखेर उहाँ निकै खुशी हुनुभएको छ । ‘पोहोर सालभन्दा यो पटक तोरी राम्रो फलेको छ, बोट पनि रोग किराले खान पाएन, पानी नपरे पनि बोट र दाना राम्रो भयो, उहाँले भन्नुभयो, ‘तोरी हुन्न की भनेको थिएँ, राम्रो भयो, खुशी लागेको छ ।’

जिल्लाको देउखुरी क्षेत्रका किसानले यो पटक तोरी निकै फलेको बताएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ७ की हिरा चौधरीले खेतमा छर्नुभएको तोरी निकै राम्रो भएको बताउनुभयो । ‘बोट पनि निकै सप्रेको थियो । दाना पनि निकै राम्रा थिए । तोरी राम्रो भएको छ, उहाँले भन्नुभयो, ‘यो पटक त अचम्मै राम्रो भयो ।’ दाङ तोरीका लागि प्रख्यात जिल्ला हो । यहाँको तोरीको आफ्नै विशेषता छ । जिल्लामा तोरीका साथै तलहन बाली अन्तरगत सर्यो तोरी, रायो तोरी, सूर्यमुखी, तिल, बदाम, आलस बाली उत्पादन हुने गरेको छ ।

दाङमा किसानले अझै सबै ठाउँमा तोरी बाली स्याहारि सकेका छैनन् । अहिले पनि धेरैजसो ठाउँमा तोरी छिनेर स्याहार्ने काम भईरहेको छ । तर, कृषि ज्ञान केन्द्र दाङले भने जिल्लामा तोरीको उत्पादनको तथ्यांक तयार पारिसकेको छ । जिल्लामा तोरीको उत्पादन यकिन गर्न सबै ठाउँको फसल भित्र्याएपछि हुनुपर्नेमा किसानले तोरी भित्र्याउन नपाउँदै जिल्लामा तोरीको उत्पादनको अवस्था आईसकेको छ ।

जिल्लामा गत वर्ष १८ हजार ३ सय हेक्टरमा रोपेको तोरीको उत्पादन २३ हजार ७ सय ९० मेट्रिक थियो तर यो वर्ष १८ हजार १ सय १० हेक्टरमा रोपेको तोरीको उत्पादन घटेर २१ हजार ७ सय ३२ मेट्रिक टन मात्रै भएको छ । यो तथ्यांक तोरी सबै स्याहारी नसकेको अवस्थामा तयार पारिएको छ । जसका कारण उपादन अनुपात बढ्न सक्ने अनुमान गरिएको छ । यद्यपि, छर्न ढिला र पानी नपर्दा उत्पादनमा कमि आएको कृषि ज्ञान केन्द्र दाङको भनाई छ ।

Blog Post Ad

तोरी सबै ठाउँमा स्याहारी नसक्दा जिल्लामा तोरीको उत्पादन घटेको तथ्यांक आउनुले कृषि ज्ञान केन्द्रको तथ्यांक यकिन नै हो भन्न सक्ने अवस्था छैन । कृषि ज्ञान केन्द्रलगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेको तथा सिँचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको तर मौसमले भने साथ नदिदा तोरीलगायतका तेलहन बालीको उत्पादन घटेको दावी गरिएको छ ।

दाङका सबै पालिकामा तोरीको उत्पादन हुने गरेको छ । तोरीको पकेट क्षेत्रसमेत निर्धारण गरेर पछिल्ला केही वर्षयता सरकारले कार्यक्रम पनि संचालन गरिरहेकाले यसले प्राथमिकता पनि पाउने गरेको छ । यद्यपि, यो वर्ष तोरी छर्ने स्थानमा कृषकले अरु अन्नबाली लगाएकाले तोरी कम मात्रामा छरिएको तथ्यांक देखाएको छ । सो स्थानमा अरु कुन बाली लगाए भन्ने यकिन भने गरिएको छैन ।

‘पहिलेको वर्षभन्दा यो वर्ष जिल्लाका स्थानीय इकाईबाट लिएको तथ्यांक अनुसार तोरी कम क्षेत्रफलमा छरेको जानकारी पाएका थियोँ, त्यसैगरी तोरी छर्ने बेलमा पानी पर्यो, त्यसले पनि ढिला गरेको बुझेका छौँ’ कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछानेले भन्नुभयो, ‘हिउँदमा पानी परेन, रोपिएको क्षेत्रफल पनि घटेकाले उत्पादन पनि घटेको अनुमान गरेका हौँ, समग्र जिल्लाभरको तोरी उत्पादनको अवस्था यो भन्दा केही फरक पनि हुन सक्छ ।’

उहाँका अनुसार, तोरी छरिएको कुनै ठाउँमा तोरीको उत्पादकत्व र उत्पादनको अवस्था बारेमा जानकारी लिन क्रप २÷५ वर्ग मिटर नापेर कटिङ गरेर रेसियो निकाल्ने काम गरिन्छ । यद्यपि, यो मापदण्डले कतै धेरै त कतै कम आउने हुँदा नमूना लिएका ठाउँको समग्र अवस्थालाई आधार मानेर सरदरमा उत्पादनको अनुपात निकाल्ने काम हुने उहाँले बताउनुभयो । जिल्लामा तोरीको उत्पादन बढाउँदै किसानहरूलाई तोरीबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले पश्चिम दाङलाई तोरी जोनका रूपमा विकास गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पश्चिम दाङका बबई, दंगीशरण र शान्तिनगर गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १ र २ लाई समेटेर ‘तोरी जोन’ का रूपमा विकास गरिएको हो । परियोजनाअन्तर्गत उक्त क्षेत्रको करिब १ हजार २ सय हेक्टर जमिनलाई समेटेर तोरी जोन बनाईएको छ ।

तोरी जोन लागू भएपछि तोरी उत्पादनसँगै प्रशोधनको कामसमेत गर्नेगरी परियोजना संचालनमा छ । जोनअन्तर्गत कृषि व्यवसाय प्रवद्र्धनका लागि कृषि बजार केन्द्र स्थापना, स्रोत केन्द्र सहयोगका लागि मूल बीउ, नर्सरी, प्रविधि तथा प्राविधिकतर्फ प्राविधिक सहायक, कृषि स्तानक विषय विशेषज्ञ, माटो, बीउ, बाली संरक्षण तथा खाद्य प्रविधि मोबाइल प्रयोगशाला सेवा किसानहरूलाई उपलब्ध गराउने काम हुँदै आएको छ । १० वर्षका लागि सञ्चालित परियोजनाका लागि १ अर्ब ३० खर्ब बजेट विनियोजन गरिएको छ ।

Blog Post Ad Blog Post Ad