Ad Area

पिर फेर्ने मेलाका लागि सिंगारियो सिद्धरत्ननाथ मठ


घोराही, ३ फागुन । दाङको धार्मिक एवं ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) चौघेरामा प्रत्येक बर्ष लाग्ने पिरफिर्ने मेला यसबर्ष भोली विहिवार लाग्ने भएको छ ।

हरेक वर्ष फागुन कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधिश.(पीर) फेर्ने दिनको अवसरमा मेला लाग्ने गर्दछ । पिरफिरे मेलाका लागि अवसरमा मण्डव तथा स्वागतद्वार निर्माण, मन्दिरमा रंगरोगन र सरसफाइलगायतका कामहरु भैरहेका छन् ।

मठाधिशलाई मठको प्रमुखका रुपमा मान्ने प्रचलन रहेको छ । मठाधिश भएपछि मन्दिर परिसरभन्दा बाहिर निस्कन नपाउने र दैनिक पूजाआजामा मात्रै सहभागी हुन पाउने व्यवस्था रहेको छ । मठाधिश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी हुनुपर्ने परम्परा रहेको गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेरा व्यवस्थापन समितिका कार्यालय सचिव हिरानाथ योगीले जानकारी दिएका छन् ।

उनका अनुसार मठाधिश चयनका लागि मठका सञ्चालकहरु, योगीहरु र भद्रभलादमीहरुले दलिचा बैठक गरी चुन्ने परम्परा छ । विक्रम सम्बत ८०९ सालदेखि नै पिर स्थापना र मेलाको आयोजना हुँदै आएको उनले बताए । दाङका तत्कालिन थारु राजा रत्न पारखुको पालादेखि यो मठाधिश राख्ने र मेला लाग्ने प्रचलन चलिआएको विश्वास छ ।