सहज र सुरक्षित खानेपानी नागरिकको अधिकार हो : मन्त्री शर्मा

घोराही, ३ फागुन । नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि आफु गम्भीर रहेको बताउनुभएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बुधबार आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उहाँले बढ्दो जनसंख्या अनुसार खानेपानीको सहज उपलब्धताका लागि राज्यका तर्फबाट खेल्नुपर्ने भूमिकामा आफ्नो पहल रहने प्रतिवद्धता जनाउनुभयो ।
स्थानीय सरकारले साना आयोजना, प्रदेश सरकारले मझौला आयोजना तथा संघ सरकारल ठूला आयोजनामा काम गर्नुपर्ने संविधानकै स्पष्ट उल्लेख भएको हुँखा माग र आवश्यकताको प्राथमिकीकरण गरेर हुँदै आएका कामलाई थप स्तरीय र आगामी योजनालाई सबैसँगको सहकार्यमा कार्यान्वयनमा लैजान आफ्नो तर्फबाट नेतृत्वदायी भूमिका रहने वचन दिनुभयो । पर्याप्त र सुरक्षित खानेपानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको हुँदा यो विषयमा आफु निकै गम्भीर रहेको स्पष्ट पार्नुभयो ।
घोराही खानेपानी संस्थाले संस्थागत रुपमा गर्दै आएको कामका कारण अहिलेको अवस्थामा घोराही क्षेत्रमा खानेपानीको समस्या हल भएपनि आगामी दिनमा हुन सक्ने समस्यालाई बुझेर दीर्घकालीन योजनाका साथ थालेको कामलार्ई सफल बनाउन प्रदेश र संघ सरकारसँग पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजु खनालले संस्थाले बढ्दो सहरीकरणमा भोलिका दिनमा पानीका कारण घोराहीमा भोलिका दिनमा हुन सक्ने पानीको संकट टार्न घोराही खानेपानीले थालेको प्रयासमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । कटुवा खोलाको मुल संरक्षणका लागि खहरे खोला संरक्षण गरेर पानी रिचार्ज गरेर दीर्घकालीन खानेपानी समस्या हल गर्न प्रदेश सरकारका तर्फबाट पहल हुने उहाँको वचन थियो । आफु पनि घोराही खानेपानी संस्थाको उपभोक्ता रहेको बताउँदै समस्यारहित बनाउन लागि पर्ने वचन दिनुभयो ।
अर्को प्रदेश सभा सदस्य प्रचण्डविक्रम न्यौपाने दाङलाई मरुभूमि हुनबाट रोक्न र खानेपानीको सहज आपूर्तिका लागि सबै सरकारको भुमिका अपरिहार्य रहेको बताउनुभयो । जिल्ला बढ्दो जनसंख्या र सहरीकरणका कारण बिस्तारै खानेपानीको समस्या बढ्नसक्ने अवस्था रहेको हुँदा यो विषयमा सबै मिलेर पर्यावरण जोगाउँदै नागरिकलाई सहज रुपमा सुरक्षित पानी दिलाउन गम्भीर हुनुपर्ने बताउनुभयो । यो अभियानमा घोराही खानेपानी संस्थाले खेल्दै आएको भुमिकाका कारण घोराही क्षेत्रमा खानेपानी आपूर्ति सहज भएको बताउनुभयो ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले यस क्षेत्रको खानेपानीको समस्या समाधानका लागि पछिल्लो समय बबई लिफ्टिङ खानेपानी परियोजनाको पूर्वाधार विकासमा अघि बढेको छ । २०८१ सालसम्ममा काम सम्पन्न गरी परियोजना लागू गर्ने संस्थाले बताएको छ । बबई लिफ्टिङ परियोजना लागू भएमा आगामी ४० वर्षका लागि घोराहीमा खानेपानीको समस्या समाधान हुने संस्थाले दावी गरेको छ ।
हाल संस्थाको दैनिक ४० लाख ८ हजार घरका धारामार्फत वितरण गर्दै आएको छ । हाल १ सय ३० लिटर प्रतिलिटर प्रति सेकेन्ड पानी संकलन गर्दै आएको घोराही खानेपानीले परियोजना लागूभएमा प्रति सेकेन्डमा दुई सय पचास लिटर पानी उपलब्ध हुनेछ । जसले २० हजार घरमा प्रसस्त दैनिक १ करोड बढी सुरक्षित खानेपानी पुर्याउन सकिने संस्थाका अध्यक्ष डिसीले बताउनुभयो ।
५० करोडको लागतमा निर्माण शुरु भएको परियोजना लागू भएमा आगामी ४० वर्षसम्म घोराहीमा खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ । हाल संस्थाले १४ वटा डिप बोरङबाट पानी बाड्ने काम गर्दै आएको छ भने कटुवा खोलाबाट श्रोतको पानी वितरण गर्दै आएको छ । महिला उपाध्यक्ष हेमन्ती पुन मगरको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव धर्मेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।