Ad Area

चौघेरामा आज पिरफेर्ने मेला


दाङ,४ फागुन । दाङको धार्मिक एवम् ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) चौघेरामा प्रत्येक वर्ष लाग्ने पिरफिर्ने मेला यस वर्ष आज लाग्ने भएको छ । हरेक वर्ष फागुन कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पीर) फेर्ने दिनको अवसरमा मेला लाग्ने गर्दछ ।

मठाधीशलाई मठको प्रमुखका रूपमा मान्ने प्रचलन रहेको छ । मठाधीश भएपछि मन्दिर परिसरभन्दा बाहिर निस्कन नपाउने र दैनिक पूजाआजामा मात्रै सहभागी हुनपाउने व्यवस्था छ । मठाधीश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी हुनुपर्ने परम्परा रहेको गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेरा व्यवस्थापन समितिका कार्यालय सचिव हिरानाथ योगीले जानकारी दिएका छन् ।

उनकाअनुसार मठाधीश चयनका लागि मठका सञ्चालकहरू, योगीहरू र भद्रभलाद्मीहरूले दलिचा बैठक गरी चुन्ने परम्परा छ । वि.सं. ८०९ सालदेखि नै पिर स्थापना र मेलाको आयोजना हुँदै आएको उनले बताए ।

दाङका तत्कालीन थारू राजा रत्न पारखुको पालादेखि यो मठाधीश राख्ने र मेला लाग्ने प्रचलन चलिआएको विश्वास छ । मणि पारखुका छोरा दाङका थारू राजा रत्न पारखुले गोरक्षनाथबाट सिद्धि प्राप्त गरेपछि राज्य त्याग गरेर हिडेको र गोरक्षनाथले उनलाई पात्र दिएपछि पात्रसहित विश्व भ्रमणमा लागे । उनी भ्रमणका क्रममा मक्कामदिना पुगे । त्यहाँ धार्मिक हिंसा भड्किरहेको समयमा उनले सबै धर्मको समन्वय गराएर र त्यसपछि मुस्लिम धर्मगुरुले उनलाई आध्यात्मिक गुरु अरबी भाषामा ‘पीर’को उपाधि दिएको विश्वास गर्ने गरिएको योगीले बताए ।
मठाधीशका लागि योगी भेटाउनै गाह्रो

मठमा प्रत्येक वर्ष परिवर्तन हुने मठाधीशका लागि इच्छा गरेका योगीले कुनै समय बहुमत जटाउनु पथ्र्याे । मठाधीशका लागि चौघेरा मन्दिरसहित, सल्यान, रोल्पा र प्यूठानलगायतका विभिन्न स्थानबाट रहेका योगीहरू चौघेरा आउने गर्दथे तर पछिल्लो समय मठको मठाधीश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी (जोगी) भेटाउनै समस्या हुने गरेको मठ व्यवस्थापन समितिका सदस्य सचिव हिरानाथ योगी बताउँछन् ।

‘कुनै समय मठाधीश बन्नका लागि प्रतिष्पर्धा हुने गर्दथ्यो । इच्छा गरेको व्यक्तिले समर्थन जुटाउनुपर्ने अवस्था थियो’, उनले भने, ‘पछिल्लो समय नाथ समुदायमा पनि सन्यासी बस्ने र कान चिर्नेहरूको कमी हुँदै गयो । जसले गर्दा अहिले मठाधीशका लागि नयाँ सन्यासी जोगी भेटाउनै मुस्किल छ ।’ मठाधीशसँगै पुजारी, भण्डारी, सिराने र धुनी योगी वर्षेनी परिवर्तन गर्ने परम्परा रहिआएको छ । अहिले मठमा १२ जना सन्यासी योगीहरू छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad