प्रदेशस्तरीय प्रदर्शनीमा उर्लियो जनसागर, ज्योति र पुस्कलसँगै झुमे दर्शक
घोराही, ७ फागुन । घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ को पाँचौ दिन महोत्सवमा उल्लेख्य दर्शकको सहभागीता रहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा जारी प्रदर्शनीको पाँचौे दिन दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पाँचौ दिन १० हजार बढी दर्शकहरुले प्रदर्शनीको अवलोकन गरेको आयोजक मुल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिएका छन् । “साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्विनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको पाँचौ दिन गायीक ज्योति मगर र गायक पुस्कल शर्मासँगै दर्शकहरु झुमेका छन् ।
गायीका ज्योति मगरले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन । उनले ‘जिम्मल बाउकी छोरी, उही मुलाको सिन्की उही मुलाको चाना, खोलीभित्र पानी चोलीभित्र जवानी, पिरतिमा दम छ, सुर्खेत बुलबुले ताल, जाले रुमाल सोल्टीलाई बैना भो, सोल्टी मुसुक्क’ लगायतका चर्चीत गीतहरु प्रस्तुत गर्दा दर्शकले नाचेर साथ दिएका थिए ।
यस्तै गायक पुस्कल शर्माले ‘म जिउन सक्दैन मुटु जलाई जलाई, भन निरमाया आउछौ आउदैनौँ, फाट्यो रुमिाल धुँदा’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए । प्रदर्शनीको पाँचौ दिन विपिन घिमीरे, मोडल टीका जैसी, श्रृजना मगर, लक्ष्मीमान चौधरीलगायतको प्रस्तुति रहेको थियो ।
सोमवार राजेश हमाल आउने
महोत्सवको पाँचौ दिन सोमवार नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललगायतका कलाकारहरुको प्रस्तुति रहने छ । उहाँसँगै कलाकारहरु जानकी तारमी मगर, सुप्रीम मल्ल, आरुषी मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने सचिवालय संयोजक लब अधिकारीले जानकारी दिएका छन् ।