Ad Area

हात्तीपाइले रोग : औषधी नखाए उपचार असम्भव


दाङ, १२ फागुन । दाङको घोराही उपमहानगरपालिका–२ निवासी ३४ वर्षीय ऋषिराम चौधरी हात्तीपाइले रोगका बिरामी हुन् । २० वर्षको कलिलै उमेरमा हात्तीपाइले रोगको संक्रमणमा परेका ऋषिरामका दुवै खुट्टा बढेर ठूला भएका छन् । त्यसैका कारण ऋषिराम शारीरिक रूपमा कमजोर भएका छन् भने कामसँगै हिडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । स्वास्थ्य सचेतनाको अभावका कारण संक्रमणमा परेको बताउने ऋषिले रोग लागेपछि उपचारका लागि धेरै ठाउँ पुग्दा समेत उपचार सम्भव नभएको बताउँछन् ।

‘पहिले हात्तीपाइले रोग भन्ने थाहा नै भएन । रोग लागेपछि उपचारका लागि नेपालका विभिन्न ठाउँसँगै भारतको चण्डीगढ पुगेर उपचार गर्दा समेत राम्रो भएन’, उनी भन्छन्, ‘हात्तीपाइले रोगबाट बच्नका लागि रोग नलाग्दै औषधी खानुपर्ने रहेछ तर त्यो समयमा आपूmलाई थाहै भएन् ।’ हात्तीपाइले रोगकै कारण एकल जीवन बिताउँदै आएका ऋषिरामले अझै समाजमा हात्तीपाइले रोगका बिरामीलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताउँछन् । हात्तीपाइले रोगका बिरामीलाई हेर्ने सकारात्मक दृष्टिकोण नभएकै कारण धेरै बिरामी अहिले पनि खुल्न नचाहने गरेको बताए ।

‘म आपूmलाई जस्तो अरूलाई नहोस् भनेर समाजमा खुलेर अघि बढेको छु’, हात्तीपाइले रोग विरूद्धको औषधी सेवन कार्यक्रममा घोराही उपमहानगरपालिका–१ को बुकामा स्वास्थ्यकर्मीसँगै औषधी खुवाउने अभियानमा भेटिएका उनले भने, ‘हात्तीपाइले रोगबाट बच्नका लागि औषधी सेवन कार्यक्रममा सबै सहभागी हुनुहोस् ।’ ‘पहिले सचेतनाको अभावसँगै औषधी पनि पाइँदैन थियो । जसले गर्दा मैले अहिले समस्या भोगिरहेको छु’, उनले भने, ‘अहिले समय बदलिएको छ । घरघरमै औषधी खुवाउन आउनुहुन्छ । यस्तो अवस्थामा कसैले लापरबार्ही गर्न हुँदैन । औषधी खानुस् र रोगबाट बच्नुहोस् ।’

घोराही उपमहानगरपालिका–१६ निवासी एक अर्का बरामी पनि हात्तीपाइले रोगबाट बच्नका लागि पूर्व सावधानीका लागि औषधी सेवन गर्नुपर्ने बताउँछन् । हात्तीपाइले रोग लागेका बिरामीहरूलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा सुधार नहुँदा अहिले पनि समाजमा अपमानित व्यवहार खेप्नुपर्ने अवस्था रहेको उनको भनाई रहेको छ । ‘बिरामीलाई गरिने व्यवहार र हेर्ने सोचमा परिवर्तन आवश्यक छ’, उनले भने, ‘तर समाजमा अहिले पनि हात्तीपाइलेका बिरामीलाई होच्याउने, नजिक नआइज भन्नेलगायतका विभेद हुने गरेका छन् ।’

उनीहरू प्रतिनिधि पात्र भए पनि जिल्लामा गत वर्षको सर्वेक्षणअनुसार ४ सय २९ जनामा हात्तीपाइले र १ हजार ६ सय १४ जनामा हाइड्रोसिल गरी कूल २ हजार ४४ जनामा हात्तीपाइले रोगको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । विगतका वर्षमा जिल्लामा चलेका औषधी सेवन अभियानमा महिला स्वास्थ्य स्वयम्सेविका खट्ने गरे पनि यस पटक स्वास्थ्यकर्मीलाई परिचालन गरेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दले जानकारी दिएका छन् । अभियानमा औषधी खुवाउन ६ सय बढी स्वास्थ्यकर्मी परिचालन भएका छन् । उनकाअनुसार जिल्लामा रहेको करिब ६ लाख ८६ हजारभन्दा बढी जनसंख्यामध्य ८० प्रतिशतलाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad